बागलुङ/ विपतपछि खोजी र उद्दार गर्ने पुरानो चलन परिवर्तन गरेर बागलुङको सरकारी तहबाटै बिपत पूर्व तयारी तथा प्रतिकार्य योजना बनाइएको छ ।
यसअघि सामान्य योजनाको रुपमा राखेर काम गरिएकोमा यो पटक पुस्तक आकारमा प्रकाशित गरेर आम नागरिकलाई समेत जानकारी गराइएको हो । बुधबार एक कार्यक्रमको आयोजना गरी जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले योजनाको सार्वजनिकीकरण गरे ।
जिल्ला प्रशासन कार्यालय, नेपाल रेडक्रस सोसाइटी र गैरसरकारी संस्था महासंघ जिल्ला शाखाले योजना बनाएका हुन् । योजनामा विपतको बेला परिचालन गर्ने टोली, विपत पूर्व जानकारी गराउने र त्यसको अध्ययन अनुसन्धान गरेर विपतबाट क्षति न्युनिकरण गराउने तरिकाको खोजी गरिने बताइएको छ ।
जिल्लाको संस्थागत क्षमताको आंकलन गर्ने, स्थानीय तहलाई बढी जिम्मेवार बनाउने, नीजि तथा गैरसरकारी क्षेत्रको काम तथा उनीहरुको योजना विश्लेषण गर्ने र घटना भैहालेमा छिटो परिचालन गरी खोजी उद्दारमा सक्रिय बन्ने योजनामा उल्लेख छ ।
बागलुङमा यसअघिका ठूला ठूला विपतको लेखाजोखा समेत योजनामा गरिएको छ । ठूला जोखिमबाट पाठ सिकेर आगामी दिनमा हुन सक्ने विपतमा प्रतिकार्य योजनामा विपतमा सर्तकता अपनाउने लक्ष पनि राखिएको ।
बागलुङको निसीखोलाका अधिकांस गाउँ, ढोरपाटन नगरपालिकाका ग्रामीक्ष क्षेत्र, जलाधार क्षेत्रहरु र ती जलाधार क्षेत्रको आसपासमा बस्ने नागरिकको सुरक्षाका लागि योजनाले चासो राखेको छ । नदी तथा खोला निकटमा बस्ने स्थानीयको तथ्यांक संकलन गरेर उनीहरुलाई आवस्यक पर्दा स्थानान्तारण गर्न सकिने संभावित क्षेत्रबारे पनि अध्ययन गरिएको हो ।
बाढी पहिरो, चट्याङ, आगलागी, हावाहुरी, संक्रामक रोगबाट बच्नका लागि योजना उपयोगी हुने थापाले बताए । संक्रामक रोग ऐन २०२०, बिपत जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन २०७४, स्थानीय सरकार संचालन ऐन, राष्ट्रिय विपत प्रतिकार्य कार्यढाँचा २०७५, विपत जोखिम न्युनिकरण तथा व्यवस्थापन नियमाबली २०७६ लगायतका कानूनी प्रावधानबारे पनि योजनामा समावेश गरिएको छ ।
विपतबाट आम नागरिकलाई बच्ने उपाय बताउने, विपतमा बाँच्न सक्ने अभ्यस्त बनाउने लगायतका काममा पनि जिल्ला विपत व्यवस्थापन समितिले काम गर्नेछ । योजना सार्वजनिकीकरण गर्दै जिल्ला समन्वय प्रमुख अमरबहादुर थापाले जोखिमका क्षेत्र पहिचान गरेर पूर्व तयारीमा बढी सचेत बन्नुपर्ने बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जिल्ला प्रशासनले विपत व्यवस्थापनको काम गरेपनि मुख्य जिम्मेवारी स्थानीय सरकारमै रहेको बताइन् । आबस्यक कानून र आबस्यक निर्णय गरेर काम गर्न सक्ने अधिकार स्थानीय सरकारमा भएकोले योजनाले काम गर्न सजह बनाउने बताइन् ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले विपत प्रतिकार्य पूर्वतयारी योजनाबारे प्रस्तुतीकरण समेत गरेका थिए । योजना कार्यान्वयनका लागि आवस्यक कोष समेत बनाउने तयारी छ ।
विपत व्यवस्थापनका लागि सही सूचना सम्प्रेषण आबस्यक रहेको बिषयमा पनि सरोकारवालाले बताएका थिए । समयमा सही सूचना आयो भने विपतबारे प्रष्ट हुने, खोजी तथा उद्दारमा लाग्न सहज हुने र राहत बितरणमा पनि एकरुपता कायम गर्न सकिने श्रेष्ठले बताइन् । पछिल्लो समय बागलुङका नगरपालिका तथा गाउँपालिकाले बिपत व्यवस्थापन ऐन र कार्यविधि समेत बनाएर लागू गरिसकेका छन् ।





