बागलुङ/बागलुङ बजारमा बिक्री वितरण भैरहेको दुग्धजन्य पदार्थहरुको गुणस्तरका विषयमा उपभोक्ताको गुनासो आएपछि नियमनकारी निकायले निगरानी बढाएका छन् । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बागलुङ नगरपालिका, खाद्यप्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च लगायतका नियमनकारी निकाय सक्रिय भएका हुन् ।
बिहीबार बिहानै उपभोक्ताले दुध खरिद गर्नुपूर्व अनुगमन टोली दुग्ध उद्योग तथा बिक्री केन्द्रहरुमा पुगेको थियो । दूधबाट बनेका पनिर, बटर, छुर्पी, घिउ र खुल्ला तथा प्याकिङ गरिएको दूधको विषयमा जानकारी लिन अनुगमन गरिएको थियो ।
सदरमुकाममा अधिकांश डेरी पसल रहेको र उद्योग कम रहेकाले मुकाम बाहिरबाट दूध ल्याएर बिक्री हुने गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । ‘उपभोक्ताले मध्यराति फोन गरेर दुग्धजन्य पदार्थको विषयमा गुनासो गर्नुभयो, हामी तत्काल एक्सनमा गयौं’ बरालले भने ‘खुल्ला आँखाले कमजोरीहरु फेला परेनन् तर परीक्षणबाट नतिजा आउन बाँकी छ ।’ सदरमुकामका एक वटा उद्योग र तीन वटा बिक्री केन्द्रको अनुगमन गरेको टोलीले दुई ठाउँमा मात्रै दूध तथा दुग्धजन्य पदार्थ भेटेको थियो ।
‘बिक्रि केन्द्रहरुमा दूध आइपुग्ने बेलानै भएको रहेनछ, भएका ठाउँहरुबाट गुणस्तरको विषयमा पत्ता लगाउन नमुना लिएका छौं,’ खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका प्रमुख सौरभ श्रेष्ठले भने ‘नमूनाहरु पोखरा पठाइएको छ, नतिजा आएपछि आवश्यक कारवाही हुन्छ ।’





