बागलुङ/बागलुङका क्रियाशिल लायन्स क्लबहरुको अगुवाइमा बलेवा स्थित प्रसिद्ध भैरवस्थान मन्दिर परिसरमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेका छन् । क्लबहरुले बलेवा भैरवस्थान मन्दिर व्यवस्थापन समितिलाई सरसफाइका सामाग्री समेत सहयोग गरेका छन् ।
लायन्सक्लब अफ बागलुङ कालिका, लायन्स क्लब अफ बागलुङ पिस टाउन र लायन्स क्लब अफ बागलुङ गाजा हिलको संयुक्त आयोजनामा वृक्षा रोपण कार्यक्रम सम्पन्न भएको लायन्स क्लब अफ पिस टाउनकी सचिव यशोधा शर्माले जानकारी दिइन् । मन्दिर परिसरमा धार्मिक महत्व बोक्ने बर, पिपल, धुपी, धुपीसल्ला, रुद्राक्ष, स्वामी, बेल, अशोक र रिठा सहित औषधिजन्य हर्रो, बर्रो र अम्बा तथा अमला, टिमुर, लालुपाते, बंगलामुखी, गुलाब लगायतकाफूलका बिरुवा पनि रोपिएको थियो ।
उक्त अभियानमा लायन्स क्लब अफ बागलुङ भैरव र लियो क्लब अफ बागलुङ कालिकाकाका प्रतिनिधि पनि सहभागि थिए । भैरव मन्दिरको गरिमा बढाउन प्रचार प्रसार गर्ने, धार्मिक पर्यटनको बिकासमा पहलगर्ने लगायतका काममा पनि क्लबहरुले मन्दिर व्यवस्थापन समितिलाई साथ दिने बताएका छन् ।
वृक्षारोपण कार्यक्रमकै समय पारेर लायन्स क्लब अफ बागलुङ पिस टाउनकी द्वितिय उपाध्यक्ष एलिजा गौतमले ५ वटा कुर्सी, सचिव यशोधा शर्माले ३ वटा कुर्सी र बानपा १४ का रामबहादुर केसीले १० थान कुर्सी सहयोग गरेका थिए । यस्तै लायन्स क्लब अफ बागलुङ कालीकाका सदस्य अशोक सुनारले भैरवस्थान मन्दिर व्यवस्थापन समितिलाई कम्प्युटर, प्रिन्टर र फोटोकपी मेसिन सहयोग गर्ने उद्घोष गरेका थिए ।
लायन जमुना थापाको अध्यक्षता, लायन नारायण पौडेलको संचालन र लायन नारायण श्रेष्ठको स्वागतमा सम्पन्न कार्यक्रममा बानपा १३ का अध्यक्ष नारायण शर्मा पौडेल, वडा नंं १२ का अध्यक्ष कोपिलामणी शर्मा, डिस्ट्रक लिगल काउन्सिलर लायन चन्द्रराज रेग्मी, जोन चियरपर्सन बद्री ढुंगाना, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकाल र कोषाध्यक्ष चन्द्रबहादुर केसीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।





