बागलुङ/ तीन बर्ष अघिको बजेटमा बागलुङको जैमिनी नगरपालिकाले बाँदर नियन्त्रणका लागि पाँच लाख बजेट बिनियोजन गर्यो । किसानका समस्या नजिकबाट नियालेका नगरप्रमुख इन्द्रराज पौडेलले बाँदर नियन्त्रणको उपाय खोज्न बिनियोजित बजेटको बिषयमा टिप्पणी भयो । ‘बाँदरलाई बजेट छुट्टाउने’ भनेर उनलाई उल्याउने काम भए ।
तर उनी पछि हटेनन् । नगरका खेतीयोग्य फाँटहरुमा हेरालो राखेरै भएपनि बर्खेबाली जोगाउने योजना उनले बनाए । दश वडा रहेको नगरपालिकामा हरेक वडामा पचास हजारका दरले बजेट पठाईयो र मुख्य फाँटमा किसान आँफैलाई हेरालो बस्न र हेरालो बसेको समयको खाजा खर्च नगरपालिकाले उपलव्ध गराउने भनियो । किसान बाँदरको हेरालो बसे । क्षती कम गर्यो । तर बाँदर नियन्त्रणको दिर्घकालिन उपाय भने भएन् ।
सोही बर्ष जिल्लाको काठेखोला गाउँपालिकाले पनि बाँदर नियन्त्रणको प्रयास गर्यो । कार्बन बन्दुक मगाएर काठेखोलाले किसानलाई बाँड्यो । तत्कालिन गाउँपालिका अध्यक्ष अमर थापा टोल टोलमै पुगेर बन्दुक बाँडे । केही समय बन्दुकले काम त गर्यो तर त्यो पनि दिर्घकालिन भएन् । अहिले बन्दुकसँग बाँदर डराउँदैन् ।
बागलुङका कतिपय गाउँबाट बाँदरकै कारण बसाईसराई भैरहेका छन् । गाउँमा रोजगारीका अबसर नहुने र खेती गरेर बाँदरले उव्जाउन नदिएपछि किसान गाउँनै छोडेका घटना पनि छन् । बाँदर आतंकको बिषयमा पछिल्लो तीन बर्षमा स्थानीय सरकार मात्रै होईन प्रदेश र संघीय संसदमै आवाज उठिरहेका छन् । तर तीनै तहका सरकारले बाँदर नियन्त्रणको दिर्घकालिन योजना ल्याउन सकेका छैनन् ।
गण्डकी प्रदेश सरकारले बाँदर नियन्त्रणका लागि बाँदर उद्यान बनाउन सम्भाव्यता अध्ययनको काम गरिरहेको छ । दिर्घकालिन नियन्त्रणको उपाय खोजीरहेको प्रदेशले आगामी आर्थिक बर्षमा भने अल्पकालिन नियन्त्रणको योजना
ल्याएको छ । गण्डकी सरकारले ल्याएको बाँदर नियन्त्रणको योजनाबाट किसान भने उत्साहित हुन सकेनन् ।
चालु आर्थिक बर्षको बजेटमा दश लाख रुपैयाँ बजेट बिनियोजन गरेर बाँदर उद्यानको सम्भाव्यता खोज्न थालेको प्रदेशले आगामी आर्थिक बर्षमा भने अर्कै योजनाका लागि बजेट बिनियोजन ग¥यो । दश लाखमा भैरहेको सम्भाव्यता अध्ययन
प्रतिचवेदनले सम्भावना देखायो भने बिस्तृत परियोजना प्रतिवेदनका लागि प्रदेशले बजेट बिनियोजन गरेको छैन् । प्रदेशको अध्ययनमा सहयोग पुग्नेगरी बागलुङको जैमिनीले आफ्नै पालिकामा ‘बाँदर बगैंचा’को योजना अघि सारेको छ । गण्डकी सरकार अन्तर्गतको डिभिजन वन कार्यालय बागलुङका अनुसार जैमिनी–८ छिस्तीस्थित पुरानो गाउँ वन क्षेत्रमा अध्ययन भैरहेको छ ।
‘हाम्रो योजनामा अहिले बाँदर नियन्त्रणका लागि घाँस खेती गर्न बिनियोजन भएको एक करोड ५२ लाख बजेटबाटै सम्बोधन गर्ने भन्ने जानकारी छ’ जैमिनीका उपप्रमुख हरिहर शर्माले भने ‘ठोस हिसाबले बजेटमा सम्बोधन भएरै बजेट आएको भए राम्रो हुन्थ्यो, प्रदेशले पनि उद्यान निर्माणको योजना त बनताएकै छ ।’
सरकारको ठोस कार्यक्रम नआएकाले निरास हुनुपरेको बागलुङको बलेवाका किसान शिव प्रसाद पाठक गुनासो गर्छन् । ‘घाँस लगाएर पशु पाल्ने कुरा अर्को पाटो भयो, किसानले अन्नबाली नै कसरी जोगाउने भन्ने खोजी गरेका हौं’ पाठकले भने ‘सम्बोधन गरे जस्तो तर झारा टारेजस्तो सरकारका कार्यक्रम भए ।’
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक बर्षको बजेटमा बिनियोजन गरेको रकम दिर्घकालिन उपयोगका योजनामा खर्च हुनुपर्ने धारणा आउन थालिसकेका छन् । प्रदेश सरकारका अर्थमन्त्री जीतप्रकाश आले मगरले प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै बाँदर नियन्त्रण गर्न घाँसखेती र पशुपालनलाई प्रोत्साहन गर्ने उल्लेख गरेका थिए । प्रदेशले जस्तै नीति कार्यक्रम र बजेट निर्माणको तयारीमा रहेका स्थानीय तहले पनि बाँदर नियन्त्रणका लागि सस्ता कार्यक्रम ल्याउन नहुने बलेवाका किसान लाल प्रसाद शर्मा बताउँछन् ।





