बागलुङ/बागलुङ नगरपालिकाले विपतका बेला चाहिने सवारी साधनको एकीकृत सेवा दिने आपतकालीन कार्य संचालन केन्द्र स्थापना गरेको छ । सोमबार जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले केन्द्रको उद्घाटन गरे ।
आपत विपत परेको बेला दमकल, एम्बुलेन्स, शव बाहन, डोजर र अन्य उद्धारका सवारी साधन एकै स्थानबाट छिटो र भरपर्दो तरिकारले परिचालन गर्न यो केन्द्र स्थापना गरिएको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए । पुरानो शान्ति समिति रहेको स्थानमा मर्मत गरेर केन्द्र स्थापना गरिएको हो ।
केन्द्र उद्घाटन गर्दै समन्वय समितिका प्रमुख अमरबहादुर थापाले विपत बाजा बजाएर नआउने भएकोले जतिबेला जुनसुकै स्थानमा परिचालन हुने केन्द्रले क्षति न्यूनीकरणमा साथ दिने बताए । उनले यस्ता केन्द्र सबै पालिकामा बन्नुपर्ने र ती केन्द्रहरु व्यवस्थित र आवश्यक पर्दा तत्काल परिचालन हुने खालको बन्नुपर्ने बताए । नगरपालिकाले साधन श्रोत दिएर केन्द्रलाई चुस्त बनाउन सक्नुपर्ने समेत उनले सुझाव दिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले संघीयता स्थापना पछि बिपत व्यवस्थापनको पहिलो सरकारको रुपमा स्थानीय तहलाई मानेको भन्दै स्थानीय सरकारकै अगुवाईमा अन्य सुरक्षा निकाय पनि संचालन हुने बताइन् । उनले आम नागरिकको चासो हुने भएकोले नगरको अगुवाइमा चल्ने केन्द्र प्रभावकारी बन्ने बताइन् ।
यो केन्द्रमार्फत् मानवीय श्रोत समेत परिचालन गर्ने व्यवस्थापन गरिने नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए । यो केन्द्रबाट संचालन हुने सेवा निशुल्क समेत हुने उनले जानकारी दिए । यहाँबाट संचालन हुने एम्बुलेन्सले ग्रामीण तहबाट धौलागिरि अस्पताल सम्म बिरामी ल्याउने काम निशुल्क गर्ने भएको हो । २४सै घण्टा कर्मचारी रहने, टोलफ्रि नम्बर र हटलाइन नम्बर संचालन गर्ने काम समेत यहीँबाट हुने छ । नगरपालिकाले सुरक्षा निकायसँग पनि सहकार्य गरेर काम गर्ने श्रेष्ठले जानकारी दिए । ‘सबै सुरक्षा निकायलाई पििन हामीले समन्वय गरेर काम गछांर्,ै’ उनले भने, ‘खोजी उद्दारमा खटिने जनशक्तिको व्यवस्थापनमा पनि प्रहरी र सेनासँगको सहकार्य हुनेछ ।’
छिमेकी जिल्ला पर्वतको कुश्मा र म्याग्दीको बेनी नगरपालिकासँग पनि सहकार्य गरेर तीन वटा नगरका तीनवटा दमकल तयारीमा राख्ने व्यवस्थापन पनि भएको हो । बागलुङ नगरपालिकाले केन्द्रमै दमकलमा कम्तिमा दुइ खेप स्वचालित मेसिनबाट पानी भर्ने व्यवस्था पनि गरेको छ । १२ मिनेटमा दमकल भरेर पठाउन सकिने गरी प्रविधि जडान भएको छ । नगरपालिकाको तर्फबाट २ जना विपत व्यवस्थापनका तालिमप्राप्त कर्मचारीसहित तीन जना चालक समेत यहीं बस्ने व्यवस्था गरिएकोले तत्काल उद्दारमा सहजीकरण हुने जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले बताए ।
‘एकीकृत खोजी उद्दारको काम गर्दा प्रभावकारी हुन्छ,’ थापाले भने, ‘यो अभ्यासले जनताले समयमा राहत र उद्दार पाउनेछन् ।’ यहाँ रहेको नेपाल प्रहरीको विपत व्यवस्थापन गुल्म तथा सशष्त्र प्रहरी बललाईपनि यो केन्द्रको सहकार्यमा जोडिएको हो । कार्यक्रममा नगर उपप्रमुख राजु खड्काले बिपतको बेला आम नागरिकले नगरको आश्रय पाउने गरी केन्द्र परिचालन हुने आश्वासन समेत दिए ।





