बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङमा पूँजीगत खर्च बढ्यो

बागलुङमा पूँजीगत खर्च बढ्यो


  • ढोरपाटन संवाददाता
  • साउन १० २०८०, बुधबार

बागलुङ/ अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०७९/०८० मा बागलुङको संघीय अनुदान बजेटको पूँजीगत खर्च बढेको छ । अंकमा मात्र नभई खर्च गर्न सक्ने क्षमतामा पनि वृद्धि भएको देखिएको हो ।

अघिल्लो आर्थिक वर्ष ५८ प्रतिशतमात्रै खर्च गर्न सकेको पूँजीगत कोष आब २०७९/०८० मा ७२ प्रतिशत पुगेको हो । पूँजीगत बजेट अघिल्लो वर्ष १ अर्ब ५४ करोड २६ लाख ९२ हजार रुपैयाँ रहेकोमा ८९ करोड ८५ लाख ५८ हजार रुपैयाँ खर्च भएको थियो । पछिल्लो वर्ष २ अर्ब ३३ करोड ८३ लाख रहेको बजेटमा १ अर्ब ६८ करोड २० लाख खर्च भएको छ ।

जिल्लाको चालु खर्च भने अघिल्लो वर्षको तुलनामा पछिल्लो वर्ष २ प्रतिशतले घटेको छ । कर्मचारी कटौतिलगायतका कारणले उक्त खर्च कम भएको हो । अघिल्लो वर्ष ९४ प्रतिशत चालु खर्च भएकोमा पछिल्लो वर्ष ९२ दशमलब ९२ प्रतिशत भएको हो । चालु र पूँजीगत समेतको कुल खर्चमा पनि अघिल्लो वर्षको तुलनामा पछिल्लो वर्ष १ प्रतिशत खर्च भएको देखिएको हो ।

तर, प्रदेश सरकारबाट विनियोजित बजेट तर्फको खर्च भने कम देखिएको छ । अघिल्लो वर्ष ८७ प्रतिशत खर्च भएकोमा पछिल्लो वर्ष ७३ प्रतिशत भएको हो । अघिल्लो बर्ष २ अर्ब ९ करोड पूँजीगत बजेटमा १ अर्ब ८४ करोड खर्च भएको थियो । पछिल्लो वर्ष भने २ अर्ब ४१ करोड बजेटमा १ अर्ब ७७ करोड खर्च गरेर ७३ प्रतिशत प्रगति गरेको देखिन्छ । चालुतर्फ भने अघिल्लो वर्षको तुलनामा खर्च बढेको छ । अघिल्लो वर्ष ७९ करोड ६ लाखमध्ये ५९ करोड ६ लाख मात्रै खर्च भएकोमा पछिल्लो वर्ष ७६ करोड १२ लाख बजेटबाट ६१ लाख ७७ हजार खर्च भएको हो । अघिल्लो वर्ष ७४ प्रतिशत खर्चमा बढेर पछिल्लो वर्ष ८१ प्रतिशत पुगेको हो ।

राजश्वतर्फ पनि अघिल्लो वर्षको तुलनामा संघ र प्रदेश दुवैतर्फको राजश्व बढेको छ । अघिल्लो बर्ष संघियत राजश्व १ अर्ब ३ करोड ९७ हजार राजश्व उठेकोमा पछिल्लो वर्ष १ अर्ब २१ करोड ९ लाख र प्रदेशतर्फ १४ करोड राजश्व उठाएकोमा पछिल्लो वर्ष २४ करोड राजश्व उठाएको हो । अधिकांश राजश्व असार महिनामा उठ्ने गरेको कोष नियन्त्रक जब्बरबहादुर भण्डारीले बताए ।

कार्यक्रममा भण्डारीले कोष तथा लेखा नियन्त्रण कार्यालयबाट २ हजार २१८ जनालाई पेन्सन व्यवस्थापन गराएको जनाएको छ । एक वर्षमा निजामतितर्फ ६५५, प्रहरीतर्फ ४४०, सेनातर्फ ५ १५, शिक्षक ६०८ जनाको निवृत्तिभरण व्यवस्थापन गराएको जनाइएको छ ।

अन्तरक्रियामा प्रमुख कोष नियन्त्रक धर्मभक्त बस्यालले नेपाल सरकार र प्रदेश सरकारको महालेखा नियन्त्रकको प्रतिनिधि भएर खर्च व्यवस्थापनमा सहयोग गरेको बताए । उनले विशेष सूत्रमार्फत् सबै पालिका र सबै सरकारी कार्यालयलाई खर्च नियन्त्रण गर्न र राजश्व संकलन तथा समयमा सेवा प्रवाह गर्न सघाएको बताए ।
समयमा खर्च नभएमा सचेत बनाउने काम कोष तथा लेखा नियन्त्रण कार्यालयले गर्ने गरेको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय रानाले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->