बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बलेवा भैरवस्थानले पायो सात बर्षपछि संरक्षक

बलेवा भैरवस्थानले पायो सात बर्षपछि संरक्षक


  • ढोरपाटन संवाददाता
  • असार २ २०८०, शनिबार

बागलुङ/ दक्षिण बागलुङकै प्रसिद्ध धार्मिक स्थल बलेवा भैरवस्थान मन्दिरले सात बर्षपछि नेतृत्व पाएको छ । २०७३ सालदेखि स्थानीयको विवादका कारण बलेवा भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समिति गठन हुन सकेको थिएन् ।

लामो समयको छलफल र कसरतपछि बलेवा भैरवस्थान गुठी व्यवस्थापन समितिको अध्यक्षमा ज्ञानेन्द्र ढकाल चयन भएका छन् । गुठी संस्थानले ढकालको नेतृत्वमा ११ सदस्य रहेको बलेवा भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा टेकबहादुर साही, सचिवमा भीमनाथ पौडेल र कोषाध्यक्षमा चन्द्रबहादुर खत्रीलाई जिम्मेबारी दिईएको छ । सदस्यहरुमा यामबहादुर केसी, दलबहादुर थापा, नारायण प्रसाद श्रेष्ठ, पार्वती अधिकारी पाठक, रत्नाकर शर्मा गौतम र मालपोत कार्यालयका प्रतिनिधि एक जना तथा बागलुङ नगरपालिका–१२ अमलाचौरका निर्वाचित वडा प्रतिनिधि एक जनालाई जिम्मेबारी दिइएको छ ।

गुठी व्यवस्थापन समितिको कार्यकाल दुई वर्षको हुन्छ । यसअघि २०६८ सालदेखि २०७३ सालसम्म समितिको अध्यक्ष वर्तमान गण्डकी प्रदेशसभा सदस्य दिपेन्द्र थापा थिए । २०७३ सालयता थापाले आफ्नो अडान नछोड्ने र स्थानीयले नेतृत्व परिवर्तनको माग राख्दा समिति गठन हुन सेको थिएन् । समिति गठन नहुँदा भैरवस्थान मन्दिरको विकास निर्माण र प्रचार प्रसारमा समेत प्रभाव परेको थियो ।

‘समितिको अभावले मन्दिरमा केही काम गर्नै सकिएको थिएन्, लाखौं बजेट फर्केर गयो, मन्दिरले संरक्षण नपाउने अवस्था थियो,’ गुठी व्यवस्थापन समितिका पूर्वसचिव गुरुदत्त पाठकले भने ‘ढिलो भएपनि नयाँ नेतृत्व आएको छ, अब भैरवस्थानले मुहार फेर्नुपर्छ ।’ मालपोत कार्यालयको पहलमा जिल्ला प्रशासन कार्यालयले समन्वय गरेर बलेवा भैरवस्थान मन्दिर क्षेत्रमा पर्ने छ वटा वडाका सर्वसाधारण बीचमा छलफलपछि सिफारिसका आधारमा गुठी संस्थानले समिति गठन गरेर पठाएको हो ।

बागलुङ नगरपालिका–१२ मा रहेको मन्दिर गुठी व्यवस्थापन समितिमा बागलुङ नगरपालिकाका पाँच र जैमिनी नगरपालिकाको एक वडा सहभागि हुँदै आएका छन् । गुठीका नाममा २६ मुरी धान फल्ने खेत छ भने मन्दिरमा चडेको भेटी समितिले परिचालन गर्न पाउँछ । सात बर्षयता मातपोत कार्यालयले सार्वजनिक सूचना गरेर भेटी तथा गुठीको ठेक्का लगाउने र ठेकेदारमार्फत् मन्दिरको पूजा व्यवस्थापन हुँदै आएको थियो ।

समितिको स्वामित्व गुठी संस्थानले २०६७ सालमा मात्रै लिएको थियो । त्यसअघि स्थानीय तत्कालिन छ वटा गाविसका सर्वसाधारणले आपसी छलफलका आधारमा समिति गठन गरेका थिए । सोही समितिले नियमित पूजापाठ गर्ने, गुठीको जग्गाको उपयोग र मन्दिरको जिर्णोद्धार तथा अन्य कामहरु गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->