पोखरा/ नेपालका लागि जापानी राजदूत किकुता युताका र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यबिच भेटवार्ता भएको छ । प्रमुख आचार्यको कार्यकक्षमा भएको भेटवार्तामा दुईपक्षिय मित्रवत् सम्बन्ध, सहयोग तथा साझेदारी लगायतका विषयहरुमा छलफल भएको छ । छलफलका क्रममा प्रमुख आचार्यले महामहिम राजदूत किकुताको पोखरा भ्रमण दुई देशहरु जापान र नेपालबिचको चीरस्थायी मित्रताको लागि महत्वपूर्ण पक्षका रूपमा लिएको बताए ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को निमन्त्रणामा आफूले जापानको भ्रमण गरेको स्मरण गराउँदै प्रमुख आचार्यले त्यस बखत पोखराको फोहरमैला व्यवस्थापनका लागि गुरुयोजना निर्माण गर्ने सहकार्य गरिएको जानकारी गराए । जापानले जाइकामार्फत् सम्पन्न हुने क्रममा रहेको खानेपानी आयोजना लगायत पोखरामा सञ्चालित महत्वपूर्ण विकास परियोजनाहरूमा दृढ र समर्पित साझेदारको भूमिका निर्वाह गर्दै आएको प्रमुख आचार्यले बताए ।
जाइकामार्फत् जापान सरकारको सहयोगमा सञ्चालित परियोजनाहरू समयमा सम्पन्न गर्न र पोखराको आर्थिक, सामाजिक, पर्यटन र पूर्वाधार निर्माणका क्षेत्रहरूमा लगानी बढाउन समेत उनले आग्रह गरे । पोखरा खानेपानी सुधार आयोजनाअन्तर्गत पोखरा–१५ कोलपाटनमा निर्माणाधीन ओभर हेड वाटर ट्याङ्क (खानेपानी ट्याङ्की) को समस्या समाधानका लागि आवश्यक पहल गरिदिन राजदूत किकुतालाई उनले आग्रह गरे । हालसम्म निर्माणमा १४ करोड रुपैयाँ खर्च भएको ट्याङ्कीलाई काटेर पुनः प्रयोगमा ल्याउन करोडौँ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
जवाफमा राजदूत किकुताले पानी ट्याङ्कीको समस्या पोखरा महानगरपालिकाको मात्र नभइ राजदूतावास, जाइका र नेपाल सरकारको समस्या भएको बताए । यो साझा समस्याको समाधानका लागि सबै सरोकारवालाहरूबीच छलफल तथा समन्वय गर्नुपर्ने उहाँले बताउनुभयो । जापान सरकारको कार्यान्वयन इकाइका रूपमा जाइकामार्फत् सञ्चालित परियोजनाहरूको गुणस्तर र प्रतिफल पोखरेली जनताको जीवनसँग जोडिने विषय भएकाले यसमा कुनै प्रकारको कमजोरी हुन नदिने राजदूत किकुताले विश्वास दिलाए । पोखरालाई जापानका सहरहरूसँग हवाई सेवाले जोड्ने विषयमा जापान सरकारसँग आवश्यक समन्वय गर्ने उनको भनाइ थियो ।
राजदूत किकुता जापान सरकारको तर्फबाट मातृशिशु मितेरी अस्पतालका लागि स्वास्थ्य उपकरणहरू लिएर पोखरा आएका हुन् । बुधवार जापान सरकारको तर्फबाट बाटुलेचौर स्थित मातृशिशु मितेरी अस्पताललाई राजदूत किकुताले स्वास्थ्य उपकरणहरू उपहार स्वरूप प्रदान गर्ने कार्यक्रम छ । राजदूत किकुतासँगै दूतावासकी आर्थिक सहयोग सम्बन्धी प्रथम सचिव इशिदा मियुकी पनि पोखरा आएकी छन् ।





