पोखरा/ अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेटको लक्ष्य र परिणाम लोकप्रिय भएको जिकिर गरेका छन् । बजेटप्रति सत्तारुढ दलकै सांसदबाट आलोचना खेपेका अर्थमन्त्रीले वितरणमुखी नहुँदा र सांसदहरुको चाहना अनुसारका कार्यक्रम समावेश नगरिँदा असन्तुष्टि प्रकट भएको जिकिर पनि गरेका छन् । ‘बाँड्ने हिसाबले लोकप्रिय भएन तर यसको लक्ष्य लोकप्रिय छ,यसले परिणाम लोकप्रिय ल्याउँछ’ नेपाल प्रेस युनियन कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, बाँढ्ने कुरा नै धेरै नभएपछि धेरै बाँढ्न सकिएन तर बजेटले अर्थतन्त्रलाई चलायमान गर्ने र देशभित्र नै उद्योग खोल्ने बाटो खुला गरेको छ ।’
उनले प्रधानमन्त्री,पूर्वप्रधानमन्त्री तथा मन्त्रीहरुको चुनावी क्षेत्रमा बढी बजेट विनियोजन गरिएको आरोपलाई अस्वीकार गरे । हरेक माननीयज्यूसँग जनताले धेरै माग गरेका छन् ,सबै माग संवोधन भएको छैन । किनकि, स्रोत छैन,’उनले भने, हरेक माननीयज्यूले बजेट राम्रो आयो भन्नुभएको छ,सार्वजनिक रुपले बोल्दा त अनेकौं कुरा आउँछ ।’
उनले वैदेशिक ऋणको साँवा–ब्याज भुक्तानी गर्नुपर्ने, सामाजिक सुरक्षा र तलब– भत्ता कटाउन नमिल्ने भएकाले पूँजीगत खर्च बढाउन नसकिएको दोहो¥याए । अनुशासनको कमी, समयमा ठेक्का नलाग्ने, कार्यविधि नै नबन्ने कात्तिकभित्र नै ठेक्का लगाउने प्रवृत्ति अन्त्यको लागि पहल थालिएको पनि उनको भनाइ थियो । ‘वैदेशिक सहयोगको पनि खर्च भएको थिएन । सहयोग लिएको छ तर खर्च नगर्दा त्यसको केही अर्थ रहँदैन । अर्थमन्त्रीको रुपमा मैले पक्ष– विपक्ष, दायाँ–बायाँ, यो घराना नभनेर अर्थतन्त्रलाई गति दिन जे आवश्यक छ, जनतालाई केन्द्रमा राखेर बजेट निर्माण गरेको छु,’,उनले भने ।
उनले बैंकको ब्यादरमा कमी हुन थालेको र अझै घटाउनको लागि नेपाल राष्ट्र बैंकले निर्णायक पहल गर्ने पनि बताए ।
अर्थमन्त्री महतले राजश्व बढाउन विभिन्न बस्तुहरुमा मूल्य अभिवृद्धि कर लगाइएको जिकिर पनि गरे ।
‘करको दायरालाई वैज्ञानिक बनाउने प्रयत्न गरिएको छ,मूल्य अभिवृद्धि करकै कारणले राजश्वको दायरा बढेको थियो । पछिल्लो समय एकपछि अर्को गर्दै मूल्य अभिवृद्धि कर घटाउँदा समस्या आएको हो । त्यसैले केही बस्तुमा भ्याट लगाइयो,’उनले भने,‘कतिपयलाई मूल्य अभिवृद्धि कर लगाइदिएपछि हिसाब–किताब राख्नुपर्ने भएको छ । कतिपय व्यवसायीहरुले अर्को कर लगाउनुहोस्, मूल्य अभिवृद्धि कर नलाइदिनुहोस् भनेका छन् । जे गरिरहेका छन् ,त्यो गर्न नपाउँदा असन्तुष्टि देखिएको होला ।’ उनले तयारी बस्तु मगाउनेहरुलाई भन्दा कच्चा पदार्थ ल्याएर यहाँ उद्योग खोल्नेलाई सुविधा दिएर एक तहको संरक्षण गरिएको पनि बताए । उनले दृष्टिविहीनदेखि अपाङ्गता भएकाहरुलाई बजेटले समेटेको जिकिर गरे ।
नयाँ गठबन्धन अफवाह
नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा.महतले कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरणको सम्भावनालाई खारेज गरे । ‘यो सबै अफवाह हो भ्रम हो । संसदमा सबै दलका नेताहरुसँग भेट भइरहेको हुन्छ । यसकै आधारमा हल्ला गर्नु हुँदैन,’ उनले भने,‘गठबन्धनले लक्ष्यसहित काम गरिरहेको छ । देश र जनतालाई केन्द्रमा राखेर गठबन्धनले काम गरिरहेको छ । यो अफवाहको कुनै अर्थ छैन ।’
नयाँ पार्टीलाई शंकाको सुविधा
कांग्रेस प्रवक्ता तथा अर्थमन्त्री डा. महतले नयाँ पार्टीहरुसँग शंकाको सुविधा रहेको तर कांग्रेसमाथि काम गरेर देखाउनुपर्ने चुनौती रहेको स्वीकारे ।
‘नयाँ पार्टीलाई जे भने पनि हुन्छ । हामी भएको भए जुनतारा नै खसाल्दिन्छौं भन्छन्,टेस्टेड छैनन्, हो कि क्याहो, जुनतारा नै खसाल्छन् भन्ने हुनसक्छ,’ उनले भने,‘ हामीले गरेरै देखाउनुपर्छ ।’ स्रोत र साधन सीमित भएकाले चाहेजस्तो सेवा प्रवाह गर्न नसकेको स्वीकार्दै उनले त्यही कमजोरीलाई लिएर नयाँ पार्टीहरुले सरकारको आलोचना गरेको उनको जिकिर थियो ।
‘अप्ठेराका बाबजुद हामीले काम गरेका छौँ । आवश्यकता धेरै छन् विभिन्न समयमा आउने बाधा–व्यवधानले भनेजस्तो परिणाम हुन सकेको छैन,’ उनले भने, ‘त्यसैलाई देखाएर नयाँनयाँ पार्टीहरुले हामी भएको भए यसो गथ्र्यौं भन्दिनुहुन्छ । अनि सामाजिक सञ्जालको जमाना छ , एउटै कुरा गरेको हुन्छ अनि दोहो¥याएर दिएकोदिएै छ । हरेक दिन हामीले जनताको समस्यासँग जोडिएकै हुन्छौँ । हामी टिकटकमा राखेर देखाउँदैनौं ,भिडियो लगेर खिचेर देखाउने गर्दैनौंँ । त्यो हाम्रो कर्तव्य नै हो । ’
बरु हामीहरु आफूले आफ्नै विरोध गरिरहेका छौँ । आलोचना गरेर बसिरहेका छौँ फरक यत्ति हो । काम गर्ने पार्टी हामी नै हो । अरुलाई शंकाको फाइदा छ । हामीले जिम्मेवारी पाए त के के न गर्दिन्छु भन्ने छ । हामीलाई त्यस्तो सुविधा छैन ।
आ–आफ्नो किसिमले अभिव्यक्ति दिने स्वतन्त्रता छ । अनावश्यक रुपले नेतृत्वको आलोचना गरिरहने हैन कि, पार्टीको नीतिलाई लिएर जनताकहाँ जानुलाई अन्यथा लिन मिल्दैन । तर, त्यसको लक्ष्य के हो भन्ने स्पष्ट हुनुपर्छ । पार्टी सुदृढ बनाउने लक्ष्यसहित का गर्दा आपत्ति हुँदैन ।
हाम्रो पार्टीमा व्यापक पार्टीमा जस्तो सहभागिता कुन पार्टीमा छ ? उनले पार्टी संरचना निर्वाचनबाटै निर्माण भएको तर केही भातृ संगठनमा समस्या आएको र समयमा अधिवेशन नभएको उनले स्वीकारे ।





