बागलुङ/ जिल्लामा व्यवसायीक पशुपंक्षी पाल्ने किसानको संख्या बृद्धि भएको छ । आर्थिक बर्ष २०७८/०७९ को तुलनामा आर्थिक बर्ष २०७९/८० मा व्यवसायीक फार्म सञ्चालन गर्ने किसानको संख्या बृद्धि भएको हो ।
गत बर्षभन्दा आर्थिक बर्ष २०७९/८० मा जिल्लाभर ३७ वटा पशुपंक्षी फार्म थप भएका छन् । बैदेशीक रोजगारीबाट फर्केका, सरकारको लागत अनुदान पाएका र परम्परागत शैलीलाई व्यवसायीकतामा ढालेका किसानले फार्म बृद्धि गरेका हुन् ।
जिल्लाभर ७ सय ४७ फार्मले व्यवसायीक रुपमा पशु तथा पंक्षीजन्य उत्पादन गरिरहेका छन् । आर्थिक बर्ष २०७८/०७९ मा यो संख्या ७ सय १० मात्रै थियो । ‘किसानले विस्तारै व्यवसायीक बन्न सिक्नुभएको छ, व्यवसायीक उत्पादनले मात्रै आम्दानी गर्न सकिन्छ भन्ने चेतना किसानलाई छ’ भेटेरीनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र बागलुङका प्रमुख डा. ऋषिराम सापकोटाले भने ‘फार्महरुको संख्या बृद्धि हुनु खुसीको कुरा हो, फार्महरु बृद्धि हुँदा हामी मासु र दुधमा आत्मनिर्भर छौं ।’
उनका अनुसार बागलुङमा अघिल्लो आर्थिक बर्षमा सबैभन्दा धेरै बोईलर कुखरा फार्म थप भएका छन् । एकै आर्थिक बर्षमा १२ वटा फार्म थप हुँदा बोईलर कुखुरा फार्मको संख्या १ सय १९ पुगेको उनले बताए । व्यवसायीक रुपमा बाख्रा पाल्ने किसानको संख्यामा पनि उल्लेख्य बृद्धि भएको छ । गत आर्थिक बर्षमा मात्रै दशवटा व्यवसायीक बाख्रा फार्म सञ्चालनमा आएका छन् । बागलुङमा बाख्रा फार्मको संख्या १ सय ९७ पुगेको छ । गाई फार्म ७२, भैंसी फार्म ८५, भेडा फार्म २९ र बंगुर फार्म १ सय २ बाट बृद्धि भएर १ सय ७ पुगेका छन् ।
त्यस्तै, लेयर्स कुखुराको फार्म ३२, स्थानीय कुखुरा फार्म ४० र माछा फार्म ४९ पुगेका छन् । पशुजन्य उत्पादनका लागि आवश्यक घाँस फार्मको संख्या पाँच रहेको छ भने मिश्रित फार्म ७ वटा र अन्य पशुपंक्षी जन्य फार्महरु ३ वटा रहेका छन् ।
जिल्लाभर कुल ४३ हजार ६५ जना किसान पशुपंक्षी पालनमा संलग्न रहेको तथ्यांक केन्द्रसँग रहेको सापकोटाले बताए । ‘जिल्लाभर बाख्रा पाल्ने किसानको संख्या सबैभन्दा धेरै छ, गाईभैंसी, कुखुरा र बंगुर पाल्ने किसान क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा हुनुहुन्छ’ सापकोटाले भने ‘बिबिध कारणले फार्महरुको संख्या बढेको भएपनि पशुहरुको संख्या भने घट्दो छ ।’ बंगुर, गाई, कुखुरा लगायतमा संक्रामक रोगको प्रभाव लगायतका कारण संख्या घटेको सापकोटाले बताए ।
पशुपंक्षी जन्य फार्मको बिस्तारसँगै बागलुङ दुध र मासुमा आत्मनिर्भर भएको छ । दुई लाख ४९ हजार २ सय ११ जनासंख्या रहेको जिल्लामा प्रतिव्यक्ति बार्षिक ९१ लिटर दुधको आवश्यकता हुनेमा जिल्लाभरको उत्पादनको हिसाजले प्रतिव्यक्ति ९२.५ लिटर दुध उपलव्ध हुन्छ । ४८ अण्डा प्रतिव्यक्ति प्रतिबर्ष आवश्यकता हुनेमा ४४ अण्डा मात्रै जिल्ला उत्पादनले पुग्ने गरेको सापकोटाले बताए ।





