बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

८० वर्षे वृद्धलाई जेल !

८० वर्षे वृद्धलाई जेल !


  • ढोरपाटन संवाददाता
  • साउन ११ २०८०, बिहिबार

बागलुङ/जेष्ठ नागरिकसम्बन्धी ऐन २०६३ को दफा १२ ले जेष्ठ नागरिकलाई कैद सजाएमा छुट दिएको छ । तर, बागलुङ प्रहरीले ८० वर्षे नागरिकलाई पक्राउ गरेर कारागार चलान गरेको छ ।
२२ वर्षअघिको लागूऔषधसम्बन्धी मुद्दामा २ वर्ष कैद सजाए तोकिएका निसीखोला गाउँपालिका वडा नं. ६ का ८० वर्षीय मेरसिं घर्तीलाई आइतबार जेल पठाएको प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए । घर्ती आफ्नै घरमा थिए । फरार सूचीमा देखिएपछि घर्तीलाई प्रहरीले आइतवार पक्राउ गरेर ल्याएको थियो ।

फरार सूचीमा रहेका घर्ती घरमै बसेको अवस्थामा भेटिएका निसीखोला–६ कै ५६ वर्षीय मतबहादुर घर्तीलाई पनि कारागार पठाइएको हो । ५६ वर्षीयलाई कारगार पठाए पनि ८० वर्षकालाई जेल पठाउन नहुने कानून व्यवसायीले बताए । ऐनले सरकारवादी भइ चलेको कुनैपनि मुद्दामा जेष्ठ नागरिक भएमा कसुर हेरेर सजाय छुट दिने व्यवस्था रहेको छ ।

दफाले ६५ वर्षको भए २५ प्रतिशत, ७० वर्षको भए ५० प्रतिशत र ७५ वर्षको भए ७५ प्रतिशतसम्म कैद सजाए छुट दिने व्यवस्था छ । अशक्त भएमा पूरै छुट दिएर हेरचाह केन्द्रमा राख्न सकिने उल्लेख छ । ८० वर्षीय घर्ती लट्ठी टेकेर मात्रै हिँड्न सक्ने र वृद्ध भएकोले हेरचाह केन्द्रमा राख्नुपर्ने अधिवक्ता भूमिश्वर गौतमले बताए ।

घर्तीलाई २०५८ चैत २३ गते जिल्ला अदालत कपिलवस्तुले २ बर्ष जेल सजाए तोकेको थियो । घर्तीविरुद्ध गाँजा ओसारपसारमा संलग्न भएको भन्दै परेको मुद्दामा अदालतले सजाए तोकेको थियो । तर, उनी त्यतिबेला पक्राउ परेका थिएनन् ।

बागलुङ कारागारका प्रमुख दिलबहादुर केसीले नराख्ने कानूनी आधार नभेटेपछि जेल पठाइएको बताए । ‘८० वर्षे भएकोले ७५ प्रतिशत छुट हुन्छ होला,’ उनले भने, ‘असक्त भन्ने आधार भएमा मात्रै अन्य व्यवस्था हुनेछ, नत्र तत्काल उहा जेलमै रहने अवस्था हुन्छ ।’ सबै वास्तविकता नखुलेको भन्दै जेल सजाए भएको बेला तारेखमा छुटेर फरार भएको हुन सक्ने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->