सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

फेवाताल मिचेर बनाइएका अतिक्रमित संरचना बारे महानगरले दशैँपछि छलफल गर्ने

फेवाताल मिचेर बनाइएका अतिक्रमित संरचना बारे महानगरले दशैँपछि छलफल गर्ने

ताल मिच्नेहरुको संख्या यकिन गर्न अर्को अध्ययन गरिने ।


  • ढोरपाटन संवाददाता
  • असोज २९ २०८०, सोमबार

पोखरा/ पोखरा महानगरपालिकाले फेवातालको ६५ मिटर क्षेत्रभित्र अतिक्रमण गरेर बनाइएका संरचना हटाउने तथा २०३१ साल यता दर्ता भएका जग्गा बदर गर्ने भन्ने सर्वोच्चको आदेशमाथि दशैँपछि छलफल गर्ने भएको छ ।

पोखराका पूर्वमेयर मानबहादुर जिसी नेतृत्वको अन्तिम कार्यपालिका बैठकले २०७८ चैत १६ गते फेवातालको मापदण्डलाई ६५ मिटरबाट घटाएर ३० मिटरमा झार्ने निर्णय गरेको थियो । सोही निर्णय विरुद्ध सर्वोच्च अदालतमा मुद्धा परेपछि अदालतले गत असार ४ गते फेवातालको मापदण्ड ६५ मिटर नै रहेको अन्तरिम आदेश जारी गरेको थियो ।

उक्त अन्तरिम आदेशका ेपूर्णपाठ यही असोज ४ गते आएको थियो । पूर्णपाठमा फेवातालको मापदण्ड ६५ मिटर रहेको, उक्त मापदण्डभित्र बनेका संरचना ६ महिनाभित्र अनिवार्य रुपमा हटाउन र २०३१ सालयता तालको मापदण्ड भित्र दर्ता भएका सबै जग्गाको दर्ता बदर गर्न आदेश दिएको छ ।

सर्वोच्चले आदेशमात्र दिएको छैन, फैसला कार्यान्वयन निर्देशनालयलाई आदेश कार्यान्वयनको बारेमा निरन्तर फलोअप गर्न समेत भनेको छ ।
सर्वोच्चको आदेशपछि दबाबमा परेको पोखरा महानगरपालिकाले भने दशैँ सकिएपछि मात्रै यस बारेको छलफल गर्ने भएको छ । सर्वोच्चले यसपटक ०३१ सालयता दर्ता भएका जग्गा पनि बदर गर्न भनेका कारण ताल मिचेर दर्ता भएका जग्गा कति छन र त्यहाँ बनेका संरचनाको यकिन संख्या कति छ भन्ने बारेमा निर्णय गर्न अर्को अध्ययन गर्ने जनाएको छ ।

फेवातालको बारेमा मानबहादुर जिसीको कार्यकालमा महानगरले नै नापी कार्यालय कास्कीको सहयोगमा ६५ मिटर भित्र अतिक्रमण गरेर निर्माण भएका संरचनाको संख्या सहितको प्रतिवेदन तयार पारेको थियो ।

उक्त प्रतिवेदन अनुसार फेवाताल मिचेर खडा गरिएका संरचनाको संख्या ४९३ छ । तर, सर्वोच्चले अहिले ०३१ सालयताका जग्गाको बारेमा पनि कडा आदेश गरेको छ । २०१८ सालदेखि २०३१ सालसम्म कायम रहेको जग्गाको मुआब्जा विवाद नदेखिएकाले समयमा टुंगिएको मानिनुपर्ने फैसलामा भनिएको छ । यसको अर्थ त्योभन्दा पछाडि तालको मापदण्डभित्र दर्ता भएका जग्गा स्वतः तालकै कायम हुने छ ।

“२०३२/३३ सालतिरको नापीभन्दा पहिलेदेखिको साविक दर्ता, श्रेस्ता, तिरो र निरन्तर भोगमा रहेकाको हकमा फेवातालको वर्षायामको उच्चतम पानीको विन्दुको किनाराबाट ६५ मिटरको मध्यवर्ती हरियाली क्षेत्र कायम गर्नका लागि आवश्यक पर्ने वि.सं. २०१८ सालदेखि वि.सं. २०३१ सालसम्म कायम रहेको ताल र तालको डिलभन्दा बाहिरको जग्गाको हकमा मात्र कानुन बमोजिक मुआब्जा दिनुपर्ने देखिँदा सो पहिचान गरी उचित मुआब्जा दिने व्यवस्था मिलाउनू” सर्वोच्चको आदेशको पूर्णपाठमा भनिएको छ ।

सर्वोच्चको आदेशपछि नापी र मालपोत कार्यालयलाई उक्त समयावधिपछि दर्ता भएका जग्गाको बारेमा अध्ययन गर्न अनौपचारिक कुराकानी भइसकेको महानगरले जनाएको छ ।
पोखराका मेयर धनराज आचार्यले भने, “फेवाको विषयमा अब तयारी हुँदैछ । अहिले फेरि सर्वोच्चले २०३१ सालयताका दर्ता बदर हुनुप¥यो भनेको छ । यसले गर्दा त्यसमा कोको पर्छन भन्ने कुरा नापी र मालपोतले एउटा अध्ययन गर्नुप¥यो । नापी र मालपोतसँग हामीले कुरा गरिसकेका छौँ ।”

सर्वोच्चको यो आदेशको बारेमा चाहिँ छुट्टै अध्ययनको आवश्यकता रहेको उनले बताए । कारण, २०३१ सालयता पनि धेरैले ६५ मिटरभित्र जग्गा दर्ता गरेका छन । उनीहरुको पहिचान गर्नको लागि नापी र मालपोतसँग समन्वय गरिने मेयर आचार्यले बताए ।

फेवातालकै चारकिल्ला तोक्ने विषयमा सरकारले गठन गरेको पुण्यप्रसाद पौडेल नेतृत्वको समितिले फेवातालको चार किल्ला तोकेर २ फागुन २०७७ मा सरकारलाई सीमांकन प्रतिवेदन बुझाएको थियो, जुन १८ फागुनमा राजपत्रमा प्रकाशित पनि भयो ।

उक्त प्रतिवेदनमा पूर्वमा ड्यामसाइड, पश्चिममा मोरेबगर, उत्तरमा खपौंदी–चंखपुरबीचको दम्किलो र दक्षिणमा चिसापानी रानीवन कायम गर्ने गरी चार किल्ला तोकिएको थियो । ५.७२६ वर्ग किमी (११२५५ रोपनी) फेवातालको क्षेत्रफल कायम गरेको समितिले १ हजार ४७९ रोपनी फेवातालबाट अतिक्रमण भएको प्रतिवेदनमा उल्लेख गरेको थियो ।

पौडेल नेतृत्वको समितिले २८ भदौ २०७८ मा विस्तृत अध्ययन प्रतिवेदन पनि बुझाएको थियो, जसमा फेवातालको अवस्था, फेवाको क्षेत्रफलभित्र पर्ने दुषित जग्गा, संरचनाका बारेमा उल्लेख छ । ८८१ कित्ता जग्गा तलभित्र पर्ने पौडेल प्रतिवेदनले देखाएको छ । जसमध्ये जम्मा ५१८ वटा कित्ताको ९१६ रोपनी ८ आना क्षेत्रफल जग्गा व्यक्तिको नाममा फिल्डबुकमै दर्ता भएको छ ।

मालपोतबाट छुट दर्ता सुविधा लिएर ४७७ रोपनी १२ आना थप जग्गा पनि व्यक्तिको नाममा गएको छ । अदालतको फैसलाका आधारमा पनि फेवातालको ८३ रोपनी जग्गा व्यक्तिको नाममा गएको छ ।
फेवातालभित्र पर्ने १३३ रोपनी जग्गा व्यक्तिले भोगचलन गरिरहेको र उनीहरूको नाममा दर्ताको प्रक्रियामा रहेको पाइएको छ । तत्कालीन राजाको हुकुम प्रमांगीबाट १ रोपनीभन्दा धेरै जग्गा व्यक्तिको नाममा गएको र त्योबेला अदालतको फैसलाबाट ७५ वटा कित्ताको ८३ रोपनी क्षेत्रफल दर्ता भएको प्रतिवेदनमा उल्लेख छ । यसरी हेर्दा फेवातालको कुल १६१० रोपनीभन्दा बढी जग्गा व्यक्तिको नाममा दर्ता भएको पाइन्छ ।

सरकारको नाममा रहेको ९०७ रोपनी जग्गा पनि फेवातालको नाममा कायम गर्नुपर्ने समितिले बताएको थियो । यसमध्ये ५०३ रोपनी जग्गा हर्पन खोलाको नाममा मात्र कायम गरिएको पाइएको छ ।
सर्वोच्चले २०७५ वैशाख १६ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई ६ महिनाभित्र फेवातालको जग्गा सीमांकन गरी चार किल्ला छुट्टाउन र प्रदेश मन्त्रालयको सहयोगमा स्थानीय मापदण्ड तोकेर संरक्षण गर्न भनेको थियो । विश्वप्रकाश लामिछाने नेतृत्वको तत्कालीन समितिको प्रतिवेदनलाई समेत आधार मानेर सर्वोच्चले सरकारलाई ६५ मिटरभित्र बनेका अवैधानिक संरचना भत्काएर संरक्षण गर्न समेत भनेको थियो ।

तर, त्यतिबेला फैसला कार्यान्वयनको चरणमा नै गएन ।
अहिले पुनः सर्वोच्चले ६ महिनाभित्रै संरचना भत्काउन आदेश दिएपछि प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र प्रमुख जिल्ला अधिकारीसँग आफूले छलफल गर्ने मेयर आचार्यले बताए । कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे बिदामा बसेका कारणपनि दशैँपछि नै आदेश कार्यान्वयनको बारेमा कसरी अगाडि बढ्छ भन्ने टुंगो लाग्ने आचार्यले बताए ।
“प्रमुख जिल्ला अधिकारी अहिले बिदामा हुनुहुन्छ । उहाँ आएपछि मुख्यमन्त्रीज्यू र म बसेर छलफल गर्छौँ । तीनै तहका प्रतिनिधी बसेर कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा छलफल हुन्छ । सायद दशैँपछि नै यसको बारेमा पूर्ण कुरा आउला ।” उनले भने ।
मेयर आचार्यले प्रतिवेदन, परिस्थिती राखेर र हेरेर निर्णय गरिने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->