बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

डेंगी परीक्षण गर्न धौलागिरी अस्पतालमा किट अभाव

डेंगी परीक्षण गर्न धौलागिरी अस्पतालमा किट अभाव


  • ढोरपाटन संवाददाता
  • असोज २३ २०८०, मंगलबार

बागलुङ / धौलागिरि अस्पतालमा सोमबार उपचारार्थ आएका ३० जनाको रगत परीक्षण गर्दा ८ जनामा डेंगी संक्रमण भेटियो । डेंगीसँगै लक्षण मिल्ने ज्वरो, टाउको र जीउ दुख्ने लक्षण भएका बिरामीलाई मात्र अस्पतालले डेंगी परीक्षण गराउँछ । तर अस्पतालमा दैनिक ३० देखि ५० जनाको परीक्षण गर्न किटको समेत अभाव हुन थालेको छ ।

किट अभाव भएपछि अस्पतालले सिकिस्त भएर आएका बिरामीलाई मात्र डेंगी परीक्षण गराउन थालेको प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. रविरञ्जन प्रधानले बताए । अत्यावश्यक सामग्री भए पनि अहिले डेंगी परीक्षणको किट नभएको उनले गुनासो गरे ।

‘हामीलाई दैनिक ५० बढी किट आवश्यक परेको छ, तर अस्पतालमा छैन‚’ उनले भने, ‘माग गरेको छौं‚ आइपुगेको छैन ।’ अस्पतालले ५ सय किट माग गरेको छ । गण्डकी प्रदेशमा चालु वर्ष डेंगी सबैभन्दा बढी महामारीको रुपमा तनहुँ देखिएको थियो । मन्त्रालयबाट सबै साधन स्रोत तनहुँ पठाइएकाले तत्काल बागलुङका लागि व्यवस्थापन हुन गाह्रो हुने जवाफ आएको उनले बताए ।

बागलुङमा अस्पतालमा आउने कुल बिरामीको ३० प्रतिशत ज्वरोका मात्रै आएको तथ्यांक छ । ‘दैनिक ५ सय जनासम्म बिरामी आइरहेका छन्, ती मध्ये ३० प्रतिशत ज्वरोका छन्‚’ उनले भने, ‘अहिलेको महामारी भएकाले सबैको डेंगी परीक्षण गर्न चाहे पनि सकिएको छैन ।’ अस्पतालमा आइतबारसम्म परीक्षण गरेकाहरुमा १ सय ३९ लाई डेंगीका संक्रमण पुष्टि भएको छ ।

बागलुङको बुर्तिवाङ, बडिगाड र गलकोट क्षेत्रमा डेंगीका बिरामी धेरै भेटिएको स्वास्थ्य कार्यालय बागलुङकी जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले बताइन् । उनका अनुसार संक्रमण फैलाउने लामखुट्टे खोज र नष्ट गर अभियान चलाएर संक्रमण रोक्ने प्रयास नभएको होइन । तैपनि दैनिक बिरामी बढेका छन् ।

‘हामीले टायरमा जमेको पानी हटाउने र ग्यारेजको फोहोर सफाइमा ध्यान दिएका छौं‚’ उनले भनिन्, ‘पूजा गर्न राखेको कलशमा पानी नफेर्दा समेत डेंगी सार्ने लामखुट्टेको फुल भेटियो ।’ घरभित्रैबाट डेंगी संक्रमण बढेको उनले बताइन् ।

स्वास्थ्यकर्मीको सर्भेक्षण अनुसार कात्तिक महिनामा अझै संक्रमण बढेर जाने सम्भावना छ । वर्षायाम सकिएको र पानी जमेका स्थानको सफाइ पुरा नहुँदा संक्रमण बढ्ने जनाइएको छ ।

परीक्षण किट व्यवस्थापनका लागि स्वास्थ्य कार्यालयले समेत पहल गरेको छ । तर किटको आयात नै कम भएकोले महामारी भएको क्षेत्रमा बढी पठाइएको हो । किट व्यवस्थापनकालागि जिल्ला दैवीप्रकोप उद्धार समिति तथा मनसुनजन्य विपद् व्यवस्थापन समितिले पहल गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा सबै पालिकाका जनप्रतिनिधि, कार्यालय प्रमुख तथा स्वास्थ्य, रेडक्रस र धौलागिरि अस्पतालका पदाधिकारीले पनि महामारी नियन्त्रणमा चासो राखेका छन् ।

चाडपर्वमा बढ्न सक्ने महामारीप्रति सचेत हुने र परीक्षणको दायरा बढाउन तत्काल किट तथा औषधिहरुको भण्डारन बढाउनुपर्ने उनीहरुले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->