बागलुङ/ नगरका मुकाम रहेका बजार क्षेत्रको सडक फराकिलो बनाउनका लागि बागलुङ र जैमिनी नगरपालिकाले सक्रियता बढाएका छन् । जिल्ला सदरमुकाम समेत रहेको बागलुङ बजारमा नगरपालिकाले सडकको क्षेत्राधिकारभित्र रहेका संरचना हटाउन सार्वजनिक सूचना गरेको हो । जैमिनी नगरपालिकाले गत आर्थिक वर्षमा नै पालिका मुकाम रहेको कुश्मीशेरा बजारका दर्जनौं कच्ची तथा पक्की संरचना भत्काएको थियो ।
बागलुङ नगरपालिकाले सोमबार अन्तिम पटकको सूचना भन्दै साउन मसान्तसम्म सडक मापदण्डमा पर्ने संरचना हटाउन अनुरोध गरेको छ । संरचनाहरु तोकिएको समयमा नहटाएमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४५ को उपदफा ४ बमोजिम भदौ १ गतेदेखि नगरपालिकाले हटाउने उल्लेख गरिएको छ ।
सडक क्षेत्राधिकार भित्र बने÷बनाइएका घर, टहरा, पर्खाल, ट्रस, छाना, रेलिङ, अव्यवस्थित रुपमा टिकट काउन्टरलगायत अन्य स–साना व्यवसाय गर्ने टंकी जस्ता संरचनाहरु तथा सडकमा राखिएका निर्माण सामग्रीहरु रड, सिमेन्ट, साइनबोर्ड हटाउन नगरले अनुरोध गरेको हो ।
सडकमै बनेका संरचनाका कारण पैदल यात्रु र सवारी साधन समेतलाई असहज भएको, वातावरण तथा नगरको सौन्दर्यतामासमेत प्रतिकुल असर पु¥याएको सूचनामा उल्लेख छ ।
सडक क्षेत्राधिकार भित्रका त्यस्ता संरचना हटाई शहरी सौन्दर्यकरणलाई दीगो व्यवस्थापन गरि सफा सुन्दर र हराभरा बागलुङ नगर निर्माणको अभियानमा सहयोग गर्न नगरबासीलाई अनुरोध गरिएको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए ।
नगरपालिकाले यसभन्दा अघि ९० दिनको म्याद राखि सूचना प्रकाशन गरेको थियो । यद्धपी त्यस्ता संरचना नहटाईएपछि अन्तिम पटक भन्दै पालिकाले सूचना निकालेको हो ।
जैमिनी नगरपालिकाले पनि पटक पटक सूचना गरेर सडक मापदण्डमा पर्ने संरचना हटाएको हो । जैमिनी नगरपालिकाको कुश्मीशेरा बजारका अधिकांश संरचना स्थानीय आँफैले हटाएका थिए । ‘हाम्रो बजार क्षेत्रका अधिकांश कच्ची तथा पक्की घर मापदण्ड कार्यान्वयनको मारमा परे, केही घर त पुनः प्रयोग गर्न नमिल्नेगरी फालिएका छन्,’ जैमिनी नगरपालिका–१ कुश्मीशेराका वडाअध्यक्ष विष्णु आचार्यले भने ‘पालिका मुकाम भएकाले कुश्मीशेरा बजारबाटै सडक मापदण्ड कायम गराउने काम सुरु भएको हो ।’ जैमिनी नगरपालिकाले मुकामको मुल सडक ८ मिटर र भित्री सडक ६ मिटर कायम हुनुपर्ने मापदण्ड बनाएको छ । कुश्मीशेरा बजारका स्थानीयले आफ्नै सकृयतामा अधिकांश संरचना हटाएकाले नगरपालिकाले संरचना भत्काउन नपरेको आचार्यले बताए ।
बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाले साघुरा सडकका कारण दुर्घटनाको जोखिम बढेको भन्दै पटक–पटक सडक पेटीमा कुनै पनि व्यावसायिक सामग्री नराख्न आग्रह समेत गर्दै आएका थिए । कुश्मीशेरा बजारमा कार्यान्वयन भएको नगरको निदेर्शन बागलुङ बजारमा भने अटेरी भएपछि पछिल्लो साता बागलुङ नगरपालिकाले सडक नै कव्जा गर्नेगरी राखिएका सामग्री जफतसमेत गरेको छ ।





