बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

जैमिनीमा व्यवसायिक बाख्रापालन, उत्पादन बढाउन बिटल जातको बोका

जैमिनीमा व्यवसायिक बाख्रापालन, उत्पादन बढाउन बिटल जातको बोका


  • ढोरपाटन संवाददाता
  • असार २९ २०८०, शुक्रबार

बागलुङ / जैमिनी नगरपालिका–३ को माथिल्लो दमेकमा घरघरै व्यवसायिक बाख्रापालनको व्यवसाय संचालन भएको छ । निर्वाहमुखी बाख्रापालन गरेका किसानले पछिल्लो समय व्यावसायिक उत्पादन थालेका छन् ।

पहिला दुइचार वटा बाख्रा पालेकाहरुले अहिले घर घरमा २० देखि ५० वटासम्म बाख्रा पालेका छन् । धेरै बाख्रा पाल्न थालेपछि उनीहरुले आधुनिक जातको बोका समेत ल्याएर पालेका छन् । जैनिी नगरपालिका–३ का वेदप्रकाश छन्त्यालले पालेको बोका ४ लाख खर्चेर गाउँमा ल्याइएको हो ।

उनले हाल उक्त बोका बीजवृद्धिका लागि ल्याएको बताए । उक्त बोका १ सय ३० केजीको छ । यो शतप्रतिशत बिटल जातको बोका भएको जैमिनी नगरपालिकाका कृषि प्राविधिक रवीन्द्र शर्माले बताए । जैमिनी–३ को कालापाताल, भरतपुरी र नौला गाउँका किसानले वडालाई नै नमूना कृषि गाउँ बनाउने लक्ष बनाएपछि यो बोका झिकाइएको हो ।

उक्त लक्ष्य अनुसार बाख्रा, कुखुरा, आलु र अन्य तरकारीमा आत्मनिर्भर बनाउने लक्ष्य राखेका छन् । धेरै किसानले व्यावसायिक रुपमा बाख्रा पाल्न थालेकोले यो बोका ब्याडका लागि पालिएको हो ।

बिटल जातको यो बोकाबाट जन्मने पाठापाठी उन्नत जातको जस्तै ठूलो हुने र स्थानीय हावापानीमा हुर्कन सक्ने बन्ने प्राविधिक सुझाव पाएपछि खरिद गरिएको छन्त्यालले बताए । यहाँको छन्त्याल कृषक समूहमा आबद्ध तीन दर्जनबढी किसानले व्यावसायिक बाख्रापालन गरेका छन् । बीज वृृद्धिका लागि छन्त्यालको गोठमा पालिए पनि यो बोका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बागलुङ कार्यालयले खरिद गरिदिएको हो ।

यो बोका लगाएको एकपटकको ७ सय रुपैयाँ शुल्क लिने गरिएको छ । बोकालाई हरेक दिन प्रोटिनयुक्त खाना खुवाउने गरिएको छ । बिटल जातको बाख्रा खरी जस्तै स्थानीय वातावरणमा हुर्कने, धेरै मासु उत्पादन हुने र स्थानीय खरी बाख्राकै बगालमा पाल्न सकिने भएकोले परियोजनाले खरिद गरिदिएको बरिष्ठ कृषि अधिकृत सुजित पौडेलले बताए । यो बोका चराउन भने मिल्दैन । ‘बगालका अरु बाख्रा चलाउन लगेपनि बोका भने घरमै बाँधेर घाँस खुवाएका छौं,’ वेदप्रकाशकी आमा नरमायाले भनिन्, ‘घरमा पाल्नु पर्ने भएकोले एक जनाले बोकाकै स्याहार गर्नुपर्छ ।’ ठूलो भएकोले घाँस पानी पनि धेरै खुवाउनु पर्ने उनले बताइन् ।

मासुका लागि पनि बिटल जात महंगो पर्छ । किसानले बिटलको मासु प्रतिकेजी ३ हजार ५ सय रुपैयाँ सम्ममा बेच्न सक्छन् । ७ महिनाअघि बोका ल्याएकोले आगामी बर्ष गाउँमा बिटल जातका बाख्राको संख्या बढ्ने उनले बताइन् । ‘पाल्न त धेरै गाह्रो छ, तर अर्को बर्षदेखि जन्मने पाठापाठी स्थानीय जातसँगै मिल्ने बन्छन्,’ छन्त्यालले भनिन्, ‘छुट्टै बगालबाट ल्याएकोले स्थानीय जातसँग मिलेर बस्न सक्दैन ।’
भारतको पंजाब र हरियाणामा विकसित भएको यो बाख्रा जमुनापारी जस्तै देखिन्छ । लामा कान, ठूलो शरीर भएकोले डरलाग्दो समेत छ । बिटल जातको बाख्रा मासु र दूधका लागि समेत पाल्ने गरिएको छ ।

बागलुङमा यो जातको बोका दुई स्थानमा मात्रै छ । जैमिनी नगरपालिका–७ मा पनि परियोजनाले बोका उपलब्ध गराएको हो । अन्य धेरै स्थानमा बिटल जातको बाख्रा पालिएको भएपनि बागलुङमा भने यो पहिलो पटक अनुदानको रुपमा किसानलाई दिइएको पौडेलले बताए । एकडेढ बर्षमा किसानको खोरमा हुर्कने नयाँ पाठापाठीको उत्पादन र बजारको आधारमा मात्रै बिटलको व्यवसायिक उत्पादन कस्तो हुने अनुमान गर्न सकिने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->