बागलुङ/ रोट्रयाक्ट क्लब अफ बागलुङले सोमबारको अबसरमा उपल्लाचौरस्थित गौरीधाम पुग्ने भक्तजनलाई निशुल्क मेहेन्दी लगाइदिएका छन् । उनीहरुले साउनको महत्वबारे जानकारी गराउने र भक्तजनलाई रोट्रयाक्ट क्लबको सामाजिक योगदानबारे जानकारी दिन यो कार्यक्रम गरेको बताए ।
सोमबार बिहानैदेखि मन्दिरमा पुगेका भक्तजनलाई हातमा महेन्दी लगाइदिएर रंगाइदिएका थिए । भक्तजनले पनि हातमा मेहेन्दी लगाएर खुसी भएका थिए । साथै उनीहरुले रोट्रयाक्ट क्लबको सामाजिक योगदानबारे पनि जान्न पाएको बताए । यो अभियानमा आइटिसी ब्यूटीसियन तालिम केन्द्रका विद्यार्थीले पनि सघाएका थिए ।
उक्त अबसरमा रोटरी क्लब अफ बागलुङकी सचिव अनिता घिमिरेले युवाहरुलाई सामाजिक काममा लगाउन गरिएका प्रयासमध्ये धार्मिक क्षेत्रका भक्तजनसँगको भेटघाट पनि महत्वपूर्ण भएको बताइन् । रोट्रयाक्ट क्लब अफ बागलुङकी अध्यक्ष सुस्मिता केसीको अध्यक्षता र सचिव तारा केसीको संचालनमा भएको कार्यक्रममा गौरीधाम शिवमन्दिरका अध्यक्ष राजेन्द्र बिसीले पनि शुभकामना दिएका थिए ।





