बागलुङ/इमेज बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर नपाएका पीडितले शनिवार राज्यको ध्यानाकर्षण गराएका छन् । उनीहरुले राज्यका नियमनकारी निकाय गम्भिर नबनेको आरोप समेत लगाएका छन् ।
पीडितहरुले सहकारीका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई आर्थिक अपराधको मुद्दा चलाएर अन्तराष्ट्रिय तहबाटपनि कारवाही गर्ने वातावरण बनाउन माग गरेका छन् । ‘आर्थिक अपराधको मुद्दा लगाएर रेडकर्नर नोटिस जारी गर्न सकेमा संसारको जुनसुकै देशमा भएपनि पक्राउ गर्न सजिलो हुन्छ’ पीडित श्यामप्रसाद पौडेलले भने, ‘यो कामकालागि राज्य किन चुप लागेको छ ?’ जिल्लाका सरोकारवाला निकाय, जनप्रतिनिधि लगायतले सरकारको ध्यानाकर्षण गराउनु पर्ने उनले माग गरेका छन् ।
झण्डै ५ सय जना भेला भएको शनिवारको कार्यक्रममा सहभागिले आर्थिक अबस्थाले आम बचतकर्ताको घरघरमा समस्या बल्झेको बताए । कतिपयले ऋण तिर्न नसकेर मृत्युवरण गर्ने प्रयास हुन थालेको भन्दै गम्भिर बिषयमा ध्यानाकर्षण गराउन माग गरेका थिए । कार्यक्रममा सहभागि सरिता लिमिल्सिना कंडेलले नगरपालिकको प्रमुख समेत भएको व्यक्ति हराउँदा राज्यले कान नसुनेको आरोप लगाइन् । अर्का सहभागि राजु केसीले जिल्लाका राजनीतिक दलले बेलैमा चासो दिएको भए यतिधेरै समस्या नआउने बताए । सहभािगहरुको जिज्ञाशापछि गण्डकी प्रदेश सांसद चम्पा खड्काले प्रदेशसभामा पीडितको माग उठान गर्ने बताइन् । एमालेका जिल्ला अध्यक्ष हिराबहादुर केसी, राजमोका सचिव भीमलाल पोखरेल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष लालबहादुर थापा लगायतले पीडितको पक्षमा बोलेका थिए ।
इमेज बचतकर्ता संघर्ष समितिका अध्यक्ष डिलबहादुर कार्कीको अध्यक्षता र यामप्रसाद पोखरेलको संचालनमा भएको कार्यक्रममा दर्जनबढी पीडितले राज्यका अंगनै जिम्मेवार बन्नुपर्ने धारणा राखेका थिए । जिल्ला सहकारी संघका अध्यक्ष हुमाकुमारी जिसी, नेपाल बचत तथा ऋण सहकारी संघका केन्द्रीय सदस्य चण्डीप्रसाद शर्मा लगायतले नियमनकारी निकाय बढी चनाखो बन्नुपर्ने बताए । उनीहरुले राम्रो गरेका सहकारी समेत एकादुइ बदनामका घटनाले अप्ठरोमा परिरहेको भन्दै शेयर सदस्यमा कारोवार गर्ने, जोखिम न्युनिकरण कोष बनाउने जस्ता काममा सहकारी सक्रिय बन्नुपर्ने सुझाव समेत दिएका थिए ।
गत बैसाख ६ गतेको संचालक समितिको बैठकले इमेज सहकारीमा तरलता अभाव देखाएर कारोवार बन्द गरिएको थियो । केही समय सहकारीका अभियान्ताले नेपाली लाई राखेर गरेको छलफलमा ६ महिना भित्र बचत फिर्ता गराउने शर्त राखेको भन्दै नेपालीलाई सामान्य अबस्थामा फर्काएका थिए । तर जेठको पहिलो सातादेखिनै नेपाली फरार छन् । उनी फरार भएपछि हजारौं बचतकर्ताको लाखौं रकम ठगिएको सार्वजिनिक भएको छ ।





