पर्वत/ गत असोज २९ गते भएको अविरल वर्षा, हावाहुरी र असिनाले दशैँको मुखमा पनि पर्वतका विभिन्न ठाउँका कृषकहरू दुःखी छन् । बाँदरको आतङ्कबाट जोगाएको धान खेती कतिपय ठाउँमा पाक्नै लागेको छ त कतिपय ठाउँमा फूल खेलेको छ । अब थन्क्याउने बेला हुने लागेको धान खेती कतै मडारिएर सुतेको छ त कतिपय ठाउँमा ठाडो धान भए पनि बालामा धान छैन । हावाहुरी लागेको ठाउँमा धान ढलेको छ भने असिना परेको ठाउँमा गाँज ठाडो भए पनि बालामा धान छैन ।
कुश्मा नगरपालिका–९ कटुवाचौपारी स्थित कालीमाटीका मुक्तिराम पौडेलले दशैँ आएको रौनक भन्दा पनि धान ढलेको चिन्ताले दुःखी भएको बताउँछन् । सबै कुरा राम्रो भए मात्रै चाडबाडको रमाइलोको अनुभूति गर्न सकिने भए पनि आफूहरू भने धानको चिन्तामा रहेको उनको भनाइ छ ।
‘हावा, हुरी सहित आएको वर्षाले ठूलीपोखरी, शंकरपोखरी लगायतका क्षेत्रमा सखाप पारेको छ । भर्खरै पसाउन लागेको धान सुताएर बिघ्न बनाएको छ । राज्यले कृषकलाई बेवास्ता गरेको बेलामा मौसमले पनि कृषकलाई नै खेदेको छ’, पौडेल भन्छन्, ‘एक त वर्षा ढिला भएर मुस्किलले रोपियो । जसोतसो पसाएको बाँदरले थुतेर खायो । बाँचेको धान पनि असिनाले हिनामिना पारेपछि हामी कृषकले के गर्ने हो ? बर्खामा धान रोप्दा ऋण लाग्छ । उब्जेको अन्न बेचेर जसोतसो मिलाउन सकिएला भनेको असिनाले खायो ।’
जिल्लाकै फलेवास नगरपालिका–३ शंकरपोखरी स्थित नुवारकी धनकुमारी पंगालीले पनि असिनाले धेरै धानमा क्षति गरेको बताइन् । आफूले लगाएको करिब छ÷सात हलको धान ढल्ने र असिनाले झारेर विध्वंस बनाएको भन्दै उनले आफ्ना छिमेकीहरूको खेतीमा पनि उस्तै असर भएको बताइन् । ‘असिनाले पुर्पुरोमा हात लगाएर बस्ने बनाएको छ । घरमा बूढाबूढीहरू छौँ । कति दुःखले रोपेको त्यति धेरै धान हावा र असिनाले सुतायो । सरकारले केही दिने भए खाने हो नत्र भोकै मरिने हो की भन्ने भयो । शंकरपोखरीमा परारै पनि असिनाले खानु खायो ।’
विभिन्न ठाउँबाट धान बालीमा क्षति पुगेको भन्दै कृषकहरूको गुनासो आएपछि अवस्थाको बारेमा बुझ्न नगरपालिकाको तर्फबाट अनुगमन गरिएको फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले बताए । मुख्यतः फलेवास नगरपालिका वडा–१ कार्कीनेटा, वडा–२ थापाठाना र वडा–३ शंकरपोखरीको विभिन्न स्थानमा लगाइएको धान खेतीमा क्षति पुगेको पाइएको उनले बताए । पाक्न लागेको धान बालीमा हावाहुरी र वर्षाले ठुलो क्षति पुगेको पाइएकाले सम्बन्धित निकायहरूमा कृषकहरूलाई क्षतिपूर्ति दिनुपर्ने भनी आफूहरूले सिफारिस गर्ने नगर प्रमुख तिवारीको भनाइ छ ।
‘हामीले पीडित कृषकहरूको खेतमा नै पुगेर धान बालीको अवस्थाको बारेमा अवलोकन गरेका थियौँ । भित्र्याउने बेलाको धान झरेर भराभरी भएको छ । यो अवस्थाले कृषकहरूको मन नदुख्ने त कुरै भएन । नगरपालिकाको तर्फबाट के गर्न सकिन्छ त्यो विषयमा छलफल गर्ने नै छौँ’, उनले भने, ‘अहिले सुरुमा कृषि ज्ञान केन्द्र मार्फत प्रदेश मन्त्रालयमा र अन्य सरोकारवाला निकायहरूमा मापदण्ड बनाएर क्षतिको अवस्था अनुसार कृषकहरूलाई केही न केही राहत उपलब्ध गराउनुपर्छ भनेर सिफारिस गर्न लागेका छौँ ।’
क्षतिको अवलोकनमा नगर प्रमुख तिवारी सहित नगर उपप्रमुख शोभा क्षेत्री सहित आर्थिक विकास संयोजक तथा सदस्यहरू, कृषि शाखाका कर्मचारीहरू, सम्बन्धित वडाका वडाध्यक्ष, नगर प्रमुखको सचिवालय, सुरक्षाकर्मी, पत्रकार लगायतको उपस्थितिमा क्षतिको अवलोकन गरिएको थियो ।





