बागलुङ/ गलकोट नगरपालिकाले आगामि आर्थिक वर्षका लागि ६८ करोड १२ लाख १८ हजार रुपैयाँको बजेट ल्याएको छ । नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेले आगामी वर्ष संघीय सरकारले प्रदान गर्ने अनुदान, गण्डकी प्रदेश सरकारले प्रदान गर्ने अनुदान र नगरपालिकाको अनुमानित आम्दानी, राजश्व बाँडफाँड लगायतको आधारमा बजेट सार्वजनिक गरेका हुन् ।
नगरपालिकाले आगामि आर्थिक वर्षमा प्राप्त हुने वित्तिय समानीकरण अनुदानबाट रु ११ करोड ३८ लाख, राजश्व बाँडफाँडबाट रु १० करोड ९५ लाख, सशर्त अनुदानबाट रु ३६ करोड १० लाख, विशेष अनुदानबाट रु १ करोड ५० लाख, समपुरक अनुदानबाट रु ६० लाख र गण्डकि प्रदेशको वित्तिय समानीकरण अनुदानबाट रु १ करोड ५१ लाख १८ हजार, राजश्व बाँडफाडबाट रु १ करोड ८ लाख, समपुरक अनुदानबाट रु ५० लाख, र सशर्त अनुदानबाट रु ५० लाख बजेट अनुमान गरिएको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि चालु खर्चतर्फ ४४ करोड २१ लाख ४० हजार र पुँजीगत तर्फ २३ करोड ९० लाख ७८ हजार विनियोजन गरेको छ ।
गलकोट नगरपालिकाले नगरपालिकाको प्रशासकीय भवन निर्माणको कार्यक्रमलाई तिव्रता दिने गरी रु २ करोड २० लाख, नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुयाउन कृषि तथा पशु विकास मार्फत् आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न कृषि तथा बागवानी विकास क्षेत्रमा रु १ करोड ६७ लाख ५० हजार, युवा तथा खेलकुद विकास कार्यक्रमको लागि २९ लाख, लैगिंक समानता तथा सामाजिक समावेशीकरण महिला, जनजाति, दलित र अपांगहरुको लक्षित कार्यक्रम तथा बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका दिगोपनाको लागि १ करोड ३ लाख ५० हजार रुपैयाँ बिनियोजन गरिएको छ ।
नगर शिक्षा कार्यक्रम सचालन गरी शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउन र आधारभूत शिक्षा प्राप्त गर्ने मौलिक हकको कार्यान्वयन गर्न ३० करोड ८८ लाख ६३ हजार, नगरपालिकाको स्वास्थ्य सेवामा प्रभावकारीता वृद्धिको लागि स्वास्थ्य तर्फका कार्यक्रम सञ्चालन र नगर अस्पतालको सेवा वृद्धिका लागि ६ करोड ५५ लाख १५ हजार, मल्म स्वास्थ्य चौकी भवन निर्माणको लागि १ करोड, वडा नम्वर १ को स्वास्थ्य चौकी भवन निर्माणको लागि १ करोड, अन्तर विद्यालयमा अध्ययन गर्न जाने लामो दुरी पर्ने विद्यार्थिहरुलाई तत्काल यायायात र छात्राबासको व्यवस्था गर्न १० लाख बजेट विनियोजन गरिएको छ ।





