
बागलुङ/ कुनै पनि घर बनाउँदा समेत खोला तर्काउने चलन छ । बाढी र पहिरोबाट सुरक्षित स्थानमा घर बनाएर ढुक्क हुन खोज्दा धेरैले सुरक्षित स्थानमा घडेरी खोज्दै हिँड्छन् । तर, निसीखोला गाउँपालिकाले खोलामै जोडेर अस्पताल बनाएको छ ।
बाढी आउँदा अस्पताललाईनै जोखिम पुग्ने गरी अस्पतालको घर बनिरहेको हो । जोखिम स्थानमा अस्पतालको भवन बनाउने गाउँपालिकाले जग्गा छनोटमा अनियमितता भएको स्थानीयको आरोप छ । यो अस्पताल बनाउने स्थानमा पुग्ने सडकसमेत छैन । सुरक्षित हुनुपर्ने अस्पताल नै जोखिममा बनाइएकोमा स्थानीयले आश्चर्य व्यक्त गरे । ‘खोला बढेर आउँदा यो अस्पतालमै पस्यो भने के हालत होला ?,’ स्थानीय देवेन्द्र पौडेलको प्रश्न छ, ‘करोडौंको लगानी जोखिममा प¥यो ।’ अस्पतालको ¥याम त अझै खोला पस्न सक्ने गरी बनाइएको छ ।
वडा नंं ३ र ४ को बीचमा अस्पताल भवन निर्माणाधिन छ । स्थानीयबाट जग्गा उपलब्ध भएपछि पालिकाले तीन वर्षअघि भवनकोलागि ठेक्का लगाएको अध्यक्ष सूर्यबहादुर घर्तीले बताए । १० करोड ९९ लाख रुपैयाँको लागतमा निर्माणाधीन भवन पौस मसान्तमा सक्नुपर्नेछ । यो १० शैयाको अस्पताल हो । ‘बाहिरी आबरणमा हेर्दा काम सकिएजस्तो भएपनि धेरै बाँकी छ,’ घर्तीले भने, ‘भवन त राम्रो बनेको छ, तर खोलालाई राम्रैसँग तर्काउनु पर्छ ।’ खोला पस्ने डरले पालिकाले थप लगानी गरेर खोला छेउमा पक्की पर्खाल लगाउन थालेको बताए । चालु वर्षमात्रै गाउँपालिकाले २० लाख खर्चेर खोला छेउमा पक्की पर्खाल निर्माण थालेको छ । घर्तीले आफू आउनुअघि नै जग्गा छनोट गरेर भवन ठेक्का दिएको बताए ।
भौगोलिक रुपमा पालिकाको मध्यभागमा परेको र मध्यपहाडी लोकमार्गबाट नजिक भएकोले यो अस्पताल बनाइएको घर्तीले बताए । ‘यसअघि नै निर्माण थालनी भएको थियो, यसअघिको कार्यपालिकाले काम थालेको हो,’ उनले भने, ‘हामी आएपछि पनि भवन छिटो सक्न ताकेता गर्दै आएका छौं ।’ ‘हिमदुङ एसी आइएस’ संयुक्त निर्माण कंपनीले यो भवन बनाउने ठेक्का लिएको हो । गाउँपालिकाले ९ रोपनी जग्गा उपलब्ध गराएपछि संघीय सरकारले भवन निर्माणका लागि बजेट निकासा गरिदिएको हो ।
उक्त जग्गाको बारेमा सुरुवातमा पनि जोखिम हुने टिप्पणी उठेपछि प्रमुख जिल्ला अधिकारीसहितको टोली पुगेर अनुगमन गरेको थियो । पर्खाल लगाएर सुरक्षित राख्न सकिने भन्दै सुझाव पाएपछि भवन बनाउन दिइएको स्थानीयले बताए । इन्जिनियर समुन्द्र शाहीले भवनलाई पक्की र सुरक्षित बनाउने गरी काम भएको दाबी गरेका छन् । ‘झट्ट हेर्दा खोला छेउमा भएपनि जमिन पक्की छ, लामो समयदेखि बाढीले यहाँ कुनै क्षति गरेको छैन,’ शाहीले भने, ‘केही तटबन्धन गरेर थप सुरक्षित बनाउने लक्ष्य छ ।’ उनले भवनको ८५ प्रतिशत भौतिक प्रगति भएको दावी गरेका छन् ।
निसीखोलाको ७ वटा वडामध्ये ३ वटामात्रै स्वास्थ्यचौकी छन् । उपचारकालागि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा धाउनुपर्ने बाध्यता छ । अस्पताल खोज्नुपरेमा अधिकांश पाल्पा पुग्छन् । यहाँका तीनवटै स्वास्थ्यचौकी धेरै बिरामी परीक्षण गर्नेमा पर्छन् । वडा नंं ४ को बोहोरागाउँ स्वास्थ्यचौकीमा प्रसुती व्यथाका मात्रै वार्षिक ४ सय बढी बिरामी आउने गरेको तथ्यांक छ । जटिल अवस्था भएका तथा अपरेशन गर्ने बिरामीलाई सिधै पाल्पा पठाउनुपर्ने बाध्यता छ ।
गाउँपालिकाले कम्तिमा एक विशेषज्ञ डाक्टरसहित आधारभूत उपचार र सुत्केरीसेवाको अपरेशन समेत गराउन सक्ने गरी अस्पताल संचालनमा ल्याउने लक्ष राखेको घर्तीले जानकारी दिए । ‘दक्ष चिकित्सक राख्न सकेमा हामीले अपरेशन सहितको सेवा दिन सकिन्थ्यो,’ उनले भने, ‘जनसंख्याको कारणपनि यहा“ अस्पताल आबस्यक छ ।’ जोखिम न्यूनीकरणका लागि खोलामा बाँध लगाएर भएपनि सुरक्षित बनाउने उनले बताए ।
मध्यपहाडी लोकमार्ग छेवैमा भएपनि खोला तरेर जानुपर्ने भएपछि अप्ठ्यारो भएकोले तत्काल पुल निर्माण गर्नुपर्ने छ । गाउँपालिकाले तत्काल ट्रस्ट पुल बनाउन सर्भे गरेको शाहीले जानकारी दिए । २३ मिटर लामो ट्रस्टब्रिजको नक्सांकन गरेर प्रदेश सरकारमा रकमकालागि पठाइएको हो । भवन बनिसक्दा ट्रस्ट पुल पनि बनाएर संचालनमा ल्याउने लक्ष्य उनले सुनाए । लोकमार्ग कालोपत्रे भइसकेकोले वडा नंं ६ को भलकोटदेखिका बिरामी पनि एक घण्टामै अस्पतालमा आउन सक्ने गरी भौगोलिक दूरी मिलाइएको घर्तीको दावी छ ।





