बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

स्रोत अभाव र दायित्वबीच बजेट ल्याउँदै बागलुङका स्थानीय तह

स्रोत अभाव र दायित्वबीच बजेट ल्याउँदै बागलुङका स्थानीय तह


  • तारानाथ आचार्य
  • असार ५ २०८०, मंगलबार

बागलुुङ/ संघ र प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि पठाएको बजेट सिलिङ अनुसार बागलुङ नगरपालिका अझै १५ करोड रुपैयाँ पाउन बाँकी छ । समानीकरण अनुदान र राजश्व बाँडफाट शीर्षकमा सिलिङ अनुसार नगरले बजेट भुक्तानी भएको छैन ।

चालु आर्थिक वर्षको सिलिङ अनुसार आन्तरिक स्रोतसमेत समावेश गरेर पालिकाहरुले गतवर्ष बजेट ल्याए । गाउँगाउँमै पुगेर योजनाका सम्झौता गरिए । तर, काम सम्पन्न भएका योजनामा भुक्तानी दिने बेला ९६ करोड सिलिङ पाएको नगरले ७९ करोडमात्र भुक्तानी पायो । संघ र प्रदेशले स्रोतको अभाव देखाउँदै विभिन्न शीर्षकका अनुदानहरु ५० प्रतिशतसम्म कटौति गरिदिए । संघ र प्रदेशले अनुदान घटाउँदा योजनाको भुक्तानी गर्न नसकिएको नगरप्रमुख बसन्तकुमार श्रेष्ठ बताउँछन् । त्यसको असर आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा देखिने छ ।

नेपाल सरकारले सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाका दिवा खाजाको व्यवस्था गरेको छ । वर्षभर सामुदायिक विद्यालयमा २ सय १० दिन पढाइ हुन्छ तर सरकारले १ सय ८० दिनको मात्रै खाजा बापतको रकम पठाउँछ । ‘हाम्रो गाउँपालिका रहेका विद्यार्थीको बाँकी तीस दिनको हिसाब गर्दा ४५ लाख अपुग हुँदोरहेछ,’ बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले भनिन्‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेटमा पनि उस्तै चाप छ, भवनको लागत स्टमेट एकातिर बजेट अर्कोतिर हुँदा काम गर्नै समस्या ।’ बडिगाडमा पनि सिलिङभन्दा भुक्तानी चार करोडले कम प्राप्त भएको छ ।

संघीय र प्रदेश सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेपछि सर्वसाधारणको ध्यान स्थानीय सरकारतर्फ केन्द्रीत भएको छ । बढ्दो महंगी, सुस्ताएका आर्थिक गतिविधि तथा शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधारको विकासका लागि स्थानीय तहले ल्याउने नीति र बजेटमा सर्वसाधारणको चासो बढेको हो । तर, स्थानीय तह भने स्रोतको अभाव र दायित्वको चापमा छन् ।

संवैधानिक व्यवस्था अनुसार आगामी असार १० गतेभित्र सबै स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट ल्याइसक्नु पर्छ । बागलुङका स्थानीय तहले असार १० मा नीति तथा कार्यक्रम र बजेटको तयारी गरेका छन् । स्थानीय तहले नीति बनाउने र बजेटको तयारीका बेला सर्वसाधारणले भने जनजीविकासँग जोडिएर कार्यक्रम आउनेमा आशातित छन् ।

सर्वसाधारणको चाहना जस्तै बागलुङका स्थानीय तहले पनि रोजगारी सिर्जना, स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधार र ठूला पूर्वाधार निर्माणलाई जोड दिने नीति ल्याउँदै छन् । बागलुङको बरेङ गाउँपालिका बितेका छ वर्षमा जिल्लामै पहिलो नीति तथा कार्यक्रम र बजेट ल्याउने गाउँपालिका हो । बरेङले असार ८ गते नीति तथा कार्यक्रम र बजेट एकै दिन ल्याउँदैछ । बरेङले साझेदारीका योजनामा केन्द्रीत हुँदै अनुदानको सदुपयोग हुने नीति ल्याउँदै छ ।

‘बजेटको सिलिङ घटेको छ, आन्तरिक आय बढ्ने ठाउँ छैन्, हामीले भएको स्रोतलाई उपयोग गर्छौंं,’ गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले भने, ‘शिक्षा, स्वास्थ्य, पशुपालन र पर्यटन नसुधारी अरु आशा राख्न सकिन्न त्यसमा केन्द्रीत हुन्छौं ।’ ठूला आयोजना सञ्चालन गर्न पालिकासँग स्रोत नहुने र स–साना योजनाले सर्वसाधारणले लाभ लिन नसकेकाले संघ र प्रदेशसँग साझेदारी गरेर पूर्वाधारको विकास गर्ने नीति ल्याइने शर्माले बताए ।

बागलुङको बडिगाड भने महत्वकांक्षी योजनाको पक्षमा छैन् । थोरै स्रोत साधनको अधिकतम प्रयोगमार्फत जनजीविकासँग जोडिने कार्यक्रम ल्याइने अध्यक्ष अधिकारीले बताइन् ।
गलकोट नगरपालिकाले पूर्वाधार क्षेत्रमा हुने लगानीभन्दा शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनाको क्षेत्रमा हुने लगानी बढी हुने गरी नीति बनाउँदै छ । आधारभूत स्वास्थ्य सेवा सबै टोलमा पु¥याएको नगरपालिकाले विशेषज्ञ स्वास्थ्य सेवा थालेको छ । ‘नगर अस्पतालमार्फत विषेशज्ञ स्वास्थ्य सेवा दिन थालेका छौं, त्यसको स्थायित्वका लागि ध्यान केन्द्रीत हुन्छ,’ नगरप्रमुख नगर प्रमुख भरत शर्मा गैरेले भने ‘शिक्षमा आउने वर्ष नतिजा ल्याउनेगरी काम गर्ने योजना छ ।’

नीति तथा कार्यक्रम र बजेट बनाउँदा संघ र प्रदेशले संघीयताको मर्म अनुसारको व्यवहार नगर्दा भने स्थानीय तहलाई चाप पर्ने गरेको गैरेले सुनाए । ‘हामीलाई स्रोत कम पठाउने, आफूले ल्याउने योजना बिना सल्लाह पुरानै ल्याउने, भनसुन चल्ने अवस्था छ,’ गैरेले भने ‘साझेदारीका कार्यक्रम माग्ने, तर अन्यत्रबाट योजना बनाउने परिपाटी छ ।’ संघ र प्रदेशको समन्वय नहुँदा स्थानीय तहको नीति तथा कार्यक्रम र बजेट प्रभावित हुने उनले बताए ।

जिल्लाको जैमिनी नगरपालिकाले उत्पादनमा जोड दिने, नगरपालिकालाई आत्मानिर्भर बनाउने र सुशासनयुक्त नगर बनाउन आफ्नो नीति तथा कार्यक्रमको प्राथमिकता निर्धारण गरेको छ । चालु आर्थिक वर्षमा विज्ञ सम्मेलन गरेको नगरले सम्मेलनको सन्देशलाई नीति निर्माणको आधार बनाउने भएको छ ।

बागलुङ नगरपालिकाले योजना कनिका छरेझैं छर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने नीति ल्याउँदैछ । साना काम वडा तहबाट गर्नेगरी ठूला योजनामा प्राथमिकता दिने नीति ल्याइने नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए । ‘बजेटको आकार घट्ने देखिन्छ, योजना र कार्यक्रम पनि बजेट अनुसारनै बन्ने हुन्,’ श्रेष्ठले भने ‘चालु वर्षको दायित्वको चाप हुने देखिन्छ, सोही अनुसारका योजना बनाउँछौं ।’

शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा देखिने गरी ठूला योजना सञ्चालन गर्ने नीति बागलुङ नगरपालिकाले ल्याउँदैछ । बागलुङका दश स्थानीय तहमध्ये अधिकांशले यस पटक बिगतभन्दा फरक तरिकाबाट नीति ल्याउने जनाएका छन् । जैमिनीले असार ६ गते, बागलुङ नगरपालिका र बरेङ गाउँपालिकाले असार ८ गते र अरु सबै स्थानीय तहले असार ९ र १० गते नीति तथा कार्यक्रम र बजेट ल्याउँदैछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->