बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

एम्बुलेन्सदेखि उपचारसम्म जापानका युवाको भर

एम्बुलेन्सदेखि उपचारसम्म जापानका युवाको भर


  • ढोरपाटन संवाददाता
  • साउन १ २०८०, सोमबार

बागलुङ/ रुखबाट लडेर घाइते गलकोट हटियाका एकबहादुर खत्रीको उपचारमा जापानबाट ६ लाख रकम आयो । त्यही पैसाले उनले उपचार गरे । मानसिक रोगले ग्रसित हटियाकै नेत्रबहादुर पुनको उपचारमा युवाहरुले ८ लाख सहयोग गरे ।

नगर अस्पताल बनाउने अभियानमा गलकोटे युवाले ५० लाख बढी सहयोग पठाए । अहिले १५ बेड क्षमताको अस्पताल संचालनमा आइरहेको छ । ‘गलकोटे युवाले पठाएको सहायोगले धेरै सहज भयो,’ अस्पतालका प्रमुख डा. राजेश पौडेलले भने, ‘उपकरण र अन्य सेवाका लागि पनि युवाहरुले सहयोग गर्न खोजेका छन् ।’

रोजगारीको लागि गएका युवाले गलकोट समाज जापान गठन गरेका छन् । २० टोलका उपसमिति पनि छन् । ती समितिले गाउँमा अप्ठ्यारो पर्दा सहयोग गर्दै आएका हुन् । उनीहरुले गलकोटमा मात्रै करोडौंको लगानी र सहयोग गरेको तथ्यांक छ । पछिल्लो दशबर्षमा गलकोटेले १८ करोड बढीको सहयोग भित्रिएको जापानका बरिष्ठ उपाध्यक्ष रत्नसिंह बस्नेतले बताए ।

‘रोजगारीमा भएपनि २ सय युवा निरन्तर अनलाइनमा राख्छौं, केही गर्नुपरे तत्काल रकम संकलन गर्न यो समूह तयार हुन्छ,’ बस्नेतले भने, ‘हामीसँग केही रकम कोषमा रहन्छ, अत्यावश्यक पर्दा त्यसबाट तत्काल पठाउने व्यवस्था गर्छौं ।’ एकदुइ दिनमा पठाउन सकिने भए भर्चुअल बैठकको निर्णय गरेर सहयोग पठाउने गरेको उनले बताए । आवश्यक पर्नासाथ युवाहरुले कोषमा रकम जम्मा गर्ने र पठाउने गरेको उनले बताए । दुर्घटनाको उपचारका लागि भने फेसबुक समूहमा कुरा राखेर तत्काल रकम पठाउने निर्णय गरिन्छ ।

उनीहरुले बिरामी उपचार खर्च, अस्पताल निर्माण, सडक तथा अन्य पूर्वाधार निर्माण, विद्यालयमा अक्षयकोष, छात्रवृत्ति र असहायलाई सहयोगमा लगानी गरेको गलकोट नगरपालिका ३ का अध्यक्ष फमबहादुर खत्रीले बताए । ‘युवा गाउँमा छैनन् भनेर चिन्ता त छ, सामाजिक कामको लागि सहयोग उतैबाट भित्रिन्छ,’ खत्रीले भने, ‘उपचारका लागि गलकोटबाट पोखरा पुग्दा खातामा सहयोग आइसकेको थियो ।’

पोखरामा पुगेर उपचार गरेका खत्री अहिले आराम गरिरहेका छन् । ज्याला मजदुरी गरेर परिवार पालेका खत्री परिवारले यति धेरै रकम खर्चेर उनको उपचार गर्न सक्थेनन् । ‘बेलैमा जापानबाट सहयोग नआएको भए मेरो ज्यानै जाने थियो,’ हाल आराम गरिरहेका खत्रीले भने, ‘केही दिनमा काममा निस्कन सकें भने मजदुरी गरेर परिवार पाल्छु ।’ गलकोट समाजकै कारण ज्यान बचेको उनले बताए ।

‘मृत्यु संस्कारको खर्चदेखि स्वास्थ्य संस्था बनाउने काममा पनि जापानबाट सहयोग आएको छ,’ वडा अध्यक्ष फमबहादुर खत्रीले भने, ‘बिद्यालयमा पढ्ने बालबालिकालाई न्यानो कपडा, जुत्ता, झोला र कापीकलमकालागि समेत युवाले सहयोग गरेका छन् ।’ खेलकुदको विकासमा नियमित सहयोग आएको उनले बताए ।

सामान्य समस्याको उपचार गर्नु पर्दा गलकोटबासीले ५० किमी परको सदरमुकाम धाउनुपर्ने बाध्यता थियो । एकतर्फी ७ सयदेखि ९ सय रुपैयाँ भाडा तिर्नुपर्ने बाध्यता हटाउन जापानमा बसेका युवाले अस्पताल बनाउन लगानी गरेपछि अहिले सहज बनेको छ । वडा नंं ५ को हरिचौरमा बनेको १५ शैयाको नगर अस्पतालमा ल्याब स्थापना र एक्सरे सेवाका लागि मात्रै गलकोट समाज जापानले ३० लाख सहयोग गरेको सामाजिक बिकास समितिका संयोजक हिमबहादुर भण्डारीले बताए ।

‘नगर अस्पतालमा एक जना चिकित्सक राख्नका लागि पनि गलकोटे युवाले सहयोग गरेका छन्,’ भण्डारीले भने, ‘अस्पताल संचालनकालागि मात्रै गलकोट समाज जापानको बार्षिक ३० लाख लगानी भइरहेको छ ।’ उक्त रकमले एक चिकित्सक, एक रेडियोग्राफरको समेत व्यवस्थापन भएको उनले बताए ।

गलकोट समाजका पदाधिकारीमध्ये एकदुइ जना पालैपालो बर्षेनी गलकोट आउने गर्छन् । यहाँको वास्तविकता बुझेर फर्कने, कतिपय कामको अनुगमन गर्नेसमेत उनीहरुले गरेको सल्लाहकार दिपेश केसीले बताए । ‘खेल मैदान बनाउने काम देखि एम्बुलेन्स किनेर हस्तान्तरण गर्ने काममा पनि समाजका सदस्य कोही न कोही आउने गरेका छन्,’ उनले भने, ‘विभिन्न पूर्वाधारको काम समितिका पदाधिकारीले पनि अनुगमन गर्छन् ।’

गलकोट नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड संचालन, मेयरकप भलिबलसहित वडा वडामा हुने खेलका गतिविधि चलाउन र पुरस्कारमा समाजले लगानी गरेको उनले बताए । काम बिशेषले जापान बसेपनि गाउँमा हुने सबै क्रियाकलापमा जोडिने गरी समाज गठन भएको हो ।

गलकोट समाज जापानकै लगानीमा नगर पालिकालेपनि एम्बुलेन्स किनेर संचालन गरेको छ ‘यहाँका हरेक काममा जापानका युवाको पसिना मिसिएको छ,’ वडा नं. ५ का अध्यक्ष पवन हमालले भने, ‘सामाजिक सुरक्षामा जापानको लगानी अब्बल देखिन्छ ।’ रकमको सदुपयोगकालागि जापानका युवाले वडा अध्यक्षको सिफारिस खोज्ने गरेको उनले बताए । आफ्नो क्षेत्रमा सहयोग गर्ने भनेपछि युवाहरु रातभर नसुती काममा खटिने गरेको बस्नेतको भनाइ छ ।

‘गाउँमा खेलकुद प्रतियोगिता भएपनि युवाले पुरस्कारको व्यवस्था जापानबाटै गरिदिएका छन्’ उनले भने ‘गलकोटे एकताले स्वास्थ्य र सामाजिक सुरक्षामा बढी सहयोग मिलेको छ ।’ सन् २०१० बाट क्रियाशिल भएको गलकोट समाजले १२ बर्षमा गलकोट क्षेत्रमा मात्रै २० करोड रुपैयाँभन्दा धेरै रकम सहयोग जुटाइसकेको छ । यस अघि कतिपय सहयोगको तथ्यांक नराख्दा अलमल भएको भन्दै सबै लागत संकलनको काम गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->