बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

दव्ल्याङ पहिरो नियन्त्रणका लागि तत्काल काम थालिने

दव्ल्याङ पहिरो नियन्त्रणका लागि तत्काल काम थालिने


  • ढोरपाटन संवाददाता
  • असार २५ २०८०, सोमबार

बागलुङ/ दव्ल्याङको पहिरो नियन्त्रण गर्न अस्थायी संरचना तयार गर्ने र हिउँदमा पक्कि संरचनाको काम थाल्न सरोकारवाला सहमत भएका छन् । आइतबार बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले पहिरो नियन्त्रणका लागि चासो देखाएको हो ।

तीन बर्षदेखि बर्षामा बागलुङको दक्षिण क्षेत्रमा सडक सम्पर्क टुट्ने गरी बागलुङ नगरपालिका–१० गलुवाको दव्ल्याङमा खसेको पहिरोको अस्थायी नियन्त्रणका लागि बानपा र जैमिनी नगरपालिकाले तत्काल काम थाल्ने छन् । पक्कि संरचना निर्माणका लागि भने प्रदेश सरकार र संघीय सरकारसँग पहल गरिने भएको छ ।

बैठकमा गण्डकी प्रदेशसभा सदस्य, जिल्ला समन्वय समिति, बागलुङ र जैमिनी नगरपालिकाका जनप्रतिनिधि र सरोकारवाला कार्यालयका प्रमुख सहभागि थिए । उनीहरुले हरेक बर्षामा दुःख दिने गरेको पहिरो नियन्त्रणका लागि सबै सरोकारवाला एक भएर लाग्नुपर्ने बताए । पहिरो नियन्त्रणका लागि पहिलो चरणमा पानी व्यवस्थापनको काम थाल्न पहिरोको भौगर्भिक अध्ययन गरेको ‘एक्सप्लोलर जियोलोजिक कन्सल्टेन्सी’ले सुझाव दिएको छ ।

पहिरोमा पानी मात्रै तर्काउँदा ५० देखि ७० प्रतिशत समस्या समाधान हुने पहिरो नियन्त्रणका लागि आवश्यक अध्ययन गरी प्रतिवेदन तयार पार्ने जिम्मेबारी पाएको कन्सल्टेन्सीले सुझाव दिएको हो । गण्डकी सरकारले उक्त कन्सल्टेन्सीलाई भौगर्भिक अध्ययन गरी प्रतिवेदनका लागि जिम्मेबारी दिएको थियो । पहिरोको दिर्घकालिन समाधानका लागि भने बिभिन्न नौ चरणका काम गर्नुपर्ने कन्सल्टेन्सीले तयार पारेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।

७ सय मिटर लामो र १ सय ३५ मिटर फराकिलो पहिरो १५ देखि १८ मिटर गहिरो भएर बगेको प्रतिवेदनमा उल्लेख छ । पहिरोकै कारण जम्मा भएको पुरुवा माटोमा सडक बनाउने र बर्षायामको पानीको उचित व्यवस्थापन हुन नसकेका कारण पहिरो सुरु भएको प्रतिवेदनमा उल्लेख छ ।

पहिरो नियन्त्रणका लागि पाईल फाउण्डेसनसहित पिल्लर हाल्ने, तार जाली लगाउने, मेसिनरीवाल लगाउने, पानी व्यवस्थापन गर्ने, पानी बग्ने पक्कि संरचना बनाउने र इकोप्लानिङ गर्ने सुझाव पेश गरिएको छ । प्रारम्भिक प्रतिवेदन अनुसार पहिरो नियन्त्रण गर्न ५ करोड, ४८ लाख ९३ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

अहिले पहिरो बगिरहेको सतहभन्दा १३ देखि २५ मिटरभित्र मात्रै पथ्थर रहेकाले पाईल पिल्लर नहालेसम्म पहिरो नियन्त्रण असम्भव रहेको कन्सल्टेन्सीका प्रतिनिधि उमेशचन्द्र भुसालले बताए । कन्सल्टेन्सीले ३ सय एमएम डायमिटरका ४७ वटा पायल पिल्लर राख्न सुझाव दिएको छ । बागलुङको मालढुङ्गा–गलुवा–पाग्जा–बलेवाहुँदै कुश्मिसेरा जाने सडक अन्तर्गतको गलुवाको ठूलो पहिरो नियन्त्रण गर्न बिभिन्न क्षेत्रबाट पहल भैरहेको थियो ।

गलुवामा २०७८ साल असार १ गतेको भीषण बर्षापछिको पहिरोले कालीगण्डकी करिडोरसमेत बगाएपछि यो सडक हिउँदमा चल्ने र बर्षामा बन्द हुँदै आएको थियो ।
पहिरो नियन्त्रणका लागि बागलुङ–कुश्मीशेरा–बरेङ शान्तिपुर सडक कुन तहको मातहत हो भन्ने नै निक्र्योल हुन नसकेका कारण प्रारम्भिक अध्ययनका लागि समस्या भएको थियो । पहिरोका कारण बर्षायाममा हरेक दिन अबरुद्ध हुने सडक खुलाउन र नियन्त्रणको प्रयासका लागि मात्रै यहाँका दुई स्थानीय तहलेले लाखौं रुपैयाँ खर्चिसकेका छन् । ‘पक्कि सडक बन्ने पैसा पहिरो पन्छाउँदा मात्रै सकियो’ बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले भने ‘हामीले जसरी पनि दिर्घकालिन उपाय खोज्नै पर्छ ।’

पहिरोले बस्ती र खेतियोग्य जमिनभन्दा सडक संरचनामा धेरै क्षती पु¥याएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । पहिरोका कारण बागलुङ कुश्मीशेरा सडक दुई ठाउँमा, कालीगण्डकी कोरिडोर मालढुंगा बलेवा खण्ड र कालीगण्डकी करिडोरको वैकल्पिक मार्ग एकै पटक अबरुद्ध हुने गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->