बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

नौ विद्यालयका ३५ शिक्षकलाई भीमापोखराले दियो निशुल्क ल्यापटप

नौ विद्यालयका ३५ शिक्षकलाई भीमापोखराले दियो निशुल्क ल्यापटप


  • ढोरपाटन संवाददाता
  • असार २४ २०८०, आइतबार

बागलुङ/ जिल्लाको काठेखोला गाउँपालिका–२ भीमापोखराले नौ विद्यालयका ३५ जना शिक्षकलाई निःशुल्क ल्यापटप उपलव्ध गराएको छ । सामुदायीक विद्यालयको शैक्षिक सुधार योजनाअन्तर्गत वडा कार्यालयले पहिलो चरणमा ३५ जना शिक्षकलाई ल्यापटप उपलव्ध गराएको हो ।

शिक्षक प्रबिधिमैत्री भए मात्रै शिक्षा प्रबिधिमैत्री हुने भएकाले शिक्षकहरुलाई सबल बनाउन ल्यापटप उपलव्ध गराईएको वडा अध्यक्ष विद्यापती शर्माले बताए । चालु आर्थिक बर्षमा वडाले गौरवको योजनाको रुपमा शिक्षकहरुलाई ल्यापटप उपलव्ध गराउने कार्यक्रम बनाएको थियो । २० लाख रुपैयाँ खर्चेर ल्यापटप खरिद गरी उपलव्ध गराईएको हो ।

वडामा ४८ जना शिक्षकको दरवन्दी रहेकोमा पहिलो चरणमा ३५ र दोस्रो चरणमा बाँकी १३ जना शिक्षकले ल्यापटप पाउने छन् । शिक्षकहरुलाई व्यक्तिगत नभई विद्यालयमार्फत ल्यापटप उपलव्ध गराईएको हो ।

‘हतियार सहितको शिकारीले मात्रै शिकार गर्न सक्छ, त्यसैले सामुयीक विद्यालयको शैक्षिक सुधारका लागि सवल शिक्षक बनाउने अभियान थालेका हौं’ वडाध्यक्ष शर्माले भने ‘अहिलेको विद्यार्थी विश्व बजारमा जान्छन्, विश्व बजारमा चलेको प्रबिधि अनुसारको पठनपाठन होस् र त्यसका लागि सहयोग पुगोस् भनेर हामीले गौरवको योजना बनाएका हौं ।’

वडाले शिक्षा सुधार पहिलो प्राथमिकता भनेको छ । शिक्षाको सुधार हुँदा समाजका अन्य पाटोमा सुधार आउने भएकाले गाउँपालिकाले बनाएको एक वडा एक गौरवको आयोजनाअन्तर्गत भीमापोखरामा शिक्षा सुधार योजना ल्याईएको शर्माले जानकारी दिए ।

शिक्षकहरुलाई ल्यापटप वितरण गर्दै गाउँपालिका अध्यक्ष राजु थापाले ल्यापटपले मात्रै शैक्षिक सुधार नहुने भन्दै शिक्षकलाई राज्यले गरेको लगानीको आधारमा जिम्मेबार बन्न सुझाव दिए । उनले सामुदायीक विद्यालयमा रहेका क्षमतावान शिक्षकले आफ्नो क्षमता प्रयोगमा ल्याउँदा मात्रै शिक्षा क्षेत्रमा रहेका आधा समस्या समाधान हुने बताए ।

गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापाले काठेखोलाको शिक्षाक्षेत्र प्रबिधिमैत्री बन्दै गइरहेको बताए । चालु आर्थिक बर्षदेखि सबै बिद्यालयको अनुगमनका लागि प्रबिधिको प्रयोग गरिने भन्दै थापाले शिक्षा क्षेत्रको सुधारमा गाउँपालिका तदारुकताका साथ लागिपरेको बताए ।

काठेखोला गाउँपालिकाका संस्थापक अध्यक्ष अमर थापाले ल्यापटप पाएका शिक्षकलाई वडा कार्यालयले अनुदान दिएको नभएर जिम्मेबारीको भारी बोकाएको सम्झिनुपर्ने बताए । इमान्दार र मेहनती शिक्षकले नै शिक्षामा सुधारको थालनी गर्नसक्ने उनको धारणा थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->