बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

ज्वाइ भागेपछि नातीको जन्मदर्ता रोकियो

ज्वाइ भागेपछि नातीको जन्मदर्ता रोकियो


  • ढोरपाटन संवाददाता
  • असार २५ २०८०, सोमबार

बागलुङ/सात छोराछोरीको बिबाहदान गरिसकेका तमानखोला गाउँपालिका–१ का ढालबहादुर परियार अब ढुक्कले बस्न चाहेका छन् । तर उनलाई एकाएक फरक समस्या आइलाग्यो ।

एघार बर्षअघि बिबाह गरेकी छोरीले जन्माएको नाती पाल्नुपरेको छ । पालेर मात्र केही फरक पर्ने थिएन । तर नातीको जन्मदर्ता नबन्दा सास्ती खेपेका छन् ।

यो समस्या लिएर ढालबहादुर कहिले प्रशासन त कहिले वडा र पालिका पुग्छन् । तर उनको समस्याको समाधान कतैबाट भएको छैन । एघार बर्षअघि बिद्यालय पढ्दा पढ्दै स्थानीय प्रहरी चौकीमा काम गर्ने जवान टंक जोशीले छोरी भगाए । छोरी दिलकुमारीलाई प्रहरीमा जागिरे भएको केटालाई दिन पाएर ढालबहादुर खुसी थिए ।

उमेर नपुगेकै भएपनि प्रहरीले लगेपछि गाउँलेले राम्रै मानेका थिए । एकदुइ बर्ष जागिर खाउन्जेल जोशी तमानखोलामै बसे । पत्नि दिलकुमारीले छोरा जन्माइन् । त्यसपछि उनी सरुवा भए । सरुवा कता भए थाहा भएन, तर परिवार र माइती पक्षलाई उनले काठमाण्डौं सरुवा भएको भनेर ढाँटे । जागिरका लागि हिंडेका जोशी फर्केर आएनन् । शुरु शुरुमा फोन उठाएर काममा व्यस्त छु भन्ने गरेका जोशीले पछिल्लो समय फोन सम्पर्कमा पनि रहन छाडे ।

१० बर्ष भयो जोशी अझै फर्केका छैनन् । न त पत्नि र छोराको सम्पर्कमा छन् । यो बिचमा ढालबहादुर र छोरी दिलमायाले धेरै खोजी गरे । कतै पत्ता नलागेपछि छोरालाई पढाउने काममा दिलमाया लागिन् । ज्याला मजदुरी गरेर उनले छोरालाई बिद्यालय भर्ना गरिन् । तर बिद्यालयमा जन्मदर्ता चाहियो । त्यसका लागि वडा कार्यालय पुग्दा वडाले बाबुआमाको नाम खुलाउन भन्यो । बाबुको पत्तो नलागेपछि उनले छोराको जन्मदर्ता बनाउन सकेका छैनन् । जोशीको घरमा जेठी पत्नि हुँदाहुँदै दिलमायालाई ढाँटेर भगाएको र घरै नलगी अलपत्र पारेको पयिारको दाबी छ । घरमा जेठी पत्नि भएको दिलमायाले चियोचर्चोबाट थाहा पाएपनि सुत्केरी अवस्थामा सरुवा भएर हिंडेपछि खोजी गर्न नसकेको बताइन् ।

फरार जोशीको खोजी गर्न ढालबहादुरले प्रहरीमा खबर भने गरेका थिए । लामो समय सुनुवाइ भएन । स्थानीय प्रहरीले पत्ता लगाउन नसकेपनि उक्त नामको प्रहरीकोे घर कञ्चनपुर भएको प्रशासनले जानकारी पत्ता लगाएको छ । तर उनीबिरुद्द उजुरी गर्ने वा झिकाउने काममा जिल्ला प्रशासनले मात्र सक्ने भनेपछि प्रमुख जिल्ला अधिकारीलाई भेटेको बताए । ‘म आएर सिडिओलाई भेटे, खोजी दिन्छु भन्नुभएको छ’ परियारले भने, ‘बाबुको जिम्मा लगाएर पठाउन पाए बल्ल नातीको जन्मदर्ता हुने थियो ।’ छोरीकै बिबाह दर्ता नभएकोले नातीको समेत नभएको हो ।

सदरमुकाम आउजाउ गर्दा हजारौं रकम खर्च भएको तर अझै छोरी र नातीले न्याय पाउने नपाउनेमा परियार निश्चित छैनन् । ‘जे भयो भयो भनेर छाड्दा नातीले पढ्न पाएन’ परियारले भने, ‘न छोरीको बिबाह दर्ता छ, न नातीले पढ्न पायो ।’ परियारका अरु छोराछोरीको भने बिबाहदान भएको छ । घरमा ढालबहादुर र पत्नि तरुणदेवीले नाती पालेका छन् । तर पढाउन पनि नपाएपछि चिन्तित भएका हुन् ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले ती प्रहरीको खोजी भैरहेको बताए । ‘हामीले खोजी गरिरहेका छौं, पहिचान खुल्ने कागजात वा तस्बिर खोज्न लगाएका छौं’ बरालले भने, ‘बिचरा बाबुसँग ती प्रमाण भेटिएका छैनन् ।’ नामले प्रहरीमा भएको भनिएपनि काजजात वा प्रमाण नभएसम्म पक्राउ गर्न कठिन हुने उनले बताए । तरपनि खोजीकार्य भैरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->