बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

काम गर्ने किसानलाई प्रविधि न अनुदान

काम गर्ने किसानलाई प्रविधि न अनुदान


  • ढोरपाटन संवाददाता
  • साउन १४ २०८०, आइतबार

बागलुङ/ उनको घर बागलुङ नगरपालिकाभित्रै हो । तर उनले अहिलेसम्म नगरपालिकाको कार्यालय समेत देखेका छैनन् । काम बिशेषले बजार झर्ने बेलामा मात्रै उनले वडा कार्यालय पनि देखेका छन् ।
बागलुङ नगरपालिका–५ मालिकाको पञ्चासेका भुवानीशंकर शर्मा र उनका दाजुभाइले कृषि पेशा गरेका छन् । न उनीहरुले राज्यको अनुदानबारे थाहा पाएका छन्, न त कृषिमा प्राविधिक सहयोग नै पाए । बरु आफ्नै मेहेनतले उनीहरुले कृषि उत्पादनमा अब्बल बनिरहेका छन् ।

भुवानी शंकरका दाइ भीमप्रसाद र भाइ भानुभक्तले पनि राज्यका निकाय, प्राविधिक सहयोग र अनुदानबारे जान्न नपाएको बताए । वडा कार्यालय पुग्ननै एक घण्टा लाग्ने भएकोले उनीहरु काम नपरी वडा अध्यक्ष र जनप्रतिनिधिलाई भेट्न नगएको बताए । वडा र नगरपालिकाबाट सेवा प्रवाह हुन्छ भन्ने उनीहरुलाई थाहा छैन ।

तीनभाइ मिलेर बरु बारीमा प्रसस्त किवी लगाएका छन् । चार वर्षदेखि लगाएको किवीले बजार भने पाउन सकेको छैन । ‘अरुले प्रतिकेजी १ हजार रुपैयाँ पनि पाएको बताएका छन्, हामीले बजार खोज्न सकेका छैनौं,’ भुवानीशंकरले भने, ‘दुई– तीन सय रुपैयाँ पार्न सके पनि राम्रो हुने थियो ।’ तीन भाइको २४ रोपनी जमिनमा ४ सय बढी किवी लगाएका छन् । प्रतिगोटा ३ सयमा खरिद गरेर उनीहरुले रोपेका थिए ।

अहिलेसम्म उनीहरुको बारीमा प्राविधिकसमेत नपुगेकोले कसरी लगाउने भन्ने जानकारी नपाएको बताए । कृषि शाखाका प्रमुख सुवास सापकोटाले शर्माका दाजुभाइले मेहेनत धेरै गरेको तर प्राविधिक सेवा नपाएकोले धेरै मर्कामा परेको बताए । ‘समयमा प्राविधिक सहयोग पाएको भए उहाँहरुले चारपाँच वर्षमा लाखौं कमाइ गरिसक्नुहुन्थ्यो तर दुःख मात्रै पाउनु भएको रहेछ,’ सापकोटाले भने, ‘अब कृषि क्षेत्रमा आउने लगानी उहाँहरुको खेतबारीमा पनि पु¥याउने प्रयास गर्छौ ।’

विशेषगरी किबी, ओखर र अलैची खेतीमा अब्बल किसान भएपनि प्राविधिक सेवा नपाएर लगानी धेरे गरेर थोरै प्रतिफल मात्रै लिन सकेको उनले बताए । भुवानीशंकरले ३० वटा ओखरको बोट लगाएर फल्ने बनाइसकेका छन् । झण्डै ४ रोपनीमा अलैचीखेती पनि लगाएका छन् ।

अहिले पनि उनीहरुले दर्जनौं मौरीघार बनाएका छन् । १ हजार ९ सयदेखि २ हजार मीटरको उचाइ भएकोले किवी, ओखर र अलैची सबै खेती संभावना छ । तर अग्ला रुख कटान गर्ने, घामलाग्ने पारिलो बनाएर खेती गरेमा तीनभाइले बर्षको १० लाखबढी कमाइ नगदेबालीबाटै गर्न सक्ने सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->