बागलुङ/ जिल्लाको गलकोट नगरपालिकाले नेपालमा नै पहिलो पटक स्थानीय पाठ्यक्रममा वैदेशिक रोजगारीको विषय समावेश गरेर पठनपाठन सुरु गरेको छ । चालु शैक्षिक सत्रबाट आधारभुत तहमा स्थानीय पाठ्यक्रम लागु गरेको नगरपालिकाले कक्षा ६ को पाठ्यपुस्तकमा बैदेशीक रोजगारी र त्यसको सामाजिक प्रभावको विषय समाबेश गरेको हो ।
सुरक्षित आप्रवासन कार्यक्रम सञ्चालन गरिरहेको नगरपालिकाले बैदेशीक रोजगारीका बिषयमा बालबालिकालाई ज्ञान हुन आवश्यक रहेकाले पाठ्यक्रममा नै यो विषय समावेश गरेको नगर प्रमुख भरत शर्मा गैरेले बताए । वैदेशिक रोजगारीमा जानुभन्दा स्वदेशमा स्वरोजगार हुने मानसिकताको विकास गर्न र जानै परे बैदेशीक रोजगारीका बिषयमा ज्ञान लिएर जाने वातावरण बनाउनका लागि पाठ्यक्रममा यो विषय समावेश गरिएको गैरेले बताए ।
‘वैदेशिक रोजगारी स्वभाविक प्रक्रिया जस्तो भैसक्यो, कम्तीमा यसको बिषयमा बुझेर जाउन, सीप सिकेर जाउन् भन्ने हो,’ गैरेले भने ‘वैदेशिक रोजगारीसम्बन्धी सचेतनाका लागि यो प्रयास थालिएको हो ।’ वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यक्रम अधिकृत शिव रेग्मीले वैदेशिक रोजगारीको विषयमा पढाउने देशभरका ७५३ स्थानीय तहमध्ये गलकोट पहिलो स्थानीय तह भएको बताए । सुरक्षित आप्रवासनका लागि पाठ्यक्रमले धेरै सहयोग गर्ने उनको बुझाइ छ ।
‘हामीले पनि धेरै सहयोग गरेर पाठ्यक्रम तयार भएको छ, कक्षा ६ मा पढाई हुनु खुसीको कुरा हो,’ रेग्मीले भने ‘यो पढाइ व्यवहारिक हुनेछ, अन्य स्थानीय तहले पनि लागू गर्दा राम्रो हुन्छ ।’ वैदेशिक रोजगारीमा गएका र जान खोज्नेहरु ठगिने गरेकाले यो पाठ्यक्रमले त्यसलाई रोक्ने उनको बुझाइ छ ।
विदेश जान चाहने तथा विदेशमा पुगेर पनि ठगिएका नेपालीहरुले उपचार खोज्ने र न्याय पाउने अवस्था चुनौतीपूर्ण छ । यस्तो बेला सचेतनाको अभाव हुने गरेको उनले बताए । बागलुङको जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाले पनि वैदेशिक रोजगारीको विषय पाठ्यक्रममा समाबेश गर्ने चरणमा छन् । ‘हामीले सुझाव दिएका छौं, उहाँहरु सकारात्मक हुनुहुन्छ,’ रेग्मीले भने ‘यो सबैका लागि जरुरी विषय हो ।
बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले वैदेशिक रोजगारीका विषयमा बालबालिकादेखि वयश्कसम्म सबैमा सचेतना पु¥याउन आवश्यक रहेको बताए । उनले देशमा नै रोजगारी पर्याप्त नभएर विदेश जानुपर्दा ज्ञान सीप सिकेर जाने युवाहरुले काम पनि राम्रो पाउने, कमाइ पनि राम्रो हुने र सुरक्षित भइने बताए ।
बागलुङको बागलुङ, जैमिनी र गलकोट नगरपालिका तथा काठेखोला गाउँपालिकाले आप्रवासी पाश्र्वचित्र तयार गरेका छन् । यसबाट आप्रवासन प्रक्रियालाई सुरक्षित बनाउन सकिने सरोकारवाला बताउँछन् । वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन स्थानीय तहहरुले काम अघि बढाएको सुरक्षित आप्रवासन कार्यक्रम बागलुङका संयोजक मिनप्रसाद पौडेलले बताए ।





