बागलुङ/एकता सहकारी संस्थाले चालुबर्ष २०८०/०८१ लाई रजत बर्षको रुपमा मनाउने भएको छ । स्थापनाको २५ बर्ष पुगेको अबसरमा संस्थाका क्रियाकलाप र सामाजिक सेवा प्रभावकारी बनाउने निर्णय गरेको अध्यक्ष धुूबप्रसाद शर्माले बताए ।
जिल्लाभर कार्यक्षेत्र रहेकोले सबै पालिकामा संस्थाको सेवा बिस्तार गर्ने सहकारीले लक्ष लिएको छ । सबै सेवालाई प्रविधि मैत्री बनाउने, दिगोपनाका योजना अगाडि सार्ने र सदस्य संख्या समेत बढाउने लक्ष राखिएको शर्माले जानकारी दिए ।
सहकारीले सोमबार बिशेष कार्यक्रम गरेर चालुबर्षलाई रजत महोत्सवको रुपमा लैजाने निर्णय गरेको हो । कार्यक्रममा संस्थाका संरक्षक पद्मचन्द्र राजभण्डारी र देवबहादुर श्रेष्ठले जिल्लाकै पुरानो संस्था भएकोले सहकारी आन्दोलनमा पनि नेतृत्वदायी भूमिका खेल्न सक्नुपर्ने सुझाव दिएका थिए ।
सहकारी संस्थामा हाल १ हजार ७ सय शेयर सदस्य छन् । संस्थामा ९ करोड ५० लाख शेयर पूँजि, २७ करोड बचत, ४ करोड जगेडा कोष, ३३ करोड कर्जा लगानीमा रहेको प्रबन्धक दिपकजंग राजभण्डारीले जानकारी दिए । सहकारी संस्था हाल बागलुङ बजारको आफ्नै भवनमा संचालित छ भने काठेखोला गाउँपालिका वडा नंं ५ को रिजालचोक, गलकोटको हटिया र उपल्लाचौरबाट पनि सदस्य सेवाकेन्द्र स्थापना गरेर संचालनमा छ ।
प्रबन्धक दिपकजंग राजभण्डारीका अनुसार आगामी चार बर्ष भित्र १५ हजार शेयर सदस्य बनाएर कारोबार गर्ने, बित्तिय र गैर बित्तिय क्षेत्र र सामाजिक अभियानमा पनि साथ दिने लक्ष राखिएको छ । यसैबीच गलकोट सेवा केन्द्रमा पनि बिभिन्न कार्यक्रम गरेर रजत जयन्तीको शुरुवात गरिएको छ । गलकोट नगरपालिका वडा नंं ३ का अध्यक्ष फमबहादुर खत्रीले सहकारीको अभियानको थालनी गरेका थिए । उनले सहकारी प्रति अविश्वास बढेको बेला एकताले बिश्वासको वातावरण बनाएको बताए ।





