गत बैशाख जेठमा करोडौं खर्चेर ढलान गरिएका दुइ वटा घुम्ती भाँसिएका छन् । घोडाबाँधेदेखि गलकोट तर्फको सडक खण्डको चौराहाका दुइ घुम्ती भाँसिएका हुन् । ती घुम्तीको ढलान सडकसमेत चिरा परेको छ ।
बागलुङ/ केही दिन अघिदेखिको बर्षातपछि मध्यपहाडी लोकमार्गका निर्माणाधिन र निर्माण सकिएका घुम्ती तथा सडक भत्केका छन् । कतै सडकनै चिरा परेको छ भने ठूला ढुंगा खसेर जोखिम बढाएको छ ।
बिशेषगरी बागलुङदेखि घोडाबाँधे र गलकोट सम्मको यात्रा जोखिमको बनेको हो । काठेखोला वडा नं. १ को खण्डमा ठूला–ठूला पहिरो खसेका छन् भने बाटो हिलाम्मे बनेको छ । बिहुँमा पनि दर्जनौ पहिरो खसेर सडक साँघुरो भएको छ । ठूला ढुंगा छलेर सवारी साधन गुड्नुपर्ने भएको हो । तर लोकमार्ग आयोजना कार्यालयले यहाँको पहिरो पन्छाउने काम गरेको छैन । गत बैशाख जेठमा करोडौं खर्चेर ढलान गरिएका दुइ वटा घुम्तीसमेत भाँसिएका छन् ।
घोडाबाँधेदेखि गलकोट तर्फको सडक खण्डको चौराहाका दुइ घुम्ती भाँसिएका हुन् । ती घुम्तीको ढलान सडकसमेत चिरा परेको छ । ‘यस्तो अवस्थाले जुनसुकै बेला सडकमा दुर्घटना हुन सक्छ’ गलकोटका सामाजिक अगुवा मन्जेसबम मल्लले भने, ‘सडक भत्किंदा मानवीय क्षति हुन सक्छ ।’ राजनीतिक नेतृत्व र स्थानीय तहले ठेकेदारलाई जिम्मेवार बनाउने र आयोजनालाई पनि उत्तरदायी बनाउन पहल गर्नुपर्ने उनले सुझाए ।
काम लगाएको मध्यपहाडी लोकमार्ग आयोजनाले गम्भिर बिषयमा चासो नराखेको स्थानीयको गुनासो छ । यहाँको २० किमी खण्डको मर्मतका लागि जोशी निर्माण सेवाले ठेक्का लिएको थियो । कतिपय स्थनको कालोपत्रे उप्केको छ । ‘करोडौं खर्चेको सडकबारे चासो नराखिनु गम्भिर हो’ वडा नं. २ का अध्यक्ष हिमबहादुर भण्डारीले भने, ‘कुनैपनि बेला लोकमार्ग अबरुद्ध हुने खतरा छ ।’ गत बर्ष यी घुम्ती मर्मत नहुँदा बाढी पसेर गलकोट नगरपालिका–१ र २ का सयौं रोपनी खेतको अन्नबाली नष्ट भएको थियो । अहिले पनि बनेको दुइ महिना नबित्दै सडक भत्केको हो ।
५१ करोड खर्चेर मर्मत गरिएको सडक खण्डमै खाल्डा परिसकेको छ । कतिपय स्थानमा पहिरो खसेर जोखिम भएको छ । लोकमार्गको मनेवापाटा भन्ने स्थानमा पहिरो खसेर निर्माणाधिन दरमखोला जलविद्युत आयोजनाको पाइपलाइन समेत भाँचेको छ । पानी नबग्दैको पाइपलाइन भाँचिएकोले सडकम साँघुरो भएको छ । पानी राखेपछिको घटना भएमा ठूलो दुर्घटना हुन सक्ने स्थानीय सुर्दशन नेपालीले बताए । सडकलाई गुणस्तरको बनाउने र सुरक्षित राख्ने बिषयमा आयोजनाले चासो नराखेको उनले टिप्पणी गरे ।
मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले गत आर्थिक बर्ष ५१ करोड रुपैयाँमा सडकको मर्मत गर्न ठेक्का लगाएको थियो । ठेक्कामा पक्की
नालीसमेत निर्माण गर्ने योजना थियो । उक्त योजना अनुसार काफलठुटामा पक्की नाली, पक्की पर्खाल बनाइएको छ । झाँक्रीस्थान र चौराहामा भने पक्की नाली बनाइएको थिएन । बरु ढलान गरेको खोल्सोबाट पानी तर्काइएको थियो ।
आयोजनाका सूचना अधिकारी पवन सुवेदीले काम गरेको एक बर्ष सम्मको जिम्मा ठेकेदारमा हुने बताए । केही भएमा ठेकेदारलाई खबर गरेर काम गर्न लगाउने उनले बताए । वडा नं. १ का बमबहादुर गुरुङले सडकको गुणस्तरबारे आम नागरिकको चासो कम भएको बताए । ‘कस्तो बन्दैछ भनेर घरछेउकै सडक नहेर्ने उपभोक्ता पनि दोषी छन्’ उनले भने, ‘अब नागरिक सचेत नभएसम्म ठेकेदारले गुणस्तरहिन काम गर्ने र आयोजनाले स्विकृत दिने भैरहन्छ ।’ सडकको गुणस्तरबारे आयोजनाले पनि लापरबाही गरेको उनले टिप्प्णी गरे ।





