बागलुङ/बागलुङको तमानखोला गाउँपालिकाले आइतवार ३० करोड ३८ लाख ४९ हजार रुपैयाँको बजेट ल्याएको छ । जिल्लाकै सानो गाउँपालिका भएपनि तमानखोलाले कृषि उत्पादन, बजारीकरण र उत्पादनमा आधारिक अनुदान नीति र सोही अनुसार बजेट बिनियोजन गरेको छ ।
कृषकको उत्पादन साथमा, तमानखोलाको अनुदान हातमा भन्ने नारा सहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका अध्यक्ष जोकलाल बुढाको स्प्रिडलाई समेट्ने गरी बजेटलेपनि प्राथमिकीकरण गरेको हो । गाउँपालिका उपाध्यक्ष हिरादेवी छन्त्यालले पेश गरेको बजेटमा बर्ष खेलाडी सम्मानकालागि पनि बजेट बिनियोजन गरेको हो ।
तमानमा बिशेषगरी कृषि र पशुपालन पेशा बढी गरिन्छ । त्यसैले बजेट पनि कृषि उत्पादनमा केन्द्रीत गरिएको बताइएको छ । पालिका स्तरको कृषि संकलन केन्द्र बनाउने, वडावडामा संकलन केन्द्र बनाउने, रसायनिक मल र बिषादी निरुत्साहित गर्न जैबिक मल उत्पादनमा अनुदान दिने समेत बताइएको छ ।
तमानको चालु खर्च ४ करोड ४० लाख मात्रै छ भने संघिय सशर्त अनुदान ११ करोड ७५ लाख, समपुरक अनुदान ७०लाख, संघिय बिशेष अनुदान ९० लाख प्राप्त हुनेछ । गाउँपालिकाको बिभिन्न कोषमा १ करोड ८३ लाख, पूर्वाधार बिकासतर्फ ३ करोड ५० लाख, आर्थिक बिकास तर्फ ८९ लाख, सामाजिक बिकास तर्फ ४३ लाख, १९ हजार, वन, वातावरण तथा बिपत व्यवस्थापनमा ४८ लाख ५० हजार र संस्थागत बिकास तथा सेवा प्रवाहकालागि ६० लाख बजेट खर्च गरिने जानकारी गराइएको छ ।
तमानखोलाले बोङगादोभानमा ५ बेडको अस्पताल बनाएर संचालन गर्ने र अध्यक्ष फेलो सिप कार्यक्रम अन्र्तगत मेडिकल पढ्न चाहने बिद्यार्थीकालागि लगानी गर्ने कामलाई निरन्तरता दिने भएको हो ।





