काठमाडौं / नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्माले संक्रमणकालीन न्यायलाई पीडितकेन्द्रित भएर टुंग्याइने बताएका छन् । एमालेले आयोजना गरेको शुभकामना आदानप्रदान र चियापान कार्यक्रममा अध्यक्ष ओलीले सहमतिमै संक्रमणकालीन न्याय टुंगिने बताए ।
‘सहमतिका साथ पीडितकेन्द्रित भएर टुंग्याउनु पर्छ,’ ओलीले भने, ‘सर्वोच्च अदालतको आदेशलाई मानेर टुंग्याउनु पर्छ । अन्तर्राष्ट्रिय समुदाय खासगरी मानवअधिकार संघहरुमा पनि केही कुरा भएको छ, त्यसलाई पनि ध्यान दिनुपर्छ ।’
चियापान कार्यक्रममा सरिक रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान कांग्रेस सभापति र एमाले अध्यक्षबीच भएको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी समझदारी भएको बताएका थिए ।
तर राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटको क्रममा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डको कारण शान्ति प्रक्रियाको बाँकी काम पूरा नभएको आरोप लगाएका थिए ।

माले मार्क्सवादी एकता भएर बनेको नेकपा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले चियापानको चलन चलाएका हुन्। पार्टी प्रमुख, देशमा आइपरेको विपत्तिका घटना र कोरोना कालमा बाहेक एमालेले चियापान परम्परालाई निरन्तरता दिँदै आएको छ।
यस्ता चियापानमा पार्टीका नेता तथा कार्यकर्ताबीच हार्दिकता साटासाट मात्र हुने नभई, शीर्ष नेताहरूबीच मन माझामाझसमेत हुने गर्छ।
एमालेको चियापानमा केही रोचक दृश्य :

माधवकुमार नेपाल गएनन्, पुष्पगुच्छा बोकेर पुगिन् रामकुमारी
पार्टी विभाजनयता एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच विरलै दोहोरो संवाद भएको छ। त्यसो त, ओली एकीकृत समाजवादीलाई दलको मान्यता दिन पनि हिच्किचाउँछन्। यो चियापानसम्म आइपुग्दा भने उनले एकीकृत समाजवादीको अस्तित्व स्वीकार गर्दै निम्ता दिएका थिए। एमालेका प्रचार विभाग सचिव गगन विष्टले माधवकुमार नेपाललाई सम्मानपूर्वक निम्ता गरेको बताए।
तर अध्यक्ष नेपाल एमालेको चियापानमा आएनन्। उनी निर्वाचन क्षेत्रको कार्यक्रममा रौतहट पुगेको पार्टीका केन्द्रीय सदस्य मोहन गौतमले बताए। नेपालले चाहेको भए निर्वाचन क्षेत्रको कार्यक्रम छोट्याएर एमाले मुख्यालय च्यासल आउन नसक्ने भने होइनन्। ओली र नेपालको तिक्तापूर्ण सम्बन्ध यो चियापानले पनि तोड्न सकेन।
एमालेको चियापानमा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद नेताहरूको सघन उपस्थिति थियो। एकीकृत समावादीबाट भने पार्टीका सम्मानित नेता झलनाथ खनाल र सचिव रामकुमारी झाँक्री मात्रै पुगेका थिए। अझ झाँक्री त पुष्पगुच्छासहित पुगेकी थिइन्।

झाँक्री मञ्चमा पुग्दा एमालेका नेता कार्यकर्ताले ताली बजाएर स्वागत गरेका थिए। झाँक्रीले विशिष्ट अतिथिहरूलाई व्यवस्था गरिएको कक्षमा पुगेर अध्यक्ष ओलीलाई पुष्पगुच्छा दिइन्।
त्यो तस्बिर उनले आफ्नो फेसबुकमा पनि राखेकी छन्। सहरी विकास मन्त्री पदबाट बहिर्गमन भएयता उनी पार्टीको भूमिकाप्रति सन्तुष्ट छैनन्। अहिले उनलाई प्रवास (ल्याटिन अमेरिका, युरोप) को इन्चार्ज बनाइएको छ।
यसबीच पार्टीले आयोजना गरेको मेची–महाकाली जागरण अभियानमा सक्रिय भइन्। अभियान दौरान उनले पार्टीको सांगठनिक संरचनाबारे प्रश्न पनि उठाइन्। अहिले एमालेको चियापानमा पुष्पगुच्छासहित पुग्नुलाई कतिपयले एमाले फर्किने बाटो बनाएको रूपमा समेत अर्थ्याएका छन्।
अझ रोचक दृश्य, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पुग्दा देखियो। उनी पुग्दा पनि एमाले नेता तथा कार्यकर्ता उत्साहित देखिए। पार्टी अध्यक्ष ओलीसँग उनको खुलेर संवाद पनि भयो, हँसमुख मुद्रामा। यसले पनि धेरै संकेत गरेको एमालेका एक नेताले बताए।
भीम रावल आउँदा उठ्दा पनि उठेनन् ओली
शीर्षस्थ नेताको स्वागतमा ओली आफैं खटिएका थिए। एमालेले पार्टीका नेता-कार्यकर्ता, शुभेच्छुक र आमनागरिकका लागि दिउँसो साढे १२ बजेदेखि चियापान खुला गरेको थियो। शीर्ष नेताहरूलाई दुई बजेको निम्ता थियो। त्यसपछि कूटनीतिक नियोग प्रमुख लगायतलाई समय निर्धारण गरिएको थियो।

विशिष्ट निम्तालु आउँदा ओलीले सबैलाई उठेर स्वागत गरे। सुरक्षाका कारण मञ्चमा आउन नपाएका पाहुनालाई आफैं वर सरेर उनीहरूसँग शुभकामना साटासाट गरेका ओलीले पार्टीका नेता भीम रावल आउँदा बसेरै स्वागत गरे। यसले पनि ओलीको मन रावलप्रति त्यति खुसी छैन भन्ने प्रस्टै देखिन्थ्यो।
पार्टीका नेता तथा कार्यकर्ताले भने रावललाई ताली बजाएर स्वागत गरे। नेता रावलसँग बसीबसी शुभकामना साटासाट गरेका ओलीले नेकपा (माले) का महासचिव सिपी मैनालीसँग भने कसिलोसँग अंकमाल गरेका थिए।
ओली र मैनाली दुवै झापाको सशस्त्र संघर्षका अगुवा हुन्। २०३२ सालमा जेल परेका मैनाली २०३५ सालमा नख्खुको कारागार तोडेर भागेका थिए। लगत्तै नेकपा (माले) का रूपमा आन्दोलन एकीकृत गरेर संस्थापक महासचिव बनेका उनी २०३९ सालमा हटाइएका थिए।
२०५४ सालमा एमाले विभाजन हुँदा माले बनेका मैनाली पार्टी एकता हुँदा मूलघरमा फर्किएनन्। नेकपा (माले) लाई पुनः संगठित गर्दै बसिरहेका छन्। उनले नेतृत्व गरेको पार्टी, नेकपा (माले) फस्टाउन भने सकेको छैन। एमालेको चियापानमा भने दुई नेताको हार्दिकता प्रदर्शित भयो।

जब देउवाले ओलीसँगै हात हल्लाए
सत्ता साझेदार नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल सधैंका प्रतिद्वन्द्वी हुन्। तर चियापान लगायत समारोहमा दुई पार्टीबीच छुट्टै हार्दिकता प्रतिविम्बित हुने गरेको छ। त्यसले यसपटक पनि निरन्तरता पायो।
कोजाग्रत पूर्णिमाका दिन कांग्रेसले आयोजना गरेको चियापानमा सभापति देउवा र अध्यक्ष ओलीबीच राम्रै हाँसोठट्टा चलेको थियो। एमालेको चियापानमा पनि ओली र देउवाले मञ्चमा उभिएर कसिलोसँग हात मिलाए। अझ संयुक्त रूपमा हात हल्लाएर अभिवादन पनि गरे। उत्साहित कार्यकर्ताले धेरैबेर ताली बजाइरहे।
विशिष्ट पाहुना र कार्यकर्ता तथा आमनागरिकलाई छुट्टाछुट्टै मेनु
एमालेले सधैंझैं यसपटक पनि चियापानमा खानपिनको छुट्टाछुट्टै मेनु राखेको थियो। कार्यकर्ता र आमनागरिकका लागि चियासहित लड्डु, नमकिन, कटलेट र केरा बोहोतामा राखेर स्वागत गरिएको थियो। विशिष्ट आगन्तुकका लागि भने छुट्टै मेनु थियो। त्यसमा स्यान्डविचसहितका परिकार थिए। पेयमा चिया र कफीको प्रबन्ध थियो। उपमहासचिव विष्णु रिमालका अनुसार यसपटक ११ देखि १२ हजारको बीचमा निम्तालु आए।

अध्यक्ष ओलीकै ब्रान्डिङ
एमालेको गत साउनमा बसेको सचिवालय बैठकले पार्टीका मञ्चमा दिवंगत नेता (पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारी) का अतिरिक्त अध्यक्ष ओलीको फोटो राख्ने निर्णय गरेको छ। सोहीअनुसार परिपत्र पनि गरेको छ। मातहतका कमिटीहरूले यसको परिपालना गरिसकेका छन्।

एमालेले आयोजना गरेको चियापान ओली ब्रान्डिङकै निरन्तरताजस्तो पनि देखिएको थियो। चियापानका लागि बनाइएको मञ्चको दायाँबायाँ अध्यक्ष ओलीकै फोटोमा दसैं, तिहार लगायत पर्वको शुभकामना अंकित फ्लेक्स राखिएका थिए।
एमालेले यसपटकदेखि नयाँ परम्पराको सुरूआत पनि गर्यो। यसअघि चाडबाडको शुभकामनासँगै चियापानको निम्ता कार्डमा पार्टी प्रमुखको नाम मात्र उल्लेख हुन्थ्यो। यसपालि भने एमालेले अध्यक्ष ओलीको हस्ताक्षर सहितको निम्तोपत्र बाँडेको थियो।





