बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

ताराखोलाका किसानलाई आलु भित्राउने चटारो

ताराखोलाका किसानलाई आलु भित्राउने चटारो


  • ढोरपाटन संवाददाता
  • असार १० २०८०, आइतबार

बागलुङ/ बागलुङको ताराखोला गाउँपालिकाका किसानलाई यतिबेला आलु भित्राउने चटारो छ । ताराखोलाको मुख्य बालीको रुपमा रहेको बर्खे आलु भित्राउन किसानलाई भ्याईनभ्याई भएको हो ।

मनसुनी बर्षा सुरु भएसँगै किसानले आलु खन्न थालेका हुन् । नियमित बर्षाले आलु बारीमै कुहिने खतरा हुन्छ । यहाँका किसानले बेसीमा हिउँदे र लेकमा बर्खे आलुको खेती गर्छन् । असारको पहिलो सातादेखिनै ताराखोलाका किसानले आलु भित्राउन थालेको ताराखोला गाउँपालिकाकी पूर्व उपाध्यक्षसमेत रहेकी किसान दिलकुमारी पुनले बताईन् ।

यहाँका किसानको आम्दानीको मुख्य स्रोत नै आलु हो । ‘अर्मपर्म गरेर आलु खन्ने काम भैरहेको छ, एक दिनमा एउटा मात्रै बारीको पाटो खनेर सकिन्छ’ पुनले भनिन् ‘यो बर्ष आलु राम्रो फलेको छ ।’ आलुको फसल लिँदै गरेका किसान खुसी छन् । यहाँ उत्पादन भएको आलु देशका अधिकांश सहरमा पुग्ने गरेको भएपनि किसानको हातमा भने मुल्य कम आउने गरेको पुनको गुनासो छ । ताराखोलाको आलुको अहिले गण्डकी प्रदेश मात्रै होईन देशको ठेलो सहर काठमाण्डौंमा समेत चर्चित । किसानको मुख्य आम्दानीको रुपमा रहेको आलुको माग बढेसंगै आलुखेतीमा किसानको आकर्षण बढ्न थालेको छ ।

ताराखोला गाउँपालिकामा गत वर्ष मात्र ७ लाख १२ हजार ५ सय ६८ किलो आलु उत्पादन भएको कृषि शाखाको तथ्यांक छ । यो बर्ष उत्पादन अझै बढ्ने अपेक्षा छ । आलुको लागि बजार सजिलै पाइने भएकोले किसानले हरेक वर्ष आलु उत्पादन बढाउने प्रयास गरेको ताराखोला–५ वडा अध्यक्ष मनबहादुर रोकाले बताए ।

यहाँका किसानले घरमा आएका पाहुनालाई खुवाउनेदेखि कोसेली पठाउने गर्छन् । पछिल्लो समय किसानले आलुको बिक्रीबाट राम्रो आम्दानी गर्छन् । खाद्यान्न बाली कम फल्ने भएकाले यहाँका किसानले आलुको बिक्रीबाट आएको पैसाले खाद्यान्न खरिद गरेर बर्ष गुजार्छन् भने बचेको पैसा बाँकी घर खर्च चलाउँछन् ।

आलुबाट चिप्स बनाउने उद्योग पनि ताराखोलामा केही बर्ष अघिदेखि सञ्चालनमा छ । उक्त उद्योगलाई व्यवस्थित गरेर लैजान र किसानलाई व्यवसायीक बनाउने कार्यक्रम रहेको ताराखोेला गाउँपालिकाका अध्यक्ष धनबहादुर बिकले बताए । बागलुङको ढोरपाटनमा नगरपालिकाको ढोर, काठेखोला गाउँपालिकाको धम्जा, बागलुङ नगरपालिकाको भकुण्डे, जैमिनीको दमेक र बरेङ गाउँपालिकाको सुखौरा भित्रीवन पनि आलुको लागि प्रख्यात ठाउँ हुन् । ताराखोलाको आलु प्रतिकिलो ४० रुपैयाँ र एक पाथीको २ सयमा बिक्री हुदै आएको स्थानिय किसान शर्मिला रोका मगरले बताईन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->