पोखरा/ नेकपा एमालेका सचिव गोकर्ण विष्टले सत्ताको स्वार्थ बाझिने गरी सुन तस्करी भइरहेको बताएका छन् । त्रिभुवन विमानस्थलबाट सयौं किलो सुन बिना अनुमति नेपाल भित्रिने काम सत्ताको संलग्नता बिना सम्भव नभएको उनको जिकिर थियो ।
सुन तस्करीका बिषयमा अनुसन्धानको माग गर्दा प्रतिपक्षमा रहेको दलविरुद्ध सत्तामा रहेका दलहरुले चौतर्फी घेराबन्दी गरिरहेको उनले बताए । विष्टले सत्ताको संलग्नता बिना सुन तस्करी भएको भए सरकार उच्चस्तरीय छानविन समिति बनाउनका लागि तयार हुनुपर्ने बताए । उनले सदन अवरुद्ध गर्ने एमालेको कुनै मनसाय नरहेको भन्दै सुन तस्करीको जालो तोड्नका लागि एमालेले उच्चस्तरीय छानविन समितिको माग गरिरहेको बताए ।
नेकपा एमाले प्रचार तथा प्रकाशन बिभाग गण्डकी प्रदेशले आयोजना गरेको योजना तर्जुमा विस्तारित बैठक एवम् प्रचार कार्यशालाको पोखरामा उद्घाटन गर्दै विष्टले एमाले राष्टियता र जनजीविकाका पक्षमा काम गर्ने पार्टी भएकाले चौतर्फी घेरावन्दी भएको आरोप लगाए ।
कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारी, थममाया थापा, प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलगायतले बोलेका थिए ।





