बागलुङ/ बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ ठुलढुङ्गामा भएको पिकअप जीप दुर्घटनामा मृत्यु भएका दुई पुरुषको पहिचान खुलेको छ ।
दुर्घटनामा परेर मृत्यु हुनेमा बागलुङ नगरपालिका-२ मा रहेको सम्झना स्टोर्सका बजार प्रतिनिधि जैमिनी नगरपालिका-१० राङ्गखानीका दुर्गा पौडेल र चालक पर्वत जिल्लाको कुश्मा नगरपालिका-१ मालढुङ्गाका राजेन्द्र माझी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।
जुत्ता चप्पल विक्रीको लागि दुई दिन अघि गलकोट गएको ग१च ९४८५ नम्बरको जीप बुधबार बिहान बागलुङ बजार फर्किदै गर्दा काठेखोला-५ मध्यपहाडी (पुष्पलाल) लोकमार्गमा दुर्घटना भएको थियो । जीप लोकमार्गबाट झण्डै पाँच सय मिटर तल खसेको प्रनाउ केसीले बताए ।
मृत्तक दुवैको शवलाई पोष्टमार्टमको लागि धौलागिरी अस्पताल बागलुङमा ल्याइने प्रनाउ केसीले बताए । उनले दुर्घटनाको कारण नखुलेको बताए ।





