बागलुङ/ गत असार २५ गते बिहान बागलुङ बजार नजिकै अपरिचित व्यक्तिबाट आँफु बलात्कृत भएको भन्दै कास्कीको पोखरा महानगरपालिकाकी एक युवतीले प्रहरीमा जाहेरी दिईन् । बागलुङ नगरपालिका–१ मालढुंगा नजिकैको जंगलमा प्रलोभनमा पारी बलात्कार गरेको प्रहरीमा दर्ता भएको जाहेरीमा उल्लेख थियो ।
हुलियासमेत राम्रोसँग याद नगरेकी युवतीको जाहेरीपछि प्रहरीले आरोपीको खोजी त थाल्यो, तर एकै दिनमा आरोपी फेला पर्लान् भनेर प्रहरी ढुक्क थिएन् । युवतीले बलात्कार गर्ने व्यक्ति युवा उमेरकै भएको बताएकी थिईन् । पीडितलाई न्याय दिलाउन प्रहरीले अनुसन्धान थाल्यो । युवतीको भनाई अनुसार प्रहरी अनुसन्धानको सहयोगी बन्यो मालढुंगामा जडान गरिएको सिसि क्यामेरा ।
मालढुंगा नजिकैको जंगल क्षेत्र घटनास्थल भएकाले प्रहरीले त्यहि क्षेत्रमा शंकास्पद व्यक्तिको खोजी थाल्यो । बलात्कार गरेका व्यक्ति त्यहाँबाट फरार भैसकेको भएपनि युवतीले दिएको सामान्य हुलियाका आधारमा सिसि क्यामेराले शंकास्पद आरोपी फेला पार्यो ।
‘हामीले शंकास्पद तस्विर सिसि क्यामेराबाट कैंद गरेका थियौं, जिल्लाभरी सर्कुलर भयो’ प्रहरी निरीक्षक राजाराम खड्काले भने ‘त्यही फुटेज र तस्विरकै आधारमा हामी आरोपी नजिकै पुग्यौं ।’ असार २६ गते साँझ गुल्मीको कालीगण्डकी गाउँपालिका–७ छापचौरका २८ बर्षिय बिमल हमाल बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराबाट पक्राउ परे ।
प्रहरीको केरकारमा आरोप अस्विकार गरेका हमालले सिसि क्यामेराकै फुटेज देखाएपछि घटनामा संलग्नता स्वीकार गरे । अहिले उनीबिरुद्ध जिल्ला अदालतबाट म्याद थप भएर अनुसन्धान भैरहेको छ । प्रहरीलाई सिसि क्यामेराले सघाएको यो पहिलो घटना भने होईन् ।
केही महिनाअघि बागलुङ नगरपालिका–१ माझीबस्तीकी फुलमाया माझीको हत्यामा संलग्नलाई पनि प्रहरीले सिसि क्यामेरा फुटेजकै आधारमा पक्राउ गरेको थियो ।
लामो समयपछि बागलुङ बजारभित्र सिसि क्यामेरा ब्यवस्थापन गर्ने काम पुनः सुरु भएपछि अपराध अनुसन्धान र नियन्त्रणमा सहज भएको हो । बागलुङ नगरपालिका र उद्योग बाणिज्य संघ बागलुङ तथा सुरक्षा निकायको सहकार्यमा बजार क्षेत्रमा क्यामेरा जडान गर्ने प्रक्रिया अघि बढाएका छन् । गत आर्थिक बर्षमा बागलुङ नगरपालिकाको १२ लाख रुपैयाँ अनुदान र उद्योग बाणिज्य संघको ३ लाख ५० हजार रुपैयाँको लागतमा बजारबाट भित्रिने र बाहिरिने मुख्य नाका तथा मुख्य चोकमा १३ वटा क्यामेरा जडान गरिएको छ ।
चालु आर्थिक बर्षमा थप १४ वटा सिसि क्यामेरा जडानका लागि प्रक्रियागत काम भैरहेको बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कँडेलले बताए । ‘बैंकर्सले १४ क्यामेराका लागि सहयोग गर्नुभएको छ, छिट्टै काम सकिन्छ’–कँडेलले भने ।
बागलुङ बजारमा १८६ क्यामेरा जडान गर्ने योजना छ । बानपा–१ मालढुंगादेखि वडा नं. ४ को तिरुपती चोकसम्म १५ लाख खर्चेर फाईवर बिच्छाउने काम सकिएको कँडेलले बताए । बहुबर्षिय योजना भएकाले क्रमैसँग क्यामेरा जडान हुने उनले बताए ।
‘प्रहरी कार्यालयमा कन्ट्रोल रुम बनाउनेदेखि फाईवर बिच्छाउनेसम्मका काम भैसकेका छन्’ उनले भने ‘अब पावर बक्स र क्यामेराका लागि मात्रै थोरै खर्चका काम बाँकी छन् ।’
बागलुङ बजारको शान्ति सुरक्षालाई मध्यनजर गरी बजारका विभिन्न चोकहरुमा पुनः सिसि क्यामेरा जडान गर्ने प्रक्रियाअघि बढेको हो । यसअघि बागलुङ बजारमा जडान भएका २९ वटा सिसि क्यामेरा तारबाट चल्ने भएकाले प्रयोगबिहिन छन् ।
नगरप्रमुख बसन्तकुमार श्रेष्ठ बागलुङ उद्योग बाणिज्य संघको अध्यक्ष रहेका बेला सिसि क्यामेरा जडान गरिएको थियो । नेपाल विद्युत प्राधिकरणले विद्युतका पोलहरु स्थानान्तरण गर्ने क्रममा बिग्रिएका र निकालिएका क्यामेरा पुनः जडान हुन नसक्दा बागलुङ बजारमा हुने आपराधिक घटनाको अनुसन्धानमा समस्या हुँदै आएको थियो ।
सिसि क्यामेराले बजारमा हुने चोरी र अपराधका घटना अनुसन्धानमा सहयोगी बन्ने प्रहरी निरीक्षक खड्का बताउँछन् । बजारक्षेत्र बिस्तार भैरहेको बानपा–४ को उपल्लाचौर र पाखाथरमा समेत मुख्य चोकमा क्यामेरा जडान गर्ने योजना छ ।





