बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बरेङको नीति ‘गाउँकै माटो, बिदेशको साटो’

बरेङको नीति ‘गाउँकै माटो, बिदेशको साटो’

बरेङको बजेट ३१ करोड


  • ढोरपाटन संवाददाता
  • असार ८ २०८०, शुक्रबार

बागलुङ/ बागलुङको बरेङ गाउँपालिकाले वैदेशिक रोजगारीबाट फर्केका युवाहरुमा रहेको ज्ञान, सिप, अनुभव र प्रविधिको उपयोग गर्ने नीति सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले आगामि आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वैदिशिक रोजगारीबाट फर्केकाहरुसँग भएको ज्ञान, सिप, अनुभव र प्रविधिको उपयोग गर्न ‘गाउँकै माटो, बिदेशको साटो’ कार्यक्रम सञ्चालन गरिने उल्लेख गरे ।

वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई गाउँमानै कृषि वा उद्यम गर्न प्रोत्साहन गर्ने नीति गाउँपालिकाको छ । गाउँपालिकामा नै व्यावसायिक कृषि वा रोजगारमूलक उद्यम गर्ने स्थानीय युवाहरूलाई लागत साझेदारीमा बिउँपुजी, प्राविधि हस्तान्तरण तथा प्राविधिक सहयोग तथा कृषि औजार उपकरणको गाउँपालिकाले व्यवस्थापन गर्नेगरी कार्यक्रम ल्याईएको शर्माले बताए ।

गाउँपालिकाले ‘किसानको उत्पादन, गाउँपालिकाको अनुदान’ कार्यक्रम मार्फत कृषकहरूलाई उत्पादनको आधारमा अनुदान दिने नीति बनाएको छ । आयातित कृषि उपजलाई निरुत्साहित गर्ने, गाउँपालिका भित्रको कृषि उत्पादनलाई बाहिरी उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउने र न्यूनतम समर्थन मुल्य तोक्नुकीने अध्यक्ष शर्माले बताए । ‘बरेङको उत्पादन बरेङकै उपभोग’ कार्यक्रम मार्फ स्थानीय कृषिजन्य उत्पादन, गाउँपालिकाबाट प्रदान गरिएको सिपमूलक तथा उद्यम व्यवसाय सम्बन्धी तालिमको उपयोग गरी उत्पादित बस्तु वा सेवा उपभोग गर्ने नीति गाउँपालिकाले ल्याएको छ ।

विद्यालय तहबाटनै बालबालिकाहरूमा नवप्रवर्द्धन, आविष्कार र सिर्जनशीलता विकास गर्न एक विद्यालय, एक नवप्रवर्तन कक्षा कार्यक्रमको सुरुवात, आर्थिक तथा सामाजिकरूपमा अति विपन्न बरेङबासीहरूको आर्थिक सबलीकरणका लागि क्रमशः अति विपन्न उत्थान कार्यक्रमको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । ‘बरेङको रहर, शून्य मातृमृत्युदर’ कार्यक्रमलाई निरन्तरता दिंदै गाउँपालिकाका बर्थिङ सेन्टरहरूलाई सुविधा सम्पन्न बनाईने भएको छ । आमा प्रतिक्षाघर मार्फत प्रसूति र सहयोगीलाई निःशुल्क खाने बस्ने व्यवस्था मिलाउने नीतिमा उल्लेख छ ।

बरेङको बजेट ३१ करोड

जिल्लाको बरेङ गाउँपालिकाले आगामि आर्थिक बर्षका लागि ३१ करोड २९ लाख ८१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नेपाल सरकारको अनुदान, गण्डकी प्रदेश सरकारको अनुदान र आन्तरीक स्रोत तथा नगद मौज्दात समेत गरी बजेट सार्वजनिक भएको हो ।

गाउँपालिकाले प्रशासनिक खर्च ४ करोड ३९ लाख र पुँजीगततर्फ ११ करोड ५१ लाख ४० हजार २ सय रुपैयाँ बिनियोजन गरेको हो । पुँजीगत बजेटमध्ये वडास्तरीय योजनाका लागि २ करोड ९० लाख, विषयगत शाखाहरूका लागि ४ करोड ५६ लाख ३९ हजार ७ सय, समपुरक कोषका लागि ३ करोड ३२ लाख, गाउँपालिका स्तरीय योजना तथा कार्यक्रमहरूका लागि ७३ लाख ५० हजार विनियोजन गरेको गाउँपालिका उपाध्यक्ष दिलिप कुमार पुनले बताए । आगामि आर्थिक बर्षमा गाउँपालिकाको आन्तरीक आम्दानी ३० लाख रुपैयाँ हुने अनुमान गरिएको छ । गाउँपालिकाले चालु आर्थिक बर्षको भन्दा दुई करोड रुपैयाँ कम बजेट ल्याएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->