
बागलुङ/ जिल्लाका स्थानीय तहले पानीका मुहान संरक्षण गर्न बिभिन्न कार्यक्रम सार्वजनिक गरेका छन् । सुख्खा याममा पानीका मुहान सुक्ने र खानेपानीको समेत अभाव हुन थालेपछि मुहान संरक्षणका लागि प्राकृतिक बिधि अपनाउने गरी पालिकाहरुले कार्यक्रम ल्याइएका हुन् ।
बागलुङ, जैमिनी नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकामा पानीका स्रोत संरक्षणमार्फत् मुहान जोगाउने कार्यक्रम तयार भएका हुन् । स्थानीय तहले बृक्षारोपण, पोखरी निर्माण, बरपीपल संरक्षण, कुवा तथा पौराणीक पँधेरो संरक्षणलगायतका कार्यक्रममार्फत् पानीका मुहान जोगाउने अभियान बनाएका छन् ।
बागलुङ नगरपालिकाले पानीको मूल संरक्षण गर्न ‘एक वडा एक पोखरी’ निर्माण गर्ने नीति बनाएको छ । ‘नगरक्षेत्रका महत्वपूर्ण ताल तलैया, कुवा, पोखरीलगायत प्राकृतिक जलाशयको संरक्षण गरी जलाधार संरक्षणमा सहयोग पु¥याइ पानीको श्रोतको संरक्षण गर्न उजाड एवं सुख्खा स्थानमा एक वडा एक पोखरी कार्यक्रम संचालन गरिने छ,’ बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले भने ।
जैमिनीले नगरभित्र रहेका वरपिपल, स्वामी लगायतका वृक्ष र परम्परागत चौतारी, पोखरीको संरक्षण र सम्बर्धन गर्ने, वृक्षरोपण गर्ने कार्यक्रम ल्याएको छ । ‘प्राकृतिक सम्पदाले पानीको मुहान संरक्षणमा ठूलो भूमिका खेलेको हुन्छ,’ जैमिनीका उपप्रमुख हरिहर शर्माले भने ‘सचेतना र कार्यक्रममार्फत् सम्पदाको संरक्षण गर्ने छौं ।’
काठेखोला गाउँपालिकाले गाउँपालिकाभित्र रहेका पानीका मुहान संरक्षण, जलाधार संरक्षण, जलाशययुक्त पर्यटन पूर्वाधार निर्माण गरी जलचरहरुको संरक्षण गर्ने नीति बनाएको छ । ‘जलचरको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ, मानव जीवनका लागि जलचरको संरक्षण महत्वपूर्ण पाटो हो,’ काठेखोलाका उपाध्यक्ष तेजबहादुर थापाले भने ‘मुहानकै कारण हाम्रा केही वडामा खानेपानीको पनि समस्या छ ।’ खोलाखाल्सा, खाली प्रतिजग्गा तथा सार्वजानिक स्थलमा भएको अतिक्रमणलाई हटाइ त्यस्ता स्थानलाई सार्वजानिक प्रयोगमा ल्याउने नीति गाउँपालिकाको छ ।
बरेङले जोखिममा रहेका सिमसार, पोखरी र मुहान संरक्षणका लागि स्थानीय युवा, महिला र सामाजिक संघसंस्था परिचालन गर्ने नीति ल्याएको छ । सर्वसाधारणको सहभागितामै सिमसार, पोखरी र मुहानको संरक्षण गर्दा दिगो र प्रभावकारी हुने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । जलवायु परिवर्तनको जोखिमसँग जुध्न र पानीका मुहान संरक्षण गर्न कार्यक्रम ल्याइएको शर्माले बताए ।





