बागलुङ/लामो समय देखि सामाजिक पेशामा आबद्ध रत्नाखर गौतम बागलुङ नगरपालिका वडा नंं ११ रायडाँडाको वडा मेलमिलाप केन्द्रका संयोजक भएका छन् । नगरपालिकामा सूचीकृत मेलमिलाप कर्ता भएकोले उनको संयोजकत्वमा केन्द्र गठन भएको हो ।
अब गाउँबाट सामान्य विवाद हुँदा कोही पनि सदरमुकाम धाउनु पर्दैन । गौतमको संयोजकत्वमा गठिन ४ सदस्यीय केन्द्रलाई वडा कार्यालयमै एक छुट्टै कोठाको व्यवस्थापन भएको वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले बताए । । ‘मेरो गाउँबाट सामान्य विवाद लिएर सदरमुकाम आउँदा बासै बस्नुपर्ने, हजारौं खर्च हुने अवस्था छ,’ ज्ञानेन्द्र गौतमले भने, ‘यतिन्जेल समस्या भोगेपनि अब सहज हुने छ ।’ मेलमिलाप नभएका बिबाद मात्रै अब कानूनी प्रक्रियामा जाने उनले बताए । संघीयताले दिएको सबैभन्दा नजिकको न्यायिक निरुपणको स्थान पनि मेलमिलाप केन्द्रनै भएको उनको बुझाइ छ ।
गतवर्ष बागलुङ नगरपालिकाले केही वडामा मेलमिलाप केन्द्र स्थापना गरिसकेको थियो । तर ती केन्द्र संचालनमा थिएनन् । सूचिकृत मेलमिलापकर्ता थोरै भएको, केन्द्रको रुपमा स्थापना भएर काम गर्ने वातावरण नभएको कारण प्रभावकारी थिएनन् । अब भने यसअघि गठन भएका वडामा पनि पुर्नगठन भएको हो । ‘अब १४ वटै वडामा मेलमिलाप केन्द्र गठन भएका छन्, वडा भित्रको विवाद अव वडामै समाधान हुन्छ’ उपप्रमुख राजु खड्काले भने, ‘मेलमिलापकर्ताको पुनर्ताजगी तालिम सहित श्रोत साधनले पनि व्यवस्थित बनाइने छ ।’ खड्का सहित समितिका पदाधिकारी सबै वडामा पुगेर केन्द्र गठन भएका हुन् ।
बागलुङ नगरपालिकाले जस्तै जैमिनी नगरपालिकाले पनि सबै वडामा मेलमिलाप केन्द्र गठन गरेको छ । हरेक वडामा कम्तिमा ३ जना आधारभूत तालिम पाएका मेलमिलापकर्ता रहेकोले केन्द्र स्थापना गरिएको हो । साउन महिना लागेपछि उपप्रमुख हरिहर शर्मा नेतृत्वको समितिले वडावडामा पुगेर केन्द्र स्थापना गरेको हो । ‘एक–दुईवटा पहिले नै थिए, अहिले बाँकी सबै वडामा केन्द्र बनायौ’ जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले भने, ‘अब वडा तहमै धेरैजसो बिबादको समाधान हुनेछ ।’ औपाचारिक रुपमा मेलमिलाप केन्द्र संचालनमा आएकोले नागरिकको न्यायिक समस्या सहज र सरल रुपमा समाधान हुने आसा लिएको शर्माले बताए । उनले मेलमिलाप र न्यायिक सहजीकरणकालागि जैमिनी नगरपालिका क्रियाशिल रहने समेत प्रतिवद्धता जनाए ।
पछिल्लो समय न्यायिक समितिमा मुद्दाहरु घट्दो क्रममा छन् । मेलमिलाप हुन सक्ने मुद्दा समेत प्रहरी मार्फत आउने गरेको तथ्यांक भेटिएपछि नगरपालिकाहरुले मेलमिलाप केन्द्र स्थापनामा जोड दिएका हुन् । मेलमिलापमा जान सक्ने बिबाद लिएर प्रहरीमा पुग्दा नागरिकको खर्च बढ्ने, आपसी मनमुटाब बढी हुने भएकोले वडा तहमा टुंगो लगाउने अबस्था सिर्जना गर्न पालिकाहरुले अभियान चलाएका हुन् उपप्रमुखसहित न्यायिक समितिका पदाधिकारी पुगेर वडा मेलमिलाप केन्द्र स्थापना भएको उनले बताए ।
मेलमिलाप केन्द्रमा विवाद समाधान गरेपछि मुद्दा बनेर अदालतमा नआउने उच्च अदालत बार एसोसिएसन बागलुङका पूर्वअध्यक्ष निरन्जनलाल राजभण्डारीले बताए । अधिवक्ता भएपनि राजभण्डारीले अदालतका मुद्दामा पनि मेलामिलाप गराउने काम गर्छन् । ‘नेपालमा यो नयाँ अभ्यास भएकोले थोरै मात्र विवाद समाधान भएका छन्,’राजभण्डारीले भने, ‘बिदेशमा धेरै सफल अभ्यास भएका छन् ।’ स्विजरल्याण्डमा हरेक वर्ष अदालतमा जाने ८० प्रतिशत भन्दा धेरै मुद्दा मेलमिलाप हुने गरेको तथ्यांक छ ।





