बागलुङ/ राज्यको सेवा सुविधा उपभोग गर्नेदेखि अधिकार प्राप्तिको सबालमा दलित महिला अझै पछाडि परेको सरोकारवालाले बताएका छन् । उनीहरुले अहिले पनि दलित महिलालाई विभेदमा पारिएको गुनासो गरेका छन् ।
समान कामको समान ज्याला नपाउने, जातीय रुपमा पनि विभेदमा पार्ने, अवसरबाट पटक–पटक बञ्चित पार्ने र शिक्षा तथा स्वास्थ्य सेवा प्रवाहमा पनि दलित महिलाले अवसर नपाउने उनीहरुको गुनासो छ । दलित महिला संघ, बागलुङको आठौँ जिल्ला अधिवेशन तथा दलित महिलाका सवालमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रियामा सहभागि दलित महिलाले समाजमा अझै पनि हिंसा पीडितजस्तै व्यवहार खेप्नु परेको गुनासो गरे ।
‘एकपटक हिंसामा परेकाले बरु धेरैको सहानुभूति पाएर पछि प्रगति गर्न सक्छन्, हामीले सधैं हिंसा सहनुपर्छ,’ पवित्रा सुनारले भनिन्, ‘दलित भएको कारण सहेका हिंसा कहेर सकिँंदैन,’ उनले भनिन्, ‘पछिल्लो समय केही कमी आए पनि हिंसाका स्वरुप फेरिएका छन् ।’
अर्का सहभागी तुलसी परियारले पनि दलित महिलाको राजनीतिमा प्रतिनिधित्व भए पनि अधिकारविहीन जस्तै भएको बताइन् । उनले कार्यपालिकाको सदस्य वा वडा सदस्य बनाइए पनि अधिकार नभएको सदस्य बन्नु परेको धारणा राखिन् ।
कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले दलित समुदायले पछाडि परेका छौं भन्ने धारणा त्याग्नुपर्ने बताए । उनले केही गरौं भन्ने भावना र सिर्जनशील काममा सक्रियता बढाउन सबैलाइ आग्रह गरे । नगरपालिकाको तर्पmबाट पनि आर्थिक विकास हुने कार्यक्रम र बजेट विनियोजन गर्न तयार रहेको भन्दै सोही प्रकृतिका कार्यक्रम बनाएर ल्याउन आग्रह गरेका थिए ।
समान कामको समान ज्यालाका लागि नगरपालिकाले पहल गर्ने उनले बताए । उनले उपभोक्ता समितिले गरेका काममा पनि समान ज्याला दिएको रेकर्ड नभएसम्म भुक्तानी नदिने सोच बनाइएको भन्दै विभेद अन्त्य गर्ने सबै प्रकारका सूचक पूरा गर्ने जिकिर गरे । भारतीय कामदारका कारण नेपाली कामदार श्रमको शोषणमा परेको गुनासो आएको भन्दै पीडित हुनेमा पनि दलित महिला हुने गरेकोले नगरको ध्यान गएको उनको भनाइ थियो ।
दलित महिला संघ बागलुङकी अध्यक्ष सरस्वती हरिजनको अध्यक्षता, सावित्री नेपालीको संचालन र संगिता बोहराको स्वागतमा सम्पन्न कार्यक्रममा दलित महिला संघकी गण्डकी प्रदेश अध्यक्ष सुमित्रा गायक, बागलुङ नगरपालिका वडा नंं २ का अध्यक्ष सुरज बोसेल, नेपाल दलित संघका जिल्ला अध्यक्ष ताराबहादुर बिक, दलित मुक्तिमोर्चा केन्द्रीय सचिव टिकाकुमारी बिक लगायतले दलित महिलाको अधिकारका लागि राज्यले कडा कानूनी व्यवस्था लागू गर्नुपर्ने धारणा राखेका थिए ।
कानून उल्लंघन गर्नेलाई कारवाही गर्ने अवस्था नभएसम्म पीडितले न्यायसमेत नपाउने धारणा राखेका थिए । उनीहरुले दलीत महिलाहरु अधिकारबाट सधैं बञ्चित भैरहेकोले उनीहरुको सशक्तिकरणमा समान चासो र चिन्तन चाहिने सुझाव दिए ।
अधिवेशनले सरस्वती हरिजनकै अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुनिता परियार, सचिवमा सावित्रा नेपाली र कोषाध्यक्षमा सावित्रा सुनार चयन भएका हुन् । सदस्यहरुमा बिष्णु बिक गलकोट २, बिष्णु बिक बानपा १, समीक्षा मिजार, अमृता वराइली थापा, संगीता बोहोरा चयन भएका छन् । त्यस्तै टीकाकुमारी बिक, टिकामाया बोहरा र गंगा छिनाल दर्जी रहेको तीन सदस्यीय सल्लाहकार समितिसमेत गठन भएको हो ।





