पोखरा/भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि नागरिक समाज दलभन्दा माथि उठ्नुपर्ने एक कार्यक्रममा वक्ताहरुले बताएका छन् । भ्रष्टाचारविरुद्धको नागरिक निगरानी संस्था, कास्कीले आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रणमा राजनीतिक दल र नागरिक समाजको भूमिका’ विषयक गोष्ठीमा बोल्दै वक्ताहरुले राजनैतिक दल नै भ्रष्ट भएको जिकिर गरे । उनीहरुले दलका नेताहरु नै भ्रष्ट हुँदा त्यसको प्रभाव समग्र क्षेत्रमा परेको र त्यसलाई रोक्न दलहरुको दायराभन्दा नागरिक समाज माथि उठ्नुपर्ने औंल्याएका हुन् ।
शनिबार भएको कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले नागरिक समाजका अगुवा भन्नेहरु नै विभिन्न दलसँग आबद्ध भएको बताए । दलहरु देशका लागि नभइ सत्ता र कार्यकर्ताका लागि मात्रै भएकाले ठूलो समस्या आएको उनको भनाई थियो । उनले नागरिकलाई नागरिकको रुपमा राखेमा दल र तिनका नेता सच्चिन बाध्य हुने बताउँदै नागरिक समाजपनि विशुद्ध हुनुपर्नेमा जोड दिए । ‘के नागरिक समाजमा आवद्धहरु दलको दायराबाट बाहिर आउन सक्नुभएको छ ? हामी दलका नेता सबै नागरिकलाई दलको सदस्य बनाउन चाहन्छौं । त्यो स्वभाविक पनि हो,’ उनले भने ।
नेकपा एमाले कास्कीका उपाध्यक्ष तेजनाराण अधिकारीले दल, तिनका नेता र नागरिक समाज सबै सच्चिनुपर्ने बताए । सबैतिर समस्या रहेको भन्दै सबैले एक अर्कालाई दोष देखाएर उम्किन नमिल्ने धारणा राखे ।
नेकपा माओवादी केन्द्रका कास्कीका इन्चार्ज नेत्रनाथ अधिकारीले दलमा लागेका नेताहरुको हैसियत हिजो के थियो र आज के छ भनेर खोज्ने हो भने भ्रष्टाचार कसरी भइरहेको भन्ने सबै बाहिर आउने धारणा राखे । भ्रष्टाचार विरुद्ध स्वतन्त्र रुपमा हुने अनुसन्धानमा देशको प्रधानमन्त्री परेपनि छुट पाउन नहुने मान्यताका साथ आफ्नो पार्टी अगाडि बढेको उनले दाबी गरे ।
नेकपा एकीकृत समाजवादी कास्कीका अध्यक्ष खड्गबहादुर हमालले भ्रष्टाचार बेलैमा नियन्त्रण गर्न नसक्ने हो भने मुलुक असफल राष्ट्र बन्न सक्ने तर्फ सबै सचेत हुनुपर्ने बताए । भ्रष्टाचार नियन्त्रणका लागि दलहरु प्रतिवद्ध हुनुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा वरिष्ठ अधिवत्ता तीलक पराजुलीले हाम्रा राजनीतिक दल र भ्रष्टाचर विषयमा अवधारणा पत्र राखेका थिए । उनले आफ्नो अवधारणामा दलका नेताहरु नै भ्रष्टाचारमा डुबेको र पहुँचका आधारमा उनीहरुलाई उन्मुक्ति दिइएको औल्याइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका निमित्त प्रमुख सन्तोष तिमिल्सिनाले भ्रष्टाचार नियन्त्रणका लागि अख्तियारले अपनाएका रणनीति, अवस्था र भ्रष्टाचार हुनुका कारणलगायतका विषयमा प्रस्तुति राखेका थिए ।
भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था कास्कीका अध्यक्ष डोलराज पाण्डेले सुशासन र सदाचार बढे विदेसिने नागरिक स्वदेशमै रोकिने धारणा राखे । उनले सुशासन र सदाचार बढाउनका लागि कार्यक्रम आयोजना गरिएको बताए ।





