बागलुङ/ ढोरपाटन नगरपालिका–९ को नवी गाउँमा मुस्ताङका स्याउका बिरुवा रोपिएको छ । स्थानीय १० जना किसानको ८० रोपनी जमिनमा मुस्ताङबाट ल्याइएका गोल्डेन र रोयल जातको १ हजार २ सय स्याउका बिरुवा रोपिएको हो ।
यसअघिका अमिलो स्याउ बजारमा बिक्री गर्न नसकेका किसानले यो पटक भने व्यवसायिक उत्पादन गर्न लागेको बताए । स्थानीय इन्द्रबहादुर सुनारको बारीमा १ सय ५० बिरुवा र अरु किसानको बारीमा ५० देखि १ सय बिरुवासम्म रोपेका छन् ।
गत फागुनमा पहिलो चरणमा रोपिएका बिरुवा आर्कषक र हरियो भैसकेका छन् । आगामी बर्षपनि बिरुवा लगाउने उद्देश्यले स्थानीय किसानले खाडल खनेर राखेका छन् । अमिलो भएकोले बजारीकरण नभएको गुनासो गरेका किसानले गोल्डेन र रोयलबाट फाइदा कमाउन सकिने सुनारले बताए । ती स्याउबाट मिठो फल फल्ने स्थानीयले बिश्वास लिएका छन् । ‘सडक आएकोले बजारीकरणमा पनि सहज हुने विश्वास लिएका छौं’ स्थानीय देबबहादुर सुनारले भने, ‘आगामी बर्ष स्याउ बढाएर लगाउने सोच छ ।’ परियोजनाले सहयोग नगरेपनि बिरुवा मगाएर थप्ने लक्ष उनले सुनाएका छन् । रोपिएका सबै बिरुवा सरेर हरियाली भैसकेको हो । स्याउबाट आगामी ५ बर्षमा कम्तिमा ५ लाख रुपैयाँ कमाउने लक्ष सुनारको छ ।
२ हजार ९ सय मीटर उचाइदेखि माथी भएकोले ढोरपाटनमा स्याउको व्यवसायिक उत्पादन गर्न सकिने कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराइले बताए । बागलुङकै गलकोटको निलुवा, निसेल ढोर र तमानखोलाको लामेलामा पनि स्याउ लगाएर किसानलाई आत्मनिर्भर बनाउन सकिने उनले बताए । परियोजनाले भने पहिलो पटक परीक्षणको रुपमा लगाएको हो । ढोरपाटनमा परम्परागत स्याउका बोटमा तुलनात्मक साना दाना मात्रै फल्दै आएको छ । अमिलो भएकोले किसानले बजारमा नपठाएको पनि बताए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले चक्लाबन्दीमा जग्गा लिएर व्यवसायिक उत्पादनका लािग स्याउको बिरुवामा अनुदान दिएको हो । परियोजनाले १० लाख रुपैयाँ लगानी गरेको हो भने किसानले खाडल खन्ने, मल हाल्ने लगायतको काममा थप ५ लाख खर्चेको बताए । साथै उनीहरुले सिंचाइका लागि ४ वटा ठूला ड्रम पनि राखेका छन् । पहिलो चरणमा रोपिएका १ हजार २ सय स्याउका बिरुवा राम्रो भएकोले आगामी बर्षपनि थप गर्ने योजना किसानले बनाएका छन् ।
ढोरपाटनमा हिउँदमा हिउँसमेत पर्छ । चिसो मौषम भएकोले स्याउका लागि उपयोगी हुने पौडेलको भनाइ छ । ‘यसअघिका बोटमा गोडमेल नभएको र कुन जातको हो भन्ने पनि यकिन नभएकोले उत्पादन राम्रो थिएन’ परियोजनाका प्रमुख सुजित पौडेलले भने, ‘मल पानीको व्यवस्था र स्याहार भएमा रोपिएका बिरुवाबाट किसानले मनग्य कमाइ गर्न सक्छन् । स्याउ राम्रो फलेमा ढोरपाटनमै स्टोर निर्माण गरेर बजारीकरणमा पनि साथ दिने उनले बताएका छन् ।
स्याउको व्यवसायिक उत्पादन सफल भएमा लाखौं बिरुवा थप गर्न सकिने स्थानीय स्वास्थ्यकर्मी दिपक थापाले बताए । ‘यहाँ त लाखौं रोपनी जमिन छ, जता पनि लगाएर फाइदा लिन सकिन्छ’ थापाले भने, ‘किसान पनि अहिले त बिरुवा लगाउनमा हौसिएका छन् ।’ कलमी बिरुवा ल्याएर लगाइएकोले आगामी बर्षदेखिनै केही दाना फल्ने किसानले बताए । दुइ बर्ष दाना बढ्न नदिइ टिपेर फालिदियो भने तेस्रो बर्ष मनग्ये कमाइ हुने गरी स्याउ फल्न थाल्ने सुनारको भनाइ छ ।





