बागलुङ/ समय सुहाउँदो प्रविधिमैत्री पठनपाठनका लागि सामुदायीक विद्यालयहरुको संरचनाको आवश्यकता शिक्षकहरुले महशुश गर्न थालेका छन् । सरकारी तथा गैरसरकारी क्षेत्रबाट शिक्षकहरुको क्षमता विकास भैरहेको भएपनि समय सुहाउँदो प्रविधिमैत्री शिक्षाका लागि संरचना तयार नभईसकेको शिक्षकहरुको गुनासो छ ।
जैमिनी नगरपालिका–२ दमेकका शिक्षक टिकाराम सापकोटाले भने– ‘हामी शिक्षक सुचना प्रविधि र सञ्चारमा अब्बल हुनका लागि तालिम लिईरहेका छौं, तर त्यसको प्रयोग विद्यालयमा गर्ने वातावरण हुनुपर्यो, म सरोकारवालाको ध्यानाकर्षण गराउन चाहन्छु ।’
जैमिनीकै शिक्षक सिता सुवेदी पौडेलले स्रोत साधनसहित शिक्षकलाई पठनपाठनमा लगाउनुपर्ने बताईन् । उनले भनिन्– ‘बिना हतियार तालिम र अनुभवले मात्रै लडाईं जितिन्न, प्रबिधिमैत्री शिक्षाका लागि शैक्षिक वातावरण प्रविधिमैत्री बनाईयोस् ।’
जैमिनीका प्रमुख नरबहादुर पुनले बदलिँदो समयसँगै बदलिएको सिकाईलाई सबैले आत्मासाथ गर्नुपर्ने बताए । नेपालमा प्रविधियुक्त शिक्षा दिँदा पनि उत्पादित जनशक्ति विदेशीनुको विकल्प नभएको उनको भनाई थियो । ‘विद्यार्थीका लागि जीवनउपयोगी शिक्षाको आवश्यकता छ, हामीले कक्षा १२ पास गरेपछि विदेश जान तयार हुने जनशक्ति होईन उत्पादनसँग जोडिने जनशक्तिको उतत्पादन गर्न आवश्यक छ’ पुनले भने ।
तालिममा जैमिनीका ३३ विद्यालयका ३३ जना शिक्षक सहभागि थिए । बिवाईसी बागलुङले आयोजना गरेको तालिममा सिकाई परियोजना भिएसओ र हेम्पल फाउण्डेसनले सहयोग गरेका थिए । तालिमको समापन समारोहमा बोल्दै भिएसओका कार्यक्रम संयोजक ससबहादुर बुढाथोकीले प्रबिधिलाई कक्षा कोठासम्म पुर्याउन आवश्यकता रहेको बताए ।
बिवाईसीका अध्यक्ष मणिभद्र शर्माले सिक्ने र सिकाउने क्रम सधैं चलिरहने चक्र भएको बताए । तालिमको सहजिकरण सूचना प्रबिधि बिज्ञ डा. दिर्घराज जोशीले गरेका थिए । समापन समारोहको सञ्चालन रमेश शर्माले गरेका थिए ।





