बागलुङ/एक सातादेखि सडक फराकिलो बनाउने अभियान थालेको बागलुङ नगरपालिकाले बुधबारदेखि मापदण्ड नपुगेका सडक छेउका संरचना पनि भत्काउन थालेको छ ।
बुधवार बानपा ३ को शान्टि टोल चौडा बनाउने काम गरेको नगरपालिकाले बिहीबार बिहानै आफ्नै कार्यालय रहेको आबारोडको पर्खाल भत्काएको छ । तत्कालीन जिल्ला कृषि बिकास कार्यालयमा नगरपालिका सरेको थियो । उक्त कार्यालयको पर्खाल भत्काएपछि नगरपालिकाले आफ्नो क्षेत्रबाटै सडक चौडा पार्ने अभियान थालेको सन्देशसमेत दिएको छ ।
मुख्य सडक, शाखा सडक र गल्लीमा तोकिएका मापदण्ड पूरा गर्न कतिपय संरचना भत्काउने तथा कतिपय स्थानमा सडक बनाउने काम समेत सुरु भएको हो । अभियान थाल्न बिहीबार नगरप्रमुख बसन्तकुमार श्रेष्ठ र उपप्रमुख राजु खड्का डोजर लगाउने स्थानमै उपस्थित थिए । कार्यालय अगाडि ९ मिटर सडक कायम गर्न पर्खाल भत्काइएको थियो ।
बिहीबार नै नगरप्रमुख बसन्तकुमार श्रेष्ठको घर बाहिर लगाइएको कम्पाउण्ड पर्खाल भत्काउन प्राविधिकले चिन्ह लगाइदिएका छन् । नया“ बनेका घरमा सडक बाहेक डेढ मिटर सेटब्याक छाडेर मात्र बनाउन पाउने नगरको नियम बनेको छ । उक्त नियम आफैंबाट पालना गर्न श्रेष्ठले आफ्नै घरको पर्खाल भत्काउने तयारी गरेको बताए । ‘मेरो घर मापदण्डबाट भित्र बनेको छ, बाहिर पर्खाल थियो, त्यो पनि भत्काउँदैछौं,’ श्रेष्ठले भने, ‘पुराना घरहरु अगाडि छन्, ती संरचना भत्काउन केही कठीन भएको छ ।’ संभव हुनेसम्मका घरटहरा भने भत्काएर सडक चौडा पार्ने उनले बताए ।
साथै एक सातादेखि सडक पेटीमा राखिएका ठेलागाडा र होर्डिङ बोर्डहरु हटाइएको छ । सडक चौडा बनाउने अभियानमा नगरबासीले पनि साथ दिएका छन् । व्यवस्थित बजारकालागि बागलुङ बजारमा हरेक दिन एकतर्फी नो पार्किङको व्यवस्था गरिएको छ । मोटरसाइकलहरु हरेक दिन एकतर्फी मात्र राख्न पाउने व्यवस्था गरेपछि यात्रा सहज बन्दै गएको यात्रीले बताएका छन् ।
बजार भित्र ठूला गाडीलाई दिउसोको समयमा हिड्न समेत रोक लगाइएको छ । बिहान ९ बजे भित्र ढुवानीका ट्रक, ट्रयाक्टर लगायतका साधन गुड्न पाउँछन् । दिउसो बजारमा प्रवेश गरेमा कारवाही गरिन्छ । यहाँको शान्तिटोलबाट सडक चौडा गर्ने काम पनि सुरु गरिएको बागलुङ नगरपालिका वडा नंं ३ का अध्यक्ष शनि केसीले बताए ।
बजार व्यवस्थापन समितिका संयोजक अर्जुन घिमिरेले सडक अतिक्रमण गरेका, कुलो, नहर मिचिएका र अव्यवस्थित रुपमा बनेका सबै संरचना भत्काइने बताए । त्यसकालागि नगरपालिकाले गत मंसिर ११ गतेदेखिनै काम थालेको हो । मंसिर ११ गते ९० दिने सूचना जारी गरेर मापदण्ड तोकेको थियो । त्यसपछि १५ दिने र ७ दिने सूचना पनि जारी भैसकेको छ । भदौ १ गतेसम्म अझै अन्तिम समय दिएर घरटहरा वालालाई नै भत्काउने जिम्मा दिएको नगरपालिकाले त्यसपछि अटेर भएमा डोजर चलाउने घिमिरेले बताए । नगरपालिकाले एकदुइ दिन भित्रै सबै भत्काउनुपर्ने संरचनामा चिन्ह लगाइ सक्ने र भदौ १ गते सम्म घरधनीलाई नै भत्काउन लगाउने भएको छ । त्यसपछि पनि नभत्केमा डोजर लगाएर भत्काउने काम हुनेछ ।





