बागलुङ / काठेखोला गाउँपालिका-५ बिहुँमा रहेको सामुदायिक भवनको सभाहल भरी गर्भवती र हजार दिनका सुत्केरी आमाहरु जम्मा भएका थिए । उनीहहरु कसैको काखमा स–साना बच्चाहरु थिए भने कसैको गर्भमा ।
झण्डै ४०÷५० जना आमाहरुको जम्मा भएको हलको अघिल्लो भागमा निस्किएकी सरिता कँडेलले आफ्नो एक वर्ष नपुगेकी छोरीलाई भुँइमा बसेर स्तनपान गराइन् । बिहुँ स्वास्थ्य चौकीकी अनमी सरिता विश्वकर्माले सिकाए अनुसार नै उनले बच्चा समाइन्÷स्तनपान गराइन् । सबै आमाहरुले ध्यान दिएर हेरे ।
आमा बन्नु संसारकै सबैभन्दा उत्कृष्ट अनुभूति हो । अनुभूति गरिसकेका र आमा हुँदै गरेका सबैलाई स्तनपान गराउने विषय नौलो थियो । स्तनपान गराइरहेका आमाहरुले समेत चासोका साथ स्तनपान गराउने विधि हेरिरहेका थिए । बिहीबार सामुदायिक भवनको सभाहलमा पुग्नुअघि परम्परागत रुपमा नै स्तनपान गराइरहेकी सापकोटाले पनि नौलो अनुभव गरिन् । आफू र बच्चा दुबैलाई सहज भएको महशुस गरेको सुनाइन् ।
‘स्तनपान आमा र बच्चा दुबैका लागि विभिन्न कारणसहित लाभदायक हुन्छ । आमाको दूधमा बच्चाका लागि आवश्यक पौष्टिक तत्व पाइने गर्दछ, जसले बच्चाको स्वास्थ्यमा प्रतिकूल असर पु¥याउनुका साथै विकासमा सहयोग पु¥याउँछ ।बजारमा पाइने खाद्य पदार्थको तुलनामा आमाको दूध पचाउन सजिलो हुन्छ र यसमा रोग प्रतिरोधी क्षमता पनि बढी हुन्छ । जसले तपाईंको बच्चाको प्रतिरक्षा प्रणालीको निर्माण गरेर यसलाई सुदृढ गर्न सहयोगी भूमिका खेल्दछ । स्तनपानका लागि अभ्यास आवश्यक छ,’ स्वास्थ्यकर्मी सरिता उपस्थित आमाहरुलाई सुनाउँदै थिइन्,‘दुध चुसाउँदा आफ्नो र बच्चाको आसनको विषयमा पनि ख्याल गर्नुपर्छ ।’
बिहुँकै सुधा सापकोटा, लक्ष्मी श्रीषलगायतका आमाहरुले बच्चालाई स्तनपान गराइरहेका थिए तर अस्पतालमै सुत्केरी हुँदासमेत पहिलोपटक स्तनपान गराउन निकै समस्या भएको उनीहरुले सुनाए । पहिलो बच्चा हुने महिलाहरुलाई स्तनपानको उपयुक्त विधि थाहा नहुँदा समस्या हुने गरेको उनीहरुले सुनाए । सभाहलमा उपस्थित भएका गर्भवतीहरुले सन्तान हुनुअघि नै स्तनपानको विषयमा जान्न पाएकोमा खुसी व्यक्त गरे । बिहुँ स्वास्थ्य चौकी र ग्रामिण स्वास्थ्य सुधार परियोजनाले संयुक्तरुपमा स्तनपानसम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेर आमाहरुलाई स्तनपानको विषयमा जानकारी गराएका थिए । स्तनपान सप्ताहको अवसरमा कार्यक्रम आयोजना गरिएको हो ।
‘देख्दा–सुन्दा समान्य लाग्ने र आमाहरुले सधैं गरिरहेकै काम हो तर स्तनपानको बिषयमा जानकारी नहुँदा धेरैजसो पहिलो बच्चा भएका आमाहरु समस्यामा परेको देखेका भोगेका छौं,’ परियोजनामा काम गर्ने अनमि मनिसा श्रीसले भनिन् ‘दुई तीनवटा बच्चा भइसकेका आमाहरुले समेत उपयुक्त तरिकाले स्तनपान गराउन नजान्दा समस्या हुने गरेको छ ।’
पछिल्लो समय बागलुङमा स्तनपानसम्बन्धी सचेतना बिस्तारै आमाहरुमा पुग्दै गएको उनले सुनाइन् । पहिलो बच्चा हुने आमाहरुले सोधखोज गरेरै स्तनपान गराउने प्रचलन पनि सुरु भएको छ । हरेक दुई वा तीन घण्टामा बच्चालाई स्तनपान गराउने, प्रत्येक स्तनबाट १० देखि १५ मिनेट दूध पिलाउने, दिनमा कम्तीमा १२ पटक स्तनपान गराउने र स्तनपान गराउँदा आमा र बच्चाको शारीरिक स्थिति कस्तो हुने भन्ने विषयमा उनले आमाहरुलाई जानकारी गराएकी थिइन् ।





