पोखरा/ नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले ललिता निवास तथा भुटानी शरणार्थी तथा पछिल्लो सुन काण्डमा सत्ता गठबन्धनकै व्यक्ति संलग्न भएको आरोप लगाएका छन् । यी प्रकरणमा बदलाको भाव देखाएर फाइल खोलिएको र वास्तविक दोषीलाई उन्मुक्ति दिने प्रपञ्च रचिएको उनको भनाइ छ ।
आफ्नै हात फोहोर छ अनि अरु सफा गर्छु भनेर हुन्छ ? शरीरभरी हिलो लिएर सफा गर्छु भन्नु हुँदैन । अहिले राजनैति प्रतिशोध साँध्नका लागि भ्रष्टाचारका फाइल खोलिएको छ,’ पोखरामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘ सुन प्रकरण पनि २२ पटकसम्म कसरी बाहिरियो ? यहाँ प्रशासन देखिएन । विमास्थलको सुरक्षा गृहको हुन्छ । अनि त्यही गृहको कर्मचारीको बीचबाट कसरी पास भयो ?’
उनले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठकै कारण सुन विमानस्थलबाट बाहिरिएको जिकिर गरे । गृहमन्त्रालयअन्तर्गतको सुरक्षा घेराबाट बाहिरिएर राजस्व विभागले पक्राउ गरेको सुनलाई देखाउँदै गृहमन्त्री नारायणकाजी श्रेष्ठ चर्चामा आउने काम गरेको उनको आरोप थियो ।
‘सबै चेक जाँच गरेर बाहिर आउँदा फेलिएर ( गृहमन्त्रालय) देखिएन । अनि गृहका एकजनाले ठूलो कुरा गर्दैछन् कसैलाई छाड्दिन र,’ गृहमन्त्रीतर्फ लक्षित गर्दै उनले थपे, ‘काम गर्ने हो कसैलाई धम्काउने होइन् । २१ पटकसम्म बाहिर नआएको कुरा २२ औं पटकमा कसरी बाहिर आयो ? अनि भन्सार, सुरक्षा निकायका हाकिम एकै पटक बिदामा बस्नु चाहिँ के हो ?
यसलाई संयोग मानाँै वा के त्यो सबैले बुझ्छन ।’ भ्रष्टाचारको छानविनमा इमान्दारिता नदेखिएको भन्दै उनले लडाकु शिविर प्रकरणलाई समेत खोल्नुपर्ने बताए । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताको लाभमा परराष्ट्र नीति असन्तुलित बनाएको पनि उनको आरोप थियो । बुधबार कास्कीको लुम्लेमा हुने गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन पोखरा आएका ज्ञवालीले पत्रकार सम्मेलनमा बोल्दै वर्तमान सरकारले सत्तामा टिकिराख्नका लागि हल्ला बढी गरेको बताए । पत्रकार सम्मेलनको आयोजना प्रेस चौतारी कास्कीले गरेको थियो ।





