बागलुङ/ गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. विनोदविन्दु शर्माले गण्डकी प्रदेशलाई देशकै पहिलो प्रदेशको रुपमा पूर्ण खोप पाएको प्रदेश बनाउने तयारी भएको बताएका छन् ।
सोमबार बागलुङमा आयोजना गरिएको पूर्ण खोपयुक्त जिल्ला घोषणा सभाको उद्घाटन गर्दै छिट्टै प्रदेश नै घोषणा गर्ने तयारी भएको बताएका हुन् । बालबालिका जन्मेदेखि ५ वर्षको उमेर पुग्दासम्म पाउनुपर्ने सबै प्रकारका खोप पाएको अवस्था सुनिश्चित भएपछि यस्तो घोषण गर्ने चलन छ ।
सो अनुसार बागलुङमा उक्त उमेर समूहका १० हजार ३ सय १८ जना बालबालिकाले सबै खोप पाएको निश्चित भएपछि जिल्ला घोषणा भएको हो । त्यसअघि पालिका तहमा पनि घोषणा सभा राखिएको थियो । जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा रहेको जिल्ला खोप समन्वय समिति बगलुङले सबै खोप पुगेको अवस्था भएपछि घोषणा गरिएको हो ।
स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माका अनुसार महामारीजन्य रोग समेत लाग्नै नदिने गरी खोप तथा उपचार सेवाको बिस्तार भैरहेको बताए । नेपाल सरकार, गण्डकी प्रदेश सरकार र सबै स्थानीय तहले खोप तथा स्वास्थ्यका कार्यक्रमलाई प्राथमिकता दिएकोले ती लक्षहरु पुरा गर्न पनि सहज हुने उनले बताएका थिए । उनले बागलुङलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्न सकिनुको आधारसहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै डा. शर्माले हरेक स्वास्थ्यकर्मीले समय दिएर उपचार र खोप दिंदा अमूल्य जीवन बचेको बताए । ‘स्वास्थ्यकर्मीसँग हातमा ५ रुपैयाँ पैसा नभएको बेला पनि ५ मिनेट समय दिएर बिरामीको उपचार गरेका छन्,’ उनले भने, ‘त्यो समय र मेहेनतले नागरिकको जीवन बचेको छ ।’
अन्य क्षेत्रका कर्मचारीले लक्ष्यसहित गरेपनि स्वास्थ्यकर्मीले हरेक आकस्मिक सेवा र महामारीमा अगाडि खटेर काम गर्नुपर्ने धारणा राखेका थिए । गण्डकी प्रदेश खोप समन्वय समितिको संयोजक समेत रहेका बिनोदविन्दु शर्माले केही दिनमै गोरखा जिल्ला घोषणा भएपछि गण्डकी प्रदेश समेत घोषणा गर्ने तयारी गरेको उनले जानकारी दिए ।
जटिल भूगोल भएपनि ग्रामीण बासिन्दाको उपचार र सेवामा महिला स्वास्थ्य स्यंसेविकादेखि सबै स्वास्थ्यकर्मी खटिएकोले सफलता मिलेको सहभागीले बताए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले स्वास्थ्य क्षेत्रको फड्को पछि अरु विकासमा पनि फड्को मार्न सकिने बताए । नागरिक स्वस्थ्य भयो भने विकासमा पनि खटिन सक्ने भन्दै सभ्य समाज निर्माणमा पनि नागरिक स्वस्थ्य हुनुपर्ने बताए ।
नेपाल सरकराले २०३४ सालमा बिफर उन्मूलन गरेपछि घटेको बालमृत्युदर क्रमशः अरु सबै खोप लगाएपछि शुन्यतातर्फ झरेको स्वास्थ्यकर्मीहरुको जिकिर थियो ।
पछिल्लो समय धनुष्टंकार, पोलियो, जापनिज इन्सेफ्लाइटिस, रुबेला, सिआरएस र हेपाटाइटिस समेतका रोगहरु खोपकै कारण न्यूनीकरण भएको उनको भनाइ थियो । कोरोना संक्रमणको बेला पनि आम नागरिकले खोप लगाएकै कारण फैलन नपाएको, आत्मबल बढेको जानकारी गराइएको थियो ।
घोषणा सभामा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले नगरकी छोरी शिर्षकको नीति तथा कार्यक्रम र बजेटले पनि खोप सुनिश्चितताको सूचक पुरा गर्न सहजीकरण गर्ने गरी बागलुङ नगर अगाडि बढेको बताए ।
जिल्ला समन्वय समितिका प्रमुख अमर थापाको अध्यक्षता, स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत घनश्याम सापकोटाको संचालन र जिल्ला समन्वय अधिकारी कृष्णराज गौतमको स्वागतमा सम्पन्न कार्यक्रममा गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरे, जैमिनीका प्रमुख नरबहादुर पुन, बडिगाडका अध्यक्ष गण्डकी थापा अधिकारी, धौलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. रविरन्जन प्रधान, धौलागिरि आयुर्वेद औषधालयका प्रमुख डा. सरोजकुमार रायलगायतले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा सहभागी जनप्रतिनिधि कर्मचारीलगायतले खोपलाई दीगो बनाउने प्रतिवद्धतामा हस्ताक्षर समेत गरेका थिए ।





