बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

खाल्डैखाल्डाले लोकमार्गमा जोखिम

खाल्डैखाल्डाले लोकमार्गमा जोखिम


  • ढोरपाटन संवाददाता
  • साउन १३ २०८०, शनिबार

बागलुङ/ गलकोट नगरपालिका वडा नंं ३, ४ र ७ को मुख्य सडकमा खाल्डै खाल्डा छन् । मध्यपहाडी लोकमार्गमा पर्ने यो सडक खण्डको लागि गत वर्षदेखि नै मर्मतको ठेक्का लगाइएको हो । तर अहिलेसम्म मर्मत भएको छैन ।

सडक मर्मत नहुँदा यात्रा समेत जोखिमको भएको छ । मर्मत गर्ने आयोजनाले काम ढिला गरेपनि स्थानीयले आरोप भने नगरपालिकालाई लगाउने गरेका छन् । सार्वजनिक सुनुवाइको क्रममा होस् वा सामाजिक संजालमा लेखेर होस् अधिकांशले नगरपालिकाले सडक मर्मत नगरेर जोखिम बनाएको आरोप लाग्ने गरेको हो ।

सडकछेवैका खाल्डाले सवारी साधन गुड्ने बेलामा ठोकिने गरेका छन् । बर्षातमा पानी जम्दा सडक भत्कन थालेको गलकोट नगरपालिका वडा नंं ३ का अध्यक्ष फमबहादुर खत्रीले बताए । सडक कालोपत्रे गरेको दशक भैसकेकोले सबै भत्केको छ । खाल्डैखाल्डा भएकोले हिउँदमा धुलो र बर्षातमा हिलो भएर सास्ती खेप्नु परेको खत्रीले बताए । ‘नगरपालिकाले लगानी गर्दा बेरुजू हुने, नगर्दा जनताको गुनासो आउने,’ खत्रीले भने, ‘आयोजनाले गर्ने काममा ढिलाइ गर्दा सास्ती हामीले खेप्नु परेको छ ।’ लोकमार्गले सडक विभागलाई समेत यो खण्ड अझै हस्तान्तरण गरेको छैन । हस्तान्तरण पनि पनि राजमार्गको खण्ड बनाउने जिम्मा सडककै हुन्छ । पालिकाले लगानी गर्दा दोहोरो खर्च बेरुजू निस्कन्छ ।

मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले गत वर्ष ५१ करोड रुपैयाँमा सडकको मर्मत गर्न ठेक्का लगाएको थियो । तर, ठेक्काले दुदिलाभाटीमा मात्रै काम गरेको हो । नरेठाँटी बजारमा अझै पनि सडक जीर्ण छ । लोकमार्गको ठेक्का लिएको जोशी निर्माण सेवाले पहिलो खण्डको भुक्तानी लिइसकेको छ तर झाँक्रीस्थान, काफलठूटा र नरठाँटीतर्पmको सडकमा महिनादिन नबित्दै कालोपत्रे उप्केको हो । कतिपय स्थानमा खाल्डा परेर पानी जम्न थालिसकेको छ । सडकमा खाल्डा देखिन थालेको र गाडी गुड्दा कालोपत्रे उप्केपछि स्थानीयले कामको गुणस्तर बारे प्रश्न उठाएका छन् । ‘कालोपत्रे गरेर सकिएको छैन, उप्किन थालेको छ, करोडौं खर्चेको बेकाम भएको छ,’ स्थानीय धना खत्रीले भनिन्, ‘गुणस्तरहीन काम गर्नेलाई कारवाही गर्नुपर्छ ।’ कालोपत्रे काम सकेको केही दिनबाटै उप्किन थालेको हो ।

कालोपत्रे उप्किएको बारे आयोजनाको कुश्मा कार्यालयका सूचना अधिकारी पवन सुवेदीले अनुगमन गरेर ठेकेदारलाई काममा लगाउने बताए । ‘गुनासो त आएको छ, हामीले पनि अनुगमन गरेर के भएको हो बुझ्छौं,’ सुवेदीले भने ‘एकवर्ष सम्मको मर्मत गर्ने जिम्मा ठेकेदारको हुन्छ ।’ ठेकेदारलाईनै बिग्रे भत्केको काम लगाउने उनले बताए । गलकोट नगरपालिका वडा नंं २ का अध्यक्ष हिमबहादुर भण्डारीले निर्माण सामाग्रीनै कमजोर प्रयोग भएको आरोप लगाए । उनले सडक कालोपत्रे गर्ने बेलामा आयोजनाले प्रभावकारी अनुगमन गर्न नसकेको बताए ।

आयोजनाले बागलुङ खण्डमा मात्रै २ अर्ब ७५ करोड खर्च गरेको छ । उक्त रकम मध्ये २ अर्ब ४० करोड मुख्य ठेक्कामा काम गरेको हो भने अहिले सम्म ३५ करोड रुपैयाँको मर्मतमा भुक्तानी गरिसकेको हो । गलकोटको हटिया र मल्म खण्डमा काम शुरु नभएकोले केही बजेट बाँकी रहेको उनले बताए । २०७१ बाट तत्कालिन ग्रामीण सडकको ट्रयाकमा लोकमार्ग आयोजनाले काम थालेको थियो । सबै ठेक्का २०८० असार मसान्तमा सकिनुपर्नेमा केही खण्ड बाँकी रहेको उनले बताए । लोकमार्गकै घोडाबाँधे देखि चौराहा तर्फको ३ किमी सडक ढलान गर्नुपर्ने भएकोले आचार्य, बिके ओखलढुंगा संयुक्त निर्माण कंपनीले ७ करोड रुपैयाँको लागतमा काम गरिरहेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->