पोखरा / आत्महत्याको घटना हुनुको ९० प्रतिशत कारण मानसिक स्वास्थ्य रहेको एक तथ्यांकले देखाएको छ । हरेक वर्ष आत्महत्या गर्नेको संख्या बढ्दै जानु स्वास्थ्यमा चुनौति भएको र यसको कारण मानसिक स्वास्थ्य रहेको विज्ञहरुले बताएका छन् ।
मंगलबार पोखरामा आयोजित आत्महत्या रिर्पोटिङ सम्बन्धी पत्रकार कार्यशाला गोष्ठीमा बोल्दै मानसिक अस्पतालका बरिष्ठ कन्सल्टेन्ट साइक्याट्रिक बासुदेव कार्कीले आत्महत्याको ९० प्रतिशत कारण मानसिक स्वास्थयसँग जोडिएको बताए ।
उनले विशेषगरी २४ वर्षमनिका युवा युवतीमा बढी समस्या देखिने गरेको सुनाए । यस्तै १५ देखी २९ वर्ष उमेर समुहको मृत्युको दोस्रो कारण आत्महत्या रहेको उनले बताए ।
आत्महत्या गर्नेमा महिलाको दाजोमा पुरुषको संख्या बढी रहेको छ । यस्तै १५ देखी ४९ वर्ष प्रजनन समूहका महिलाको मृत्युको पहिलो कारण समेत आत्महत्या रहेको उनको भनाइ छ । आत्महत्या रोकथामका लागि परामर्श लिएमा मानिसमा परिवर्तन आउने उनले सुनाए ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडाले आत्महत्याको बारेमा तथ्यमा आधारित भई गहिरो अध्ययन गर्नुपर्नेमा जोड दिइन् । उनले आत्महत्याको घटना मानिसको स्वास्थ्यसंग जोडिएको विषय रहेकाले आत्महत्याको उपचार गर्न सकिने बताइन् ।
उनले युटुब वा कुनै व्यक्ति विशेष नभई घटनामा आधारित भएर जानुपर्ने सुनाइन् । उनका अनुसार आत्महत्याको कारण विवाह, प्रेम र सम्बन्ध पनि भएकाले यो विषयमा गम्भिर भएर सबै लाग्नुपर्नेमा जोड दिए ।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रको आयोजना तथा पत्रकार महासंघ गण्डकी प्रदेशको संयोजनामा पोखरामा आत्महत्या रिर्पोटिङ सम्बन्धी कार्यशाला गोष्ठी समेत सम्पन्न भएको छ ।
कार्यक्रममा पत्रकार महासंघ गण्डकी अध्यक्ष नारायण शर्मा, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. विनोद विन्दु शर्मा, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रका सुनिल राज शर्मा लगायतले बोलेका थिए ।
उनीहरुले आत्महत्या स्वास्थ्य समस्या रहेको र त्यसको उपचार हुने भनाई राखेका थिए । उनीहरुका अनुसार आत्महत्याको सोच आएमा ११६६ नम्बरमा फोन गरेर उपचार लिन सकिने छ ।





