बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बरामद गरिएका अबैध हतियार प्रशासनमा बुझाइयो

बरामद गरिएका अबैध हतियार प्रशासनमा बुझाइयो


  • ढोरपाटन संवाददाता
  • असार १७ २०८०, आइतबार

बागलुङ/ढोरपाटन शिकार आरक्ष कार्यालयले बिभिन्न समयमा बरामद गरेका अबैध हतियार जिल्ला सुरक्षा समितिलाई बुझाएको छ । शनिवार एक कार्यक्रमका बीच आरक्षका प्रमुख संरक्षण अधिकृत बीरेन्द्र कंडेलले ती हतियार बुझाएका हुन् ।

शनिवार बसेको सुरक्षा समितिको बैठकमा अर्धन्यायिक निकायका प्रमुख तथा प्रतिनिधि समेतको सहभागितामा ती हतियार बुझाइएको हो । बुझाइएका हतियारमा एक एसएलआर र ८ वटा भरुवा बन्दुक तथा केही बारुद लगायतका सामाग्री समेत छन् । ७ दशमलब ६२ मिलिमिटरको एसएलआर आरक्षले २०७८ चैत ३० गते रुकुमको पुथा उत्तरगंगा गाउँपालिका ५ को घुस्तुङखोलाबाट बरामद गरेको हो । त्यस्तै नालमात्रै रहेको ३०३ राइफलको नाल पनि सोही स्थानबाट बरामद भएको कंडेलले जानकारी दिए ।

ती बाहेक पुथा उत्तरगंगाकै वडा नंं २ को मैकोटबाट १ थान, वडा नंं १ को तिज्याङबाट अर्को २ थान र वडा नंं २ कै माझडाँडाबाट २ थान भरुवा बन्दुक बरामद भएका थिए । पुथा उत्तरगंगाकै वडा नंं ५ को काजरजंगबाट २ थान र खोरेवालाबाट १ थान भरुवा बन्दुक पनि बरामद भएका थिए । ती अधिकांस हतियार २०७७ सालमा बरामद भएपनि आरक्षमा सुरक्षित थिए ।

त्यस्तै २ सय ग्राम बरुद, ७२ थान सिसा समेत आरक्षले बरादम गरेर समितिमा बुझाएको हो । प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, सहायक प्रजिअ चित्राङगत बराल, प्रहरी उपरिक्षक योगेन्द्रकुमार खड्का, सशष्त्र प्रहरी, सेना, सरकारी वकिल र डिभिजन वन कार्यालयका प्रमुख समेतको उपस्थितिमा ती हतियार बुझाइएको हो ।

पछिल्लो तीनबर्षमा आरक्षले २ वटा घोरल, १ नाउरको छाला सहित एकजना अबैध सिकारी पक्राउ गरेर मुद्दा समेत चलाएको कंडेलले जानकारी दिए । सोही समयमा आरक्षको क्षेत्र बाट ५ हजार केजी बिभिन्न प्रजातीको जडिबुटी, १ हजार ५ सय क्युफिट काठ लगायत चोरी निकासी गर्ने १६ जनालाई पक्राउ गरेर कारवाही चलाइएको समेत कंडेलले बताए । ढोरपाटन शिकार आरक्षको सुरक्षामा नेपाली सेना समेत रहेको छ । सेनाको उपस्थितिले मुख्य कार्यालय आसपासमा घटना न्युनिकरणमा सहयोग पुगेको भएपनि रुकुम सिमाना तर्फ बढी चोरी सिकार भैरहेको कंडेलले गुनासो गरे । आरक्ष कार्यालयमा भएको दरबन्दीमा १७ कर्मचारी अभाव छ । ती कर्मचारी अभाव हुँदा सबै ब्लकमा कर्मचारी परिचालन गर्न नसकिएको हो । कर्मचारी सँगै सुरक्षापोष्ट पनि चाहिनेमा प्रहरी चौकी हुँदै नभएको, सेनाको सुरक्षापनि बागलुङ र म्याग्दीतर्फ मात्र भएकोले रुकुम खण्डमा सुरक्षा समस्या बढी भएको कंडेलले गुनासो गरे ।

प्रजिअ श्रेष्ठले सुरक्षा संवेदनशिल क्षेत्रमा सेना वा प्रहरी उपस्थिति बढाउने काममा प्रशासनले पहल गर्ने बताइन् । २०३९ सालमा १ हजार ३ सय २५ बर्ग किमी क्षेत्रफलमा फैलिएको क्षेत्रलाई सरकारले ढोरपाटन सिकार आरक्षको रुपमा घोषणा गरेको थियो । उक्त क्षेत्रफलको ६० प्रतिशत रुकुम, २६ प्रतिशत बागलुङ र १४ प्रतिशत म्याग्दीमा पर्छ । यहाँ ३२ प्रकारका स्तन्धारी प्रजाती, १ सय ६४ प्रकारका चरा र जडिबुटी समेट पाइन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->