बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

काठेखोलामा ‘हाम्रो विद्यालय, हाम्रै जिम्मेवारी’ कार्यक्रम

काठेखोलामा ‘हाम्रो विद्यालय, हाम्रै जिम्मेवारी’ कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • असार १५ २०८०, शुक्रबार

बागलुङ/ जिल्लाको काठेखोला गाउँपालिकाले जनप्रतिनिधि, शिक्षक र कर्मचारीले आफ्ना छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनु पर्ने नीति ल्याएको छ । सामुदायिक विद्यालयको गुणस्तरिय शिक्षाको अवधारणालाई सार्थक रुप दिन ‘हाम्रो विद्यालय, हाम्रै जिम्मेवारी’ कार्यक्रम ल्याईएको हो ।

जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकका छोराछोरीलाई सामुदायिक विद्यालयमा नै अध्ययन अध्यापन गराउने नीति अबलम्वन गरिएको गाउँपालिका अध्यक्ष राजु थापाले बताए । यो नीतिले सामुदायिक विद्यालयहरुको सेवाप्रवाह थप व्यवस्थित र प्रभावकारी हुने थापाको विश्वास छ । आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममार्फत सरकारी सुविधा उपभोग गर्ने जनप्रतिनिधि, कर्मचारी र शिक्षकका छोराछोरीले सामुदायीक बिद्यालयमै अनिवार्य पठनपाठन गराउन भनिएको हो ।

सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि र शिक्षालाई प्रबिधिमैत्री बनाउने योजना बनाएको गाउँपालिकाले पहिले नैतिकता प्रदर्शन गरेर सामुदायीक विद्यालयमा अध्यययन गराउन लगाउने र नभए बिधि तयार गरेर कारवाही गरिने सामाजिक विकास समितिका संयोजक खडक थापाले बताए ।

समग्र गाउँपालिकाको शिक्षा विकासका लागि ‘काठेखोलाबासीको इच्छा, गुणस्तरिय, व्यवहारिक र प्रविधिमैत्री शिक्षा’ भन्ने नारा तय गरेर गाउँपालिकाले शिक्षा सुधारका योजना तयार गर्ने भएको छ । शिक्षा सुधारका अन्य योजनाहरु जस्तै सामुदायीक विद्यालय प्रति विद्यार्थीको विश्वास बढाउन पहिलो चरणमा जनप्रतिनिधि, कर्मचारी र शिक्षकका विद्यार्थी सामुदायीक विद्यालयमै पढाउने नीति लिएको थापाले बताए ।

गाउँपालिकाको शिक्षालाई वैज्ञानिक तवरले व्यवस्थापन गर्न आवश्यक भौतिक पुर्वाधार र मानव संशाधन लगायतका शैक्षिक विषयमा विशेष ध्यान दिँदै बजेटको व्यवस्थापन गरेको छ । ‘आगामी आर्थिक बर्षमा पूर्वाधार विकासको नजिक पुग्ने गरी सामाजिक विकास क्षेत्रका लागि बजेट बिनियोजन भएको छ’ थापाले भने ‘यसले शिक्षा क्षेत्रको सुधारका लागि बिषेश जोड दिन्छ ।’

सामुदायीक बिद्यालय भौतिक संरचना सम्पन्न हुँदै गर्दा बिद्यार्थी संख्या न्यून हुने र विद्यालय नै गाभ्नुपर्ने अवस्थाको अन्त्य गर्न यो कार्यक्रम प्रभावकारी बन्ने गाउँपालिकाको बिश्वास छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->